नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गत साता सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई एउटा पत्र पठायो। साउन २९ गते तयार भएको पत्रको शिर्षकमा ‘बोर्डमा विवरण अध्यावधिक गर्ने सम्बन्धमा’ भनिएको छ।
पत्रमा शुक्रबारको मिति राखिए पनि कतिपय कम्पनीले आफुले शनिवार अर्थात् विदाको दिन मात्र इमेल पाएको बताएका छन् । विदाको दिन इमेल आएपछि उनीहरु अचामित समेत बनेका छन् ।
चलानी नम्बर ३५८ उल्लेख रहेको र सहायक निर्देशकको हस्ताक्षर रहेको सो पत्रमार्फत बोर्डले दुई प्रकारका विवरण मागेको छ। पहिलो नम्बरमा कम्पनीका संचालकको अयोग्यताबारेको विवरण माग गरिएको छ। पत्रमा भनिएको छ ‘सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा ६ को खण्ड (क) बमोजिम संचालकको अयोग्यता एकिन गरी सो को परिपालना गर्ने / गराउने र परिपालनाको अवस्था एक महिनाभित्र बोर्डलाई जानकारी दिने ।’
निर्देशिकाको दफा ६ को खण्ड क मा ‘धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको व्यक्ति सूचीकृत कम्पनीमा संचालक रहन नसक्ने’ भनिएको छ । धितोपत्र बोर्डले सो व्यवस्था पालन भए नभएको यकिन गरि बोर्डलाई जानकारी दिन भनेको हो । अर्थात् बोर्डले यदि कुनै सूचीकृत कम्पनीमा धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको व्यक्ति संचालक छ भने त्यस्ता व्यक्तिलाई संचालकबाट हटाउन भनेको हो ।
दोस्रो बुँदामा भने बोर्डले सूचीकृत संगठित संस्थाको संचालक तथा कार्यकारी प्रमुखको धितोपत्र दलाल तथा व्यापारी र मर्चेण्ट बैंकरको संचालक तथा कार्यकारी प्रमुखसंग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण माग गरेको छ। अर्थात् सूचीकृत कम्पनीका संचालक वा प्रमुखको कुनै ब्रोकर वा मर्चेन्ट बैंकर कम्पनीका सीईओ वा संचालकसँग नाता भए अब कम्पनीले खुलाएर पठाउनु पर्ने छ ।
बोर्डले सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २ को खण्ड (ग) परिभाषामा उल्लेखित व्यक्तिहरू नाता पर्ने भए पठाउन भनेको छ । जसमा पति, पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूमा आश्रित दाजु, भाई, दिदी र बहिनी नाता पर्ने छ भने सूचीकृत कम्पनीले बोर्डमा पठाउनु पर्ने छ।
अर्थात् यदि कुनै सूचीकृत कम्पनीका सीइओ र संचालकको कुनै ब्रोकर वा मर्चेन्ट बैंकर कम्पनीसँग सीइओ र संचालकसँग पति, पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूमा आश्रित दाजु, भाई, दिदी र बहिनी नाता पर्छ भने विवरण बोर्डमा बुझाउनु पर्ने छ ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरे बोर्डले समय समयमा सूचीकृत कम्पनीसँग अध्यावधिक विवरण माग्ने गरेको र अहिले पनि नियमित प्रक्रिया अनुसार नै विवरण अध्यावधिक गर्न सूचीकृत कम्पनीलाई पत्राचार गरिएको बताउछन् ।
तर बोर्ड स्रोतका अनुसार भने यसरी विवरण माग गर्नुको पछाडी नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिद गर्नलाई सूचीकृत कम्पनी र बोर्डले लाईसेन्स दिएका ब्रोकर र फण्डमार्फत रकम दुरुपयोगको विषय रहेको छ । जुन मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ। हिमालयन रिइन्स्योरेन्ससँग निकट व्यक्तिहरू (दीपक भट्ट, सुलभ/शुभी अग्रवाल समूह आदि) ले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) मार्फत कोल्याटरल बिना शेयर खरिद गरेको र त्यसमा आम सर्वसाधारणको रकम दुरुपयोग भएको खुलेको थियो।
फेरी पनि यदि सूचीकृत कम्पनीका सीइओ तथा संचालकको ब्रोकरका सीइओ र संचालकहरुसँग नजिकको नाता भएमा त्यस्तै प्रकरण दोहोरिन सक्ने भन्दै बोर्डले विवरण माग गरेको बताईन्छ। यदी नाता भएको देखिएमा ति व्यक्ति र ब्रोकरको कारोबारमा विशेष निगरानी हुने सक्ने स्रोतको भनाई छ। लाभांश घोषणा हुने सिजन आउनै लाग्दा कम्पनी र ब्रोकरबीच केही नाता भएमा मूल्य संवेदनशील सूचना चुहिन सक्ने, इनसाइडर ट्रेडिङ हुन सक्ने अवस्थालाई पनि बोर्डले मध्यनजर गरेको बताईन्छ ।
विगतमा बोर्डमा इनसाइडर ट्रेडिङ सम्बन्धि केही उजुरी पनि परेका छन् । ति इनसाइडर ट्रेडिङमा संलग्न रहेका भनिएकाको हकमा सूचीकृत कम्पनीका प्रमुख र ब्रोकरका प्रमुखबीच केही नाता रहे/नरहेको विषय पनि बोर्डले हेर्न चाहेको हुन सक्ने स्रोत बताउछ ।
साथै सम्पत्ति सुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्थाको परिपालनको लागि पनि विवरण माग गरिएको बताईएको छ। तर लगानीकर्ताको मनोबल कमजोर अवस्थामा नै रहेको बेला बोर्डले यसरी नाता खुलाएर विवरण पठाउन भनेपछि कतिपय सूचीकृत कम्पनी र ब्रोकर भने शशंकित बनेका छन् ।











