दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई दिने भाइमसलाको कारोबार पनि बढ्न थालिसकेको छ । यसपाली बाढीका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित हुँदा बजारमा भाइमसलामा प्रयोग हुने वस्तुको मूल्य पनि बढेको छ ।
बुधबारको बजार मूल्य अनुसार पेस्ता प्रतिकिलो ३ हजार ७ सय रुपैयाँ छ । गत वर्षको तिहारमा पेस्ताको भाउ प्रतिकिलो २ हजार २ सय रुपैयाँ थियो । एक वर्षको अन्तरमा पेस्ताको भाउ प्रतिकिलो १५ सय रुपैयाँले बढेको छ ।
त्यस्तै, यसपाली बजारमा काजुको भाउ प्रतिकिलो १६ सय ८० रुपैयाँ, आल्मोन्डको भाउ प्रतिकिलो १८ सय ५० रुपैयाँ र ओखर प्रतिकिलो ५४० रुपैयाँ छ । यसैगरी, ल्वाङ प्रतिकिलो २ हजार, सुकुमेल प्रतिकिलो ७२ सय, दलचिनी प्रतिकिलो ७ सय र किसमिस प्रतिकिलो ७५० रुपैयाँ रहेको छ । मिश्री प्रतिकिलो २१० रुपैयाँ छ भने नरिवल प्रतिकिलो ८७० रुपैयाँ छ ।
व्यवसायी चन्द्र शेखर श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यसपाली भाइमसलामा प्रयोग हुने ड्राइफ्रुट्सको भाउ वस्तुअनुसार प्रतिकिलो २ सयदेखि १५ सयसम्म बढेको छ । तिहार नजिकएपनि आयात सहज नहुँदा भाउ अझै बढ्ने व्यवसायीहरुको अनुमान छ ।










