Tuesday, June 16, 2026
spot_img

स्थानीय तहका औद्योगिक ग्रामहरु जिल्ला नगर उद्योग वाणिज्य संघमार्फत सञ्चालन गराउन पहल गर्छु (अन्तरवार्ता)

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा दिलसुन्दर श्रेष्ठ जिल्ला नगर तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अहिले चुनावी तयारीमा व्यस्त छन् । चेम्बर अभियानमा करिब आधा शताब्दी लामो अनुभव भएका श्रेष्ठ उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको दुइ कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति पनि हुन् ।

सामान्य व्यवसायबाट यात्रा आरम्भ गरेका उनले अहिले आफ्नो व्यवसायलाई कर्पोरेट ग्रुपका रुपमा विस्तार गरेका छन् । जलविद्युत लगायतका दर्जन बढी उद्यम र व्यवसायमा सक्रिय रहेका श्रेष्ठ जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई महासंघको ‘मुटु’ मान्दछन् । उनीसँग हामीले चुनावी एजेन्डा, जिल्ला नगर उद्योग वाणिज्य संघहरुका समस्या र समस्या समाधान गर्ने योजनामा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

चेम्बर अभियानमा लामो समय बिताउनु भएको तपाई यसपाली महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ । तपाईका एजेन्डा के छन् ?

२०३६ सालमा म उदयपूर उद्योग वाणिज्य संघको महासचिव भएको थिएँ । त्यो अवधिदेखि अहिलेसम्म आर्थिक विकास, निजी क्षेत्रको उत्थान, लगानी, रोजगारी जस्ता विषयहरुमा केन्द्रित भएरै म ४६ वर्षदेखि निरन्तर उद्यमी व्यवसायीको साथमा छु ।

धुलिखेल उद्योग वाणिज्य संघको ३ कार्यकाल नेतृत्व गरेँ । बागमती प्रदेशको २ कार्यकाल (अहिले दोस्रो कार्यकाल सकिँदैछ) नेतृत्व गरेँ । यस अवधिमा मैले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भनेको उद्योग वाणिज्य महासंघका लागि सबैभन्दा बलियो खम्बा हुन्, पिल्लर हुन्, मुटु नै हुन् भन्ने कुरा बुझेको छु । १३० वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु छन्, ७ वटा प्रदेश महासंघहरु छन् । यी सबैले अनुभूति गर्ने गरी र उहाँहरुको हित संरक्षण र व्यवसायिक अधिकार स्थापित गराउनका लागि मैले महासंघमार्फत पैरवी गर्नेछु ।

अर्को कुरा, जिल्ला नगरको क्षमता विकास पनि आवश्यक छ । कतिपय उद्योग वाणिज्य संघहरु सचिवालय चलाउन पनि आर्थिक रुपमा त्यति सक्षम भइसकेका छैनन् । तिनलाई आम्दानीसँग जोड्नुपर्नेछ, आर्थिक रुपमा सबल बनाउनुपर्नेछ । सचिवालय व्यवस्थापनका लागि समेत सहयोग गर्नुपर्नेछ । यी काम मेरा प्राथमिकतामा छन् ।

अर्को कुरा, साना र मझौला व्यवसायीहरुका लागि ट्रेनिङ पनि दिनुपर्नेछ । कर प्रणाली, व्यवसाय सञ्चालन, बजारीकरण, लेखा प्रणाली जस्ता विषयहरुमा उनीहरुलाई आन्तरिक राजस्व कार्यलय, सम्बन्धित स्थानीय तहहरु र घरेलु कार्यालयमार्फत तालिमको प्रबन्ध गर्ने मेरो योजना रहेको छ ।

तेस्रो कुरा, सचिवालयको संरचना नै परिवर्तन गर्नुपर्ने मैले देखेको छु । महासंघभित्र जिल्ला नगरका साथीहरु आउँदा गौरव गर्ने वातावरण बनाउने र हरेक महिना जिल्लाबाट रिपोर्ट लिएर म उहाँहरुका समस्या समाधानमा केन्द्रित हुनेछु ।

जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई आम्दानी र आर्थिक रुपमा सबल बनाउने भन्नुभयो, यसका लागि के कस्ता विकल्पहरु तपाईले खोजी गर्नुभएको छ ?

