Monday, July 13, 2026
spot_img

चुनावी अर्थतन्त्रः डेढ खर्ब पैसा बजारमा आउने अनुमान, कस्तो पर्ला असर ?

spot_img

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले करिब ३१ अर्ब रुपैयाँ खर्च गर्दैछ । यसमध्ये १९ अर्ब २१ करोड रुपैयाँ अर्थ मन्त्रालयले निकासा नै गरिसकेको छ । यो त भयो सरकारको तर्फबाट हुने खर्च । निर्वाचनका क्रममा राजनीतिक दल र उम्मेद्वारहरुले पनि खर्च गर्छन् ।

निर्वाचन आयोगले निर्वाचन क्षेत्र अनुसार उम्मेद्वारहरुलाई खर्चको सीमा तोकिदिएको छ । देशका कुल १६५ निर्वाचन क्षेत्रमध्ये काठमाडौँका १, ३, ६, ७ र ८ क्षेत्रका हरेक उम्मेद्वारले अधिकतम् २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

त्यस्तै, विभिन्न १७ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम् २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम २९ लाख र ५२ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यसैगरी, २६ वटा निर्वाचन क्षेत्रका उम्मेद्वारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने गरी सीमा तोकिएको छ ।

उम्मेदवारहरुले कति खर्च गर्लान् ?

फागुन २१ मा १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ । अर्थात्, कुल २७५ प्रतिनिधिसभा सदस्यमध्ये प्रत्यक्ष निर्वाचनबाट १६५ जना निर्वाचित हुनेछन् ।

उदाहरणका लागि अहिले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाएको राजनीतिक दल नेपाली कांग्रेस मात्रै छ । यस आधारमा उसले आफ्ना १६५ जना प्रत्यक्ष तर्फका उम्मेद्वारबाट मात्रै ४९ करोड ३९ लाख रुपैयाँ खर्च गर्न पाउँछ । यो भनेको उम्मेद्वारहरुले चुनाव पछि निर्वाचन आयोगमा खर्च विवरण पेश गर्नुपर्ने गरी निर्धारण गरिएको सीमा अनुसारको खर्च हो ।

त्यस्तै, एमालेले १६३ क्षेत्रमा उम्मेद्वार उठाएको छ । यस आधारमा उम्मेद्वारले गर्न पाउने खर्चको औसत दर निकाल्दा एक जना उम्मेद्वारले २९.९३ लाख रुपैयाँ खर्च गर्न पाउने देखिन्छ । यस अनुसार एमालेका १६३ जना उम्मेद्वारले कुल ४८ करोड ७८ लाख ५९ हजार रुपैयाँ खर्च गर्न सक्ने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना १६४ उम्मेद्वार उठाएको छ । यस आधारमा उसले कुल ४९ करोड ८ लाख ५२ हजार खर्च गर्न सक्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका १६४ उम्मेद्वारहरुले पनि पनि सोही बराबर खर्च गर्न पाउने छन् । यस्तै, राप्रपाले पनि १६३ क्षेत्रमा उम्मेद्वारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका कुल ३ हजार ४३४ उम्मद्वार कायम छन् । यस आधारमा सबै उम्मेद्वाहरुले निर्वाचन आयोगले तोकेको खर्चको सीमा अनुसार अधिकतम् रकम खर्च गर्दा कुल १० अर्ब २७ करोड ७९ लाख ६२ हजार रुपैयाँ खर्च गर्न सक्ने देखिन्छ । तर, दलबाहेक स्वतन्त्र उम्मेद्वारी दिएकाहरुले दलबाट उम्मेद्वार बनेकाहरुले जति खर्च नगर्न पनि सक्छन् ।

दलले गर्ने खर्च पनि छुट्टै

उम्मेद्वारले मात्रै नभई चुनवामा राजनीतिक दलले गर्ने खर्च पनि उत्तिकै हुन्छ । सबै दलहरुले समानुपातिक निर्वाचन तर्फको बन्दसूचीमा रहेका उम्मेद्वारहरुबाट पैसा उठाएका हुन्छन् । अझ निर्वाचन पश्चात प्रतिनिधिसभा सदस्य बन्ने पक्का भएका (सूचीको विभिन्न क्लस्टरमा पहिलो दोस्रो नम्बरमा नाम समावेश रहेका)हरुबाट मोटै रकम संकलन गर्ने विगतको अभ्यास छ ।

यति मात्रै नभई, दलहरुले उद्योगी व्यवसायी, शुभेच्छुक र समर्थकबाट चन्दा पनि संकलन गर्छन् । पार्टी सदस्यले तिर्ने लेबी बापतको रकम पनि कोषमा जम्मा भएको हुन्छ । यसरी संकलन भएको रकम दलहरुले हरेक निर्वाचन क्षेत्रमा दामाशाहीले पठाउँछन् । मानौँ, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र रास्वपा जस्ता चर्चामा रहेका दलहरुले प्रति निर्वाचन क्षेत्र १ लाखका दरले मात्रै रकम पठाउँदा पनि एउटा पार्टीले १ करोड ६५ लाख रुपैयाँ पठाउनुपर्छ ।

