नेपालमा भएको निर्वाचनका सम्बन्धमा भारतले प्रतिक्रिया दिएको छ । भारतले नेपालमा सम्पन्न निर्वाचनको स्वागत गरेका हुन् ।
भरतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जायसवालले उत्साहजनक सहभागितासहित नेपालका नागरिकहरुद्वारा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको कार्यको स्वागत गरेका हुन्। गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा उनले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिएका छन्।
भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको र सोही प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि लजिस्टिक (बन्दोबस्तीका) सामग्रीहरू उपलब्ध गराएको भारतले उल्लेख गरेको छ। दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको समेत भारतले जनाएको छ।









