श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। कार्तिक २५ गते सिडिएससी, निष्काशनकर्ता कम्पनी तथा शेयर रजिष्ट्रार नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ। कम्पनीले असोज २६ गतेदेखि असोज २९ गतेसम्म सर्वसाधारणलाई २५ लाख १० हजार ४ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो।
यस कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।
कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।









