नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप अर्को मुद्दा पनि दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसूरको मुद्दा दायर गरेको हो ।
अधिकारीले प्राधिकरणबाट संचालन भएका ठेक्काहरूमा ठेक्का स्वीकृति, रेखदेख, भुक्तानी लगायतको जिम्मेवारीमा रहँदा आफ्नो पद तथा ओहदाको दुरूपयोग गरी गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसमेतबाट १ करोड ७१ लाख रूपैयाँ लिएको पुष्टि भएको अख्तियारले दाबी गरेको छ ।
घुसबापत प्राप्त रकम सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने बदनियतले उनले श्रीमतीको नाममा जग्गा किनेको पाइएको अख्तियारको दाबी छ । त्यसकारण अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
उनलाई १ करोड ७१ लाख बिगो कायम गरी श्रीमतीका नाममा किनेको १३ आना जग्गासमेत जफत गर्न अख्तियारले माग गरेको छ ।
प्राधिकरणका तत्कालिन महानिर्देशक अधिकारी यसअघि नै भ्रष्टाचार मुद्दामा थुनामा छन् ।