मूल कुरा त सरकारसँग जोड्ने नै हो । केन्द्र सरकार छ, स्थानी सरकार छन्, प्रदेश सरकारहरु छन् । ति सबै तहका सरकारसँग साना र मझौला उद्यमीहरुलाई सुहाउँदा कार्यक्रमहरु ल्याउन पहल गर्छु । ति कार्यक्रमहरु कार्यान्वयन हुँदै जाँदा संघहरु पनि क्रमशः सबल बन्दै जान्छन् ।

अर्को कुरा, अहिले सरकारले एक स्थानीय तह, एक औद्योगिक ग्रामको अवधारणा ल्याएको छ । त्यस्ता औद्योगिक ग्रामहरु निजी क्षेत्रलाई, सम्बन्धित उद्योग वाणिज्य संघहरुलाई सञ्चालन गर्न दिने खालको प्रबन्ध गर्न मैले पहल गर्ने सोचेको छु । यसका लागि महासंघका भावी अध्यक्ष अन्ज श्रेष्ठसँग पनि मैले अहिले नै यो कुरा राखिसकेको छु । उहाँले यो निकै सकारात्मक कुरा हो, महासंघमार्फत पहल गर्नुपर्छ भनिसक्नु भएको छ ।

अर्को कुरा, उद्योग वाणिज्य संघहरु भनेको सामाजिक उत्तरदायित्व बोकेका संस्थाहरु पनि हुन् । २०५४ सालपछि स्थानीय तहको निर्वाचन नहुँदा २०५९ सालदेखि २०७४ सालसम्म उद्योग वाणिज्य संघहरुले स्थानीय सरकारको भूमीका निर्वाह गरेका हुन् । बाटो मर्मत गर्ने, खानेपानी आयोजनाहरु बनाउने र मर्मत गर्ने, ढल व्यवस्थापन गर्ने, विपन्न वर्गलाई उपचारमा सहयोग गर्ने, पाटी पौवा र चौताराहरु बनाउने जस्ता काम उद्योग वाणिज्य संघहरुले नै गरेका हुन् । यसकारण यी संस्थाहरु भनेका राज्यका महत्वपूर्ण अङ्गहरु पनि हुन् । यीनको सबलीकरण र क्षमता विकास गर्ने दायित्व राज्यको पनि हो । यसमा मैले महासंघमार्फत सशक्त भूमीका निर्वाह गर्नेछु ।

उद्योग वाणिज्य संघहरुको आम्दानीको स्रोतको रुपमा रहेका मेला महोत्सवहरु अहिले कसले आयोजना गर्ने भन्नेमा एक खालको टकराव नै देखिएको छ । यो विषयलाई महासंघले कसरी टुङ्ग्याउनु पर्छ ?

जिल्ला नगरको आम्दानीको स्रोत मेला महोत्सव पनि हुन् । म महासंघको मेला सभापति भएका बेला गृह मन्त्रालयमा गएर मेला र महोत्सवहरु जिल्ला नगर उद्योग वाणिज्य संघले मात्रै आयोजना गर्न पाउनुपर्छ भनेर लविङ पनि गरेको थिएँ । त्यतिबेला जिल्ला नगरले मात्रै आयोजना गर्न पाउने गरी काम पनि अघि बढेको थियो ।

तर, पछिल्लो समय जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई मेला महोत्सव गर्न खोज्दा ह्यारेस गर्ने, अवरोध गर्ने, कतिपय अवस्थामा स्थानीय तहहरुले सहयोग पनि नगर्ने र सहयोग गर्छु भनेर कबुल गरे बराबरको सहयोग पनि नगर्ने जस्ता विषयहरु आएका छन् । आमा समूहहरु, स्थानीय क्लबहरुले समेत मेला महोत्सव आयोजना गर्नु भनेको गलत अभ्यास हो ।

अब हामी निर्वाचित भएको खण्डमा सरकार, सम्बन्धित मन्त्रालयलाई भनेर मेला महोत्सव भनेको सम्बन्धित उद्योग वाणिज्य संघको क्षेत्राधिकार हो, उसले मात्रै आयोजना गर्न पाउँछ भन्ने स्पष्ट निर्देशिका नै बनाउन पहल गर्नेछौँ । मैले मेरो उम्मेदवारी घोषणा कार्यक्रममा पनि यो विषय उठाएको छु । यो काम हामी गर्नेछौँ ।

महासंघमार्फत पनि विगतमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुले आयआर्जनका विभिन्न कार्यक्रमहरु पाउँथे, अहिले रोकिएको छ । तपाईले फेरि कसरी सूचारु गर्नुहुन्छ ?

