सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा देखिएको विवादबारे अर्थ मन्त्रालयले चासो देखाएको छ । विवाद देखिएपछि अर्थ मन्त्रालयले नेप्से र सिडिएससीसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ । छलफलको लागि तयारी गर्न अर्थ मन्त्रालयले भनिसकेको बताईएको छ।
मुख्यगरि सिडिएस र नेप्सेबीच आईजीन कोडको विषयमा मतभेद देखिएको हो। उदाहरणको लागि एउटा खोला भन्ने जलविद्युत कम्पनीको सबै शेयर अहिलेसम्म KHOLA सिम्बलबाट सूचीकृत हुन्थ्यो। यसको लागि नेप्सेले एउटा मात्र International Securities Identification Number – ISIN नम्बर दिन्थ्यो। यो युनिक नम्बर हो, विश्वमा कहिँ कतैपनि अर्को कम्पनीको नम्बरसँग मिल्दैन । नेपालका सबै कम्पनीका ISIN नम्बर NP बाट सुरु हुन्छ। अब भने सिडिएसले खोला भन्ने कम्पनीको संस्थापक शेयरलाई KHOLAP र साधारण शेयरलाई KHOLA सिम्बल र त्यहि अनुसार दुई वटा छुट्टाछुट्टै आईजीन कोड दिन खोजेको हो।
सोही अनुसार सिडीएसले कम्पनीको शेयर सूचीकरण गराउन खोजेको हो । तर नेप्सेले भने नयाँ कानूनी प्रबन्ध नगरिएकोले अहिले भईरहेको अभ्यास अनुसार नै शेयर सूचीकरण गर्नु पर्ने भन्दै सिडीएसको कदमलाई साथ दिएको छैन । धितोपत्र बोर्डले पनि प्रचलित कानून, असल अभ्यास अनुसार गर्न भनेर आफ्नो राय पठाइसकेको छ। यसबाट धितोपत्र बोर्डले पनि सिडिएसको कदममा साथ नदिएको देखिन्छ। तर सिडिएस भने छुट्टाछुट्टै आईजीन कायम गर्ने पक्ष मै छ । यहि विषयले विवाद सुरु भएको हो । अब भने यो विवादमा अर्थ मन्त्रालयले नै चासो देखाएर छलफल गर्न लागेको हो ।
कसरी सुरु भयो विवाद ?
सिडिएससीले उर्जा, र उत्पादन समूहका कम्पनीको शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोज्दा अन्योलता उत्पन्न भएको हो। हाल बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको शेयर मात्र साधारण र संस्थापक गरि दुई समूहमा दर्ता र सूचीकरण हुन्छ।
तर सिडिएसले अहिले उत्पादन तथा प्रशोधन समूह, होटेल तथा टुरिजम समूह, हाइड्रोपावर, ट्रेडिङ, र लगानी समूहका शेयर पनि संस्थापक र सर्वसाधारण गरि छुट्टाछुट्टै दुई समूहमा दर्ता गर्न खोजेको छ।
सिडिएसको यो कदमको कारण अहिले बजारमा अन्योलता सिर्जना भएको हो। यस अघि बजारमा आएको उत्पादन समूहको ओम मेगाश्री फर्मासुटिकल्सको शेयर सूचीकरण हुन ३५ दिन लागेको थियो। कम्पनीको आईपीओ चैत्र १२ गते बाँडफाँड भएको थियो भने वैशाख १७ गते मात्र नेप्सेमा सूचीकृत भएको थियो। पियोर इनर्जीको शेयर सूचीकृत हुन पनि एक महिना भन्दा धेरै समय लागेको थियो। तर अझैसम्म पनि सिडिएसले ति कम्पनीको संस्थापक शेयर सम्बन्धित शेयरधनीको खातामा पठाईएको छैन ।
पियोर इनर्जीले शेयर डिम्याटको लागि आवेदन दिएपछि सिडिएसले नेप्सेलाई पत्र लेख्दै कम्पनीको संस्थापक समूहको शेयर र सर्वसाधारण समूहको शेयरको लागि छुट्टाछुट्टै आईजीन कोड माग गरेको थियो। तर नेप्सेले हाल थप कुनै नयाँ कानूनी व्यवस्था नगरिएकोले यस अघिको अभ्यास अनुसार नै कम्पनीलाई एउटा मात्र कोड दिएको थियो। तर सिडिएसले त्यसलाई सर्वसाधारण समूहको शेयरको सिम्बल मानेर संस्थापक समूहको शेयरको लागि भन्दै अर्को कोड पठाउन नयाँ पत्र पठायो। तर नेप्सेले अर्को कोड नदिएपछि पियोर इनर्जीको संस्थापक शेयरधनीहरुलाई सिडिएसले डिम्याट खातामा शेयर पठाएको छैन।
छिट्टै ट्रेड टावर लिमिटेडको शेयर पनि सूचीकरणको बेला हुने छ। त्यस समयमा पनि यो विवाद देखिने निश्चित नै छ। त्यस अघि नै यसको समाधान गर्ने गरि अर्थ मन्त्रालयले छलफल चाहेको बताईएको छ।
यस अघिका सम्बन्धित समाचार :
आईजीन विवादले लगानीकर्ताको सम्पत्ति बन्धक
सिडिएसले IPO आएका नयाँ कम्पनीको शेयर दुईथरि कायम गर्न खोज्दा शेयरबजारमा तरङ्ग
सबै शेयर डिम्याट खातामा नहालेको भन्दै पियोर इनर्जीद्वारा CDSC विरुद्द धितोपत्र बोर्डमा उजुरी
शेयरमा दुईथरि आईजीनबारे धितोपत्र बोर्डले दियो यस्तो निर्देशन, सिडिएसलाई झड्का









