सोमबार साँझ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२ बारे जानकारी दिन एउटा कार्यक्रम आयोजना गर्यो। डबल आईजीन निर्देशिका भनेर चिनिने यो निर्देशिका सिडिएसले तयार पारेर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि गत साउन मै पठाएको थियो।
तर धेरै लामो समय धितोपत्र बोर्डबाट निर्देशिका स्वीकृत भएर नआएपछि सिडिएसले यसबारे जानकारी दिन कार्यक्रम गरेको हो। कार्यक्रमको सुरुवातमा सिडिएसकी प्रबन्ध संचालक प्रविन पन्दाकले प्रस्तुति दिएकी थिइन् । आफ्नो प्रस्तुतिको क्रममा उनले प्रस्तावित निर्देशिका रोक्नको लागि आफुले धेरै हप्काई, दप्काई, दबाब र हिंसा झेलेको बताईन् । उनले सो कार्यक्रम रोक्नको लागि समेत दबाब आएको उल्लेख गरिन् । तर दबाब कसले दिएको भनेर खुलाईनन् । साथै धितोपत्र बोर्डले निर्देशिका स्वीकृति नगरेको भन्दै अशन्तुष्टी पोखिन् । एक दुइ पत्र बोर्डमा छलफल भएको जानकारी आफुले पाएको तर त्यसपछि के भईरहेको छ भन्ने आफुलाई जानकारी समेत नभएको बताईन् ।
प्रबन्ध संचालक पन्दाकले निर्देशिकामा के कस्ता प्रस्ताव गरिएको छ, यी व्यवस्था किन गर्न खोजिएको हो, कुन नियमको आधारमा निर्देशिकाको ड्राफ्ट बनाईएको हो, के कारणले निर्देशिका आवश्यक छ, प्रस्तवित निर्देशिका स्वीकृत भएपछि के के हुन्छ भन्ने विषयमा झन्डै १ घण्टा प्रस्तुति दिएकी थिइन्। प्रस्तुतिको क्रममा उनले कुनै पनि सार्वजनिक सूचना जारी नगरी संस्थापक शेयरलाई सर्वसाधारणमा मिसाउने गरिएको दाबी गरिन्। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ को नियम ३०(१) अनुसार १५ वर्ष अघि देखि नै निर्देशिका तयार गरी गर्नु पर्नेमा सो नगरेको हुँदा सर्वसाधारण लगानीकर्ता झुक्यानमा पर्ने, सिडिएसको प्रणाली र कानुनी दस्तावेजमा भएको तथ्यांक नमिल्ने गरेकोले विधिपूर्वक मिसाउनु पर्ने र त्यसकै लागि निर्देशिका ल्याउन खोजेको बताईन्।
संस्थापकहरुलाई भविष्यमा कानूनी झमेलामा समेत पर्न नदिन र सर्वसाधारणलाई झुक्याएर संस्थापक शेयर बिक्री वितरण गर्न नदिन तथा अन्य विविध नकारात्मक कार्यहरुलाई रोक्नका लागि संस्थापक सेयरलाई लकइन अवधिभर सर्वसाधारण सेयर भन्दा फरक आईजिन प्रदान गर्ने र आईजिन मिसाउदा समेत पूँजीबजारको आधारभूत सिद्घान्त अनुसार डिस्क्लोज गरेर मात्र मिसाउने गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको उनले उल्लेख गरिन्। साथै उनले केही कम्पनीले सिडिएसमा शेयर दर्ता गर्दा नियम विपरित गरेको समेत दाबी गरिन् ।
कार्यक्रम मै रहेका लगानीकर्ता तथा सिटी होटेलका संचालक तिलक कोइरालाले पन्दाकको प्रस्तुतिको क्रममा सिटी होटेलको नाम पटक पटक आएको भन्दै आपत्ति जनाए । उनले सिटी होटेलले कुनै पनि गैर कानुनी काम नगरेको उल्लेख गरे। नियम अनुसार नै आईपीओ निष्काशन भएको, नियम सम्मत शेयर सिडिएसमा दर्ता भएर हाल नेप्सेमा कारोबार भएको र आईपीओ निष्काशनपछि आफु संचालक बनेको उनले प्रष्ट पारे । जवाफमा पन्दाकले आफुले सिटी होटेल र कालिन्चोक दर्शनको उदाहरण मात्र दिएको बताएकी थिइन् ।
कार्यक्रम सेबोन र नेप्सेद्वारा बहिस्कार
कार्यक्रम सम्पन्न नहुँदै सिडिएसले केही मिडियामा प्रेस विज्ञप्ति पठाएको थियो। जसमा नेपाल सरकार, अर्थमन्त्रालयका प्रतिनिधिहरु, नेपाल धितोपत्र बोर्डका संचालकहरु, नेपाल स्टक एक्सचेन्ज लि. का संचालकहरु सहित कार्यक्रम गरिएको उल्लेख थियो। तर कार्यक्रममा अर्थ मन्त्रालयका प्रतिनिधि, धितोपत्र बोर्डका संचालकहरु, नेप्सेका संचालक, धितोपत्र बोर्डका कोहि पनि कर्मचारी उपस्थित थिएनन्। आसान ग्रहणको लागि धितोपत्र बोर्डका संचालक, अध्यक्ष, नेप्सेका संचालक, लगायतका आसन ग्रहण गर्न भनिएपनि कोहि उपस्थिति भने थिएनन् ।
