आक्र्श फुड र राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले सुरु गरेको साझेदारीले छोटो समयमै उल्लेखनीय उपलब्धि दिलाएको छ ।
साझेदारी प्रारम्भ हुँदा विश्व वरियतामा ५२७औं स्थानमा रहेका महर्जनले हालै सम्पन्न WTT Star Contender Chennai 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै ३९१औं स्थानमा उक्लिन सफल भएका छन् । यो उपलब्धिसँगै उनी विश्व वरियतामा यस्तो ऐतिहासिक सुधार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
आक्र्श फुडले महर्जनको तालिम, अन्तर्राष्ट्रिय यात्रा तथा प्रतियोगितामा सहभागिताका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार खेल क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले प्रतिभाशाली खेलाडीहरूलाई आवश्यक अवसर तथा स्रोत उपलब्ध गराइएको हो ।
यस अवसरमा सोमपाल कामीले नेपालमा प्रतिभाको कमी नभए पनि अवसर र सहयोगको अभाव ठूलो चुनौती रहेको उल्लेख गरे । उनले भने, ‘यदि हामीले यस्तै प्रकारको सहयोग अन्य प्रतिभावान खेलाडीहरूलाई पनि निरन्तर दिन सक्यौं भने, हाम्रो देश खेलकुद क्षेत्रमा धेरै राम्रोसँग अगाडि बढ्न सक्छ ।’
रुबिन महर्जनले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको नाम उज्यालो बनाउने प्रतिवद्धता जनाए । उनका अनुसार यस समर्थनले आत्मविश्वास र लक्ष्यप्रति समर्पण अझ बलियो बनाएको छ ।
यस ऐतिहासिक सफलताप्रति आक्र्श फुडले उनलाई बधाई दिँदै आगामी दिनमा अझ सफलताको कामना गरेको छ ।