विगतमा कतिपय सरकारी कार्यक्रमहरु महासंघमार्फत कार्यान्वयन गरिन्थे । कतिपय दातृ निकायका कार्यक्रमहरु पनि महासंघमार्फत कार्यान्वयनमा जान्थे । अहिले यस्ता कार्यक्रमहरु प्रदेश र स्थानीय तहमा सोझै जाने गरेका छन् । प्रदेश र स्थानीय तहमा गएका उद्यमशीलता, उत्पादन वा रोजगारीसँग सम्बन्धित कार्यक्रमहरु त्यहाँको उद्योग वाणिज्य संघमार्फत कार्यान्वय गर्दा प्रभावकारी हुन्छ भन्ने मेरो बुझाई छ । मैले उद्योग वाणिज्य संघ र प्रदेशमा बसेर हेर्दा पनि अहिले प्रदेश सरकार र स्थानीय तहमार्फत कार्यान्वयन भइरहेका त्यस्ता कार्यक्रमहरुमा उद्योग वाणिज्य संघहरुलाई नजोडी सफल हुँदैनन् अर्थात् लक्षित वर्गसम्म पुग्न पनि सक्दैनन् । यसकारण अब नीतिगत रुपमै उद्योग वाणिज्य संघहरुलाई त्यस्ता कार्यक्रममा जोड्ने प्रबन्ध गर्नुपर्छ ।

अर्को कुरा, विगतमा महासंघमार्फत गएको ‘एक जिल्ला, एक उत्पादन’ भन्ने कार्यक्रम निकै प्रभावकारी पनि भएको थियो । कृषि मन्त्रालय र विदेशी दातृ निकायसँग मिलेर यो कार्यक्रम महासंघको कृषि उद्यम केन्द्रमार्फत जान्थ्यो । अब यस्तै प्रभावकारी कार्यक्रम ल्याउने र जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई जोडेर कार्यान्वयमा लैजाने सम्बन्धमा हामीले गृहकार्य गर्नेछौँ ।

महत्वपूर्ण कुरा चाहिँ उत्पादनको बजारीकरणको पनि हो । पहिला पहिला किबी नौलौ थियो, अहिले इलाम, दोलखा, रामेछाप जस्ता जिल्लामा व्यवसायिक रुपमै उत्पादन हुन थालेको छ । धनकुटा एभोकाडोका लागि प्रख्यात छ । सिन्धुली र रामेछाप जुनारका लागि प्रख्यात छन् । गुल्मीको कफी, पर्वतको सुन्तला, मकवानपुरको काउली, भोजपूरको रुद्राक्ष, काभ्रेको दूध, चितवनको पोल्ट्री, जनकपूरको माछा जस्ता हाम्रा हरेक जिल्लाहरु कुनै न कुनै उत्पादनका लागि प्रख्यात छन् । तर, सिजनमा उत्पादन हुने तरकारी र फलफूलको स्टोरेजमा हामीले ध्यान दिन सकेका छैनौँ । जुनार, किबी, सुन्तला जस्ता उत्पादनहरु कोल्डस्टोरमा राखेर अफसिजनमा बजारमा निकाल्ने हो भने त्यसले मूल्य पाउँथ्यो । हामीले यो विषयमा पनि काम गर्ने योजना बनाएका छौँ । साथै, उत्पादकहरुलाई ट्रेडमार्क, ब्राण्डिङ र प्याकेजिङ जस्ता विषयहरुमा तालिम दिएर महासंघमार्फत बजारीकरणमा पनि सहयोग गर्नेछौँ ।

नयाँ सरकार बनेको छ, सरकारसँग निजी क्षेत्रका अपेक्षा के छन् ? महासंघले कसरी सहकार्य गर्छ ?

बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार एक त युवाहरुको बाहुल्यता सहित बनेको छ, अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकार छ । यसकारण नयाँ सरकारसँग उद्योगी व्यवसायीदेखि आम सर्वसाधारण सम्मले निकै आशा गरेका छन् ।

प्रधानमन्त्रीले सरकार गठन लगत्तै १०० बुँदाको शासकीय सुधार कार्ययोजना ल्याउनुभयो, त्यसमा समावेश भएका विषयहरुमध्ये १७ वटा बुँदा त निजी क्षेत्र प्रत्यक्ष जोडिने विषयहरु छन् । फेरि डा. स्वर्णिम वाग्ले जस्तो विज्ञ अर्थमन्त्री पाएका छौँ, उहाँले सुरुमै राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्नुभयो । यो विभाग डण्डा देखाएर उद्योगी व्यवसायी तर्साउने निकायका रुपमा रहेको थियो, यो खारेज गर्ने निर्णय गर्नु भएकोमा म अर्थमन्त्री ज्यूलाई धन्यवाद पनि दिन चाहन्छु ।

