नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका चौधरीले आफ्ना प्राथमिकता र कार्यान्वयन रणनीति सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
नेपालबाट फोब्र्स म्यागेजिनको डलर अर्बपति सूचीमा सूचीकृत एक मात्र उद्योगपति समेत रहेका चौधरीले मुलुकको अहिलेको बदलिँदो आर्थिक र राजनीतिक परिस्थिति, ‘जेन जी’ युवाहरुले उठाएको परिवर्तनको एजेन्डा र मतदाताको अपेक्षालाई सम्बोधन गर्ने गरी प्रतिज्ञापत्र तयार पारेको बताएका छन् ।
उनले आफ्नो प्रतिज्ञापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यवसाय, पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा लगायतलाई समेटेका छन् ।
प्रत्येक पालिकामा कम्तिमा एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने डिजिटल कक्षा, ई–लाइब्रेरी, विज्ञान तथा प्रविधि प्रयोगशाला र प्राविधिक तथा सीपमूलक शिक्षालाई विद्यालय तहदेखि नै प्राथमिकता दिने उनको प्रतिज्ञा छ ।
प्रत्येक नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा, खोप केन्द्रहरुको स्तरोन्नति, गाउँघरमा क्लिनिक सञ्चालन, ट्रमा सेन्टर र नगर अस्पताल सञ्चालन तथा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका विषय पनि उनले समेटेका छन् ।
नवलपरासीलाई केरा र उखु जोनका रूपमा विकास गर्ने, सिँचाइ सुविधा विस्तार, कृषकलाई सहुलियत ऋणको व्यवस्था, बीउ–बिजन र मलमा अनुदान तथा कृषि बीमा प्रभावकारी बनाउने उनको उद्घोष छ ।
कृषि उपजहरुको ग्रेडिङ र ब्रान्डिङ गर्ने र त्यसरी ग्रेडिङ र ब्रान्डिङ गरिएको कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने, चिस्यान केन्द्र र भण्डारण गृह स्थापना गर्ने तथा बाँझो जमिनको उपयोग गर्ने विषय पनि चौधरीले समेटेका छन् ।
‘युवा कृषि उद्यम कार्यक्रम’, सञ्चालन गर्ने, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योग प्रवर्द्धन गर्न औद्योगिक ग्राम सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जाने युवालाई सीप प्रमाणिकरण कार्यक्रम सञ्चालन गर्ने तथा विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशकै उद्यममा लगानी गर्न प्रोत्साहन गर्ने पनि उनको प्रतिज्ञापत्रमा उल्लेख छ ।
पूर्णपाठः









