फ्रान्समा अहिलेसम्मकै अनौठो साइबर आक्रमण भएको छ। फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरमा साइबर आक्रमण भएको हो।
अक्टोबर ११ र १२ बीचको रातमा भएको यो आक्रमणले फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरको तापक्रम बढायो, जसमा इन्टरमार्चे, कोअपरेटिभ यू र ई.लेक्लर्क जस्ता ब्रान्ड प्रभावित भएका छन्। इन्टरमार्चेको माउ कम्पनीले मस्केटेयरले आफ्ना करिब १५० पसलका फ्रिज राति छ घण्टासम्म ५० डिग्री सेल्सियससम्म तताइएको जनाएको। ह्याकहरुले फ्रिज र फ्रिजरलाई “डिफ्रस्ट मोड”मा पुर्याएका थिए, जसले धेरै पसलमा आगलागी र खाद्यान्न नोक्सानी निम्त्यायो। इन्टरमार्चे र नेटोका करिब ३०० पसल र यू का १०० भन्दा कम पसल अक्टोबर १२ मा प्रभावित भएको खबर छ।
यो ह्याक कसले गर्यो भन्नेबारे अहिलेसम्म कुनै निश्चित जानकारी छैन। कुनै समूहले जिम्मेवारी लिएको छैन, न त कुनै फिरौती मागिएको छ। यसले फ्रान्सेली अनुसन्धानकर्तालाई अलमलमा पारेको छ। पेरिस अभियोजकले छुट्टै अनुसन्धान सुरु गरेको छ। साइबर विशेषज्ञहरूका अनुसार यो काम धेरै सजिलो थियो र “केटाकेटीले खेलेको” जस्तो पनि हुन सक्छ। उनीहरूले कुनै देशले गरेको भए फ्रान्सका केही फ्रिज मात्र किन छानिए भनेर प्रश्न पनि उठाएका छन्।
कसरी ह्याक गरियो?
पसलका फ्रिज नियन्त्रण गर्ने कन्ट्रोल प्यानल इन्टरनेटमा जोडिएका हुन्छन्, ताकि मर्मत कम्पनीले टाढैबाट तापक्रम मिलाउन सकून्। फ्रान्सको साइबर सुरक्षा निकाय एन्सीले डेनमार्कको कम्पनी ड्यानफस आपूर्ति गरेको सफ्टवेयरमा कमजोरी भेट्टायो। पछि अन्य दुई कम्पनीका कन्ट्रोलर पनि निशानामा परेको पुष्टि गर्यो। ड्यानफसका अनुसार प्रभावित धेरै उपकरण पुराना थिए, जसलाई कम्पनीले अब अपडेट दिँदैन। यी कमजोरी महिनौंदेखि थाहा थिए र समाधान गर्ने फर्मवेयर आइसकेको थियो। तर अनुसन्धानकर्ताले हमलाको सही तरिका सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्।
ह्रयाकरहरू कहिले र कसरी नियन्त्रणबाट बाहिरिए भन्ने कुरा पनि सार्वजनिक भएको छैन। पुष्टि भएको एउटै तथ्यले मस्केटेयरका फ्रिज छ घण्टा तताइएको देखाएको छ। ड्यानफसले पछि कमजोरी सच्याउने सफ्टवेयर अपडेट जारी गरेको छ।
इन्टरमार्चेले जोखिम हटाउन प्रभावित सबै खाद्यान्न फालेको जनाएको छ। खुद्रा विक्रेताहरूले बिमाले क्षतिपूर्ति दिने सम्भावना कम भएको बताएका छन्। एक दिनमै फ्रान्सेली खुद्रा उद्योगलाई करोडौं युरो नोक्सान भएको अनुमान छ, र प्रधानमन्त्रीले राष्ट्रिय साइबर सुरक्षा निकायलाई दोषी पत्ता लगाउन आदेश दिएका छन्।