त्यसैगरी, सरकारले मन्त्रिपरिषद बैठकबाट निजी क्षेत्र संरक्षण एवम् प्रवद्र्धन रणनीति (पीएसपीपी) कार्यान्वयन गर्ने निर्णय गरेको छ । यी विषय भनेको सरकार गठन भएको यो दुइ चार दिनमा सुरु भएका कुराहरु हुन् । बिहानीले दिनको संकेत गर्छ भने जस्तै नयाँ सरकारले पनि सुनौलो भविष्यको संकेत गरेको छ । यो निकै सकारात्मक छ ।

अब महासंघले पनि अध्ययन गर्नुपर्छ । बैंकमा तरलता किन थुप्रियो ? ब्याजदर घट्दा पनि किन लगानी बढ्न सकेन ? इन्डष्ट्रीलाई कस्तो प्रोटेक्शन चाहिएको हो ? निजी क्षेत्रले लगानीको सुरक्षा, उत्पादनको बजार र पूर्वाधारको सुरक्षा कसरी खोजेको हो ? यी विषयमा अध्ययन गरेर एउटा प्रतिवेदन नै बनाएर सरकारलाई बुझाउनुपर्छ ।

एउटा उदाहरण हेरौँ, आजभन्दा केही दशक अगाडिसम्म नेपालमा जुत्ता बन्दैनथ्यो, बनेका जुत्ताको पनि क्वालिटीमा शंका गरिन्थ्यो । अहिले जुत्तामा नेपाल आत्मनिर्भर भएको छ । तर, भन्सार छलेर आएका जुत्ताका कारण नेपाली जुत्ता उद्योग अफ्ट्यारोमा परेको छ । यस्ता धेरै क्षेत्र छन्, जो आत्मनिर्भर भएर पनि आयात खुला हुँदा र भन्सार छलेर आयात भएका वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर अफ्ट्यारोमा परिरहेका छन् । यसकारण सरकारले अब आत्मनिर्भर भएका क्षेत्र र वस्तुको पहिचान गरेर तिनलाई आधारभूत संरक्षण दिनुपर्छ ।

अन्तिममा, महासंघको साधारणसभामा आउने जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई के भन्न चाहनुहुन्छ ?

म जिल्ला नगर, वस्तुगत र एसोसियटका सबै साथीहरुलाई साधारणसभा र निर्वाचन पक्रियामा सक्रिय सहभागीताका लागि अनुरोध गर्न चाहन्छु । तपाईहरुको सुझाव र सल्लाह महासंघका लागि सधैँ अपरीहार्य हुन्छ ।

अर्को कुरा चाहिँ, मेरो हकमा ३ वटा दृष्टिकोणले हेरिदिन अनुरोध गर्दछु । पहिलोः ४६ वर्ष लामो मेरो अनुभव छ, यो मेरा लागि पूँजी पनि हो । यो अनुभवलाई व्यवहारिक कार्यान्वयन गर्नका लागि मैले महासंघको उपाध्यक्ष बन्न खोजेको छु ।

दोस्रो कुरा, म निजी क्षेत्रका मुद्दाहरु, जिल्ला नगरका विषयहरुमा प्रखर रुपमा लविङ गर्ने व्यक्ति हुँ । मैले बागमती प्रदेशको अध्यक्षका रुपमा यो कुरा प्रमाणित गरेको छु । यो विषयको पनि मूल्याङ्कन गरिदिनू हुन म अनुरोध गर्दछु ।

तेस्रो कुरा चाहिँ, म विगतमा महासंघको अध्यक्ष जिल्ला नगर क्षेत्रबाट बनाउनुपर्छ भनेर लागेको व्यक्ति हुँ । म किशोर प्रधान र दिनेश श्रेष्ठलाई महासंघको अध्यक्ष बनाउनुपर्छ भनेर झोला बोकेरै हिडेको मान्छे हुँ । महासंघमा आनन्दराज मुल्मीबाहेक कोही पनि जिल्ला नगर पृष्ठभूमीको अध्यक्ष भएको छैन । यसकारण जिल्ला नगरका साथीहरुले यो विषयलाई पनि ख्याल गरेर निर्णय लिनु हुनेछ भन्ने मेरो विश्वास छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img