कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुट्सल कप’ को छैठौं सिजन सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृत लगायत विभिन्न विभागका विभागीय प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज), आर्थिक पत्रकार समाज (सेजन) तथा इकोनोमिक मिडिया एसोसिएसनबीच मैत्रीपूर्ण खेलहरू आयोजना गरिएको थियो । उक्त मैत्रीपूर्ण प्रतिस्पर्धामा नाफिजले उपाधि जित्न सफल भएको थियो ।
पुरुषतर्फको फाइनल खेलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यसैगरी, महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइ ब्रेकिङमा ३–२ गोलले पराजित गर्दै यस सिजनको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ ।
प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै आएको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको समेत आयोजना गदैंछ ।










