बुद्ध एयरका मालिक वीरेन्द्र बहादुर बस्नेतले आफैले खोलेको पार्टी छोडेका छन् । जेन्जी आन्दोलनपछि बस्नेत सहितको पहलमा गतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको थियो, बस्नेत पार्टीको केन्द्रीय सदस्य थिए ।
तर निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेसंगै उनी पार्टीबाट अलग भएका छन् । अब आफु एक स्वतन्त्र, जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने बस्नेतले बताएका छन् ।
हालको राजनीतिक संस्कार आफ्नो आत्मासँग मेल नखाएको बस्नेतले बताएका छन्। पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन नसकिने रहेको भन्ने कुरा आफुले बुझेको उनले उल्लेख गरेका छन्।
अबको बाटो फरक रहे पनि देशप्रतिको समर्पण यथावत रहेको उनले बताएका छन् । उनले भनेका छन् ‘ आगामी दिनमा म मेरो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्नेछु । स्थानीय र प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि, र गुणस्तरीय माध्यमिक शिक्षा- यिनै क्षेत्रहरुबाट दिगो रोजगारी र समतामूलक समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’
उनले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन शुभकामना दिएका छन् ।