निर्वाचन आयोगले तोकिदिएको सीमा थोरै भएको भन्दै उम्मेद्वार स्वयंले पनि आफ्ना शुभेच्छुकबाट सहयोग लिने गर्दछन् । यसरी गरिएको÷गरिने खर्चको भने कुनै हिसाबकिताब कतै सार्वजनिक हुँदैन ।

अर्थविद् डा. रमेश पौडेलका अनुसार सरकारी खर्च, उम्मेद्वारले गर्ने खर्च, राजनीतिक दलहरुले गर्ने खर्च सबै जोड्दा १ खर्बदेखि डेढ खर्ब हाराहारी पैसा अबको एक महिनामा बजारमा आउने देखिन्छ । तर, यसको रेकर्ड एकाउन्टेन सिस्टममा कसरी रहन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ छ ।

बजारमा कस्तो असर पर्ला ?

निर्वाचनका क्रममा बजारमा एकसाथ ठूलो रकम आउँछ । छपाइ, ब्यानर, फ्लेक्स, यातायात, पेट्रोल, स्थानीय मजदुर र कार्यकर्ता तहमा त्यो पैसा पुग्छ । यसले स्थानीय बजार (खासगरी स–साना व्यवसायहरु) चलायमान गराउँछ ।

यसको अर्को पाटो भनेको, अचानक बढ्दा त्यसले महँगी पनि बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् । अर्थविद् नरबहादुर थापाका अनुसार निर्वाचनका बेला बजारमा आउने पैसाको ठूलो हिस्सा उपभोगमै जाने हुँदा त्यसले होटलको खाना, सवारी भाडादेखि दैनिक उपभोग्य वस्तुमा समेत महँगी बढ्ने जोखिम रहन्छ ।

‘पेट्रोलको माग बढ्छ, त्यो हाम्रो उत्पादन होइन । पेय पदार्थहरुको माग बढ्छ, ति पनि हाम्रा आन्तरिक उत्पादनभन्दा विदेशी नै बढी छन्’ उनी भन्छन्, ‘अरु दैनिक उपभोग्य वस्तुहरुको पनि कृत्रिम अभाव सिर्जना हुने र त्यसले अस्थायी रुपमा महँगी बढाउने जोखिम रहन्छ । यसमा सरकार पनि चनाखो हुनु जरुरी छ ।’

अर्थशास्त्री डा. पोशराज पाण्डे पनि निर्वाचनका बेला बजारमा पैसा त आउने तर, त्यसले अनौपचारिक अर्थतन्त्र बढाउनमा बढी योगदान गर्ने जोखिम रहने बताउँछन् । लेनदेन र किनबेच सबै नगदमै हुने र बिलविजक बिना खर्च हुने हुँदा त्यसले अनौपचारिक अर्थतन्त्रलाई सहयोग पुग्ने भएकाले सकेसम्म यस्ता कारोबार निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ ।

अर्थविद् पौडेलले पनि पेन्टिङ, फ्लेक्स, झण्डा, ब्यानर जस्ता स–सानादेखि होटल र रेष्टुरेन्ट जस्ता मध्यम व्यवसाय चलायमान हुने तर, त्यसरी हुने खर्चलाई ‘फर्मल इकोनोमी’मा जोड्ने कुरा चाहिँ चुनौतिपूर्ण रहेको बताए ।

‘नेपालका दलहरुको आह्वानमा इन्डियामा भएका मान्छेहरु भोट हाल्न आउँछन्, विभिन्न देशमा पनि भातृ संगठनहरु बनाएका छन्, ति देशबाट पनि मान्छेहरु आउँछन् । तिनीहरुको ट्राभल कस्टदेखि घरदैलोका नाममा, भेटघाटका नाममा, र्यालीका नाममा फजुल खर्च पनि बढ्ने देखिन्छ’ उनी थप्छन्, ‘यसका लागि प्रभावशाली नेताहरु उठेको क्षेत्र, प्रदेशका राजधानी रहेका क्षेत्र र जिल्ला सदरमुकामसमेत पर्ने क्षेत्रमा निर्वाचन आयोग सरकारले स्पेशल मेकानिजम नै बनाएर काम गर्नुपर्छ जस्तो लाग्छ । नत्र निर्वाचनमा ठूलो खर्च हुने तर, त्यसको रेकर्ड एकाउण्टेन सिस्टममा नरहने जोखिम हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबकम निःशुल्क कक्षा

नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल...

भारतका एयरपोर्ट प्रयोग गरेर नेपालीलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

नेपाली श्रमिकलाई भारतबाट विदेश पठाउने म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका...

३.४६ अर्ब क्षतिपूर्ति माग गर्दै क्यानविरुद्द अदालत जाने हिमालय एयरलाइन्सको चेतावनी, डीजीलाई पठायो पत्र

निजी क्षेत्रबाट सञ्चालित नेपालको एकमात्र अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी...
spot_img