नेपालमा दशैँ पछि दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहार नजिकिएसँगै बजारमा किनमेल बढेको छ । खासगरी, भाइमसलामा प्रयोग हुने ‘ड्राइफ्रुट्स’को किनबेच बढ्न थालेको हो ।
कार्तिक ६ गते तिहारको भाइटिका परेको । त्यसैका लागि अहिलेबाटै मरमसलाको किनबेच बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । काजु, छोकडा, नरिवल, ल्वाङ, सुकमेल, मिश्री, दालचिनी, बदाम, किसमिस, पेस्ता, ओखर, मखना र अन्जिरको किनबेच बढ्न थालिसकेको व्यवसायीहरुको भनाइ छ ।
खरिदकर्तामध्ये कसैले प्याक गरिएका भाइमसला र धेरैले प्याक नगरिएको खुला मसला किन्ने गरेका छन् । तर, अहिले भाइमसलामा प्रयोग हुने ‘ड्राइफ्रुट्स’को भाउ बढेको छ ।
भाउ बढ्यो
व्यवसायीहरुका अनुसार गत महिनाको तुलनामा ओखरको भाउ प्रतिकिलो २० रुपैयाँले बढेको छ । यसअघि ओखरको भाउ होलसेलमा प्रतिकिलो ४५० रुपैयाँ रहेकोमा अहिले ४७० रुपैयाँ पुगेको छ । खुद्रा बजारमा आइपुग्दा ओखर प्रतिकिलो ५ सयदेखि ५५० रुपैयाँसम्म पुगेको छ ।
यस्तै, नरिवलको भाउमा पनि बढेको छ । दशैँ आसपासमा समेत उपभोक्ताले प्रतिकिलो ५५० रुपैयाँमा किन्ने गरेको नरिवल अहिले एक किलोको ७ सय रुपैयाँ पुगेको छ ।
पेस्ताको भाउ पनि प्रतिकिलो १ सय रुपैयाँसम्म बढेको छ । यसअघि १ हजार ९५० रुपैयाँ प्रतिकिलो रहेको पेस्ताको भाउ अहिले होलसेलमै २ हजार ५० रुपैयाँ पुगेको छ । पेस्ताको खुद्रा मूल्य २ हजार ४ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।
भाइ मसलामा पछिल्लो समय प्रयोग बढ्दै गएको अन्जिरको भाउ पनि बढेको छ । गत महिनाको तुलनामा अन्जिरको भाउ होलसेलमै २ सय रुपैयाँले बढेर प्रतिकिलो २ हजार १ सय रुपैयाँ पुगेको छ । अहिले अन्जिरको खुद्रा मूल्य प्रतिकिलो २ हजार ३ सय रुपैयाँ रहेको छ ।
मखनाको भाउ पनि बढेर १ हजार ४ सय रुपैयाँ प्रतिकिलो पुगेको छ ।
काजुको मूल्य भने दशैँ अगाडीकै कायम छ । होलसेल मूल्य १ हजार ५५० रुपैयाँ रहेको काजुको खुद्रा मूल्य भने प्रतिकिलो १ हजार ७५० रुपैयाँसम्म छ । सुकुमेलको भाउमा पनि घटबढ भएको छैन । सुकमेलको मूल्य होलसेलमा ५ हजार र खुद्रामा ६ हजार रुपैयाँ प्रतिकिलो छ ।
ल्वाङको भाउ पनि यथावत नै छ । व्यवसायीहरुका अनुसार ल्वाङको खुद्रा मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ छ ।
किसमिसको मुद्रा मूल्य पनि प्रतिकिलो ६५० रुपैयाँमा स्थिर छ ।