स्रोतका अनुसार यस कार्यक्रमको औचित्य नै नरहेकोले धितोपत्र बोर्डबाट कोहि पनि कार्यक्रममा सहभागी नभएका हुन् । यस्तो कार्यक्रम गर्ने भए सिडिएसले निर्देशिकाको मस्यौदा बनाउनु भन्दा अगाडी नै गर्नु पर्ने, तर निर्देशिका बोर्डमा विचाराधीन रहेको अवस्थामा यस्ता कार्यक्रमको कुनै तात्पर्य र औचित्य नै नरहेकोले बोर्डको सहभागिता नरहेको स्रोतको दाबी छ । निर्देशिका स्वीकृत भईसकेको भए त्यसबारे जानकारी दिँदा राम्रो हुने, तर बोर्डमा पठाएर विचाराधीन रहेको अवस्थाको निर्देशिकाबारे जानकारी दिनु आवश्यक नै नदेखिएको अर्का स्रोतको भनाई छ।
डबल आईजीन बारे निजी क्षेत्रको विरोध यथावत
कार्यक्रममा अतिथिको रुपमा बोलाईएक विभिन्न निजी क्षेत्रका संस्थाका प्रतिनिधिले भने डबल आईजीनको व्यवस्था हुनु नहुने भन्दै प्रस्तावित निर्देशिकाको विरोध गरे। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आईजीन निर्देशिकामा दबाब कसले दिएको सार्वजनिक गर्नु पर्ने बताए। उनले आईजीन समबन्धि निर्देशिकाको मस्यौदा बन्नु भन्दा अगाडी नै किन छलफल नगरिएको भन्दै प्रश्न गरे। निजी क्षेत्रमाथि एक माथि अर्को अड्चन थप्ने काम भएको भन्दै बरु आइपीओ नै नल्याउन भनिदिए निजी क्षेत्रले सोहि अनुसार तयारी गर्ने उनको भनाई थियो। उनले संस्थापक र सर्वसाधारणलाई फरक फरक आईजीन दिने भए १ वर्षमै शेयर बेच्न मिल्ने पीईभीसीलाई के गर्ने भन्दै प्रश्न गरे। सरकारले निजी क्षेत्रलाई हैरान पार्ने र सताउने काम भएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले डबल आईजीनको व्यवस्थाले बजारमा भ्रम र अविश्वासको अवस्था सृजन हुने उल्लेख गरे । बजारमा विकृति आउने, र यसले शेयरबजारको इन्डेक्समा समेत असर गर्ने उनले बताए। एक कम्पनीको एक मात्र आईजीन हुनु पर्ने भन्दै उनले दुई वटा आईजीन प्रदान गर्दा ‘स्पेकुलेसन’ हुने र त्यसले बजार विकास र सुधारमा वाधा हुने उनले उल्लेख गरे । यस अघि बैंक तथा वित्तीय संस्थालाई डबल आईजीन दिँदा समस्या भएको भन्दै त्यसलाई सुधार गरेर एकल आईजीनमा जानु पर्ने धारणा उनले राखे ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यले नियामकबाट आउने कुनै पनि नीतिले निजी क्षेत्र, उद्यमशीलता, र व्यवसायमा असर पर्ने खालका काम हुनु नहुने उल्लेख गरे। डबल आईजीनले निजी क्षेत्र, उद्यमशीलता, र व्यवसायमा असर पर्ने भए त्यो अवस्था आउनु नहुने उनको भनाई थियो ।
नेपाल उद्योग परिसंघका बैंक तथा वित्तीय संस्था समितिका सभापति वरुण तोदीले डबल आईजीनले अहिलेको समस्याको समधान नहुने उल्लेख गरे। एउटा सेक्युरिटिजको एक मात्र आईजीन हुनु पर्ने भन्दै उनले यदि प्रिफरेन्स शेयर भएमा वा डिबेन्चर भएमा मात्र दुई वटा आईजीन हुनु पर्ने बताए। पुँजीबजार स्वस्थ हुनु पर्ने भन्दै उनले लकइन अवधि, आईपीओमा जाने आकारबारे छलफल गरेर मापदण्ड बनाउनु पर्ने धारणा राखे।
कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र नीति नियम आउनु पर्ने बताए । पुँजीबजार पारदर्शी हुनु पर्ने उनको भनाई थियो। आईजीनको विषय प्राविधिक कुरा भएको तर यो विषय तिललाई पहाड बनाए झैँ भएको उल्लेख गरे। आईजीनको व्यवस्था नेपालको परिस्थिति अनुसार परिमार्जन गरिनु पर्ने र नेपालको हकमा उपयुक्त हुने गरि निर्देशिका आउनु पर्ने बताए। डबल आईजीन बारे कुनै पनि कन्फ्युजन हुनु नहुने भन्दै उनले ३ वर्षपछि कसरी कारोबार हुने भन्ने विषय अहिले नै प्रष्ट पार्नु पर्ने बताए।
शेयर लगानीकर्ताका प्रतिनिधिले भने निर्देशिका तत्काल स्वीकृत हुनु पर्ने र यो शेयर लगानीकर्ताको हितमा रहेको बताए ।













