४८ दिनदेखि सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका धितोपत्र बोर्डका कर्मचारीको मागबारे सहमति जुटेको छ । सहमति भएसंगै आज सोमबारबाट धितोपत्र बोर्डका कर्मचारी नियमित काममा फर्किएका छन् । यद्यपि उनीहरुले बिहान १ घण्टा धर्ना कार्यक्रम भने निरन्तर राख्ने बताएका छन् । धर्नापछि उनीहरुले नियमित कार्य गर्ने छन् ।
यस संगै आन्दोलनको कारण लामो समयदेखि रोकिएको आईपीओ निष्काशन अनुमति प्रक्रिया अगाडी बढ्ने देखिएको छ। जस क्रममा सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाउन सक्ने सम्भावना देखिएको छ। यो कम्पनी हाल हाइड्रोपावरको आईपीओ पाएपलाइनको तेस्रो नम्बरमा छ ।
स्रोतका अनुसार बोर्डमा आन्दोलन सुरु हुनु अगाडी नै यो कम्पनीले आईपीओको अनुमति पाउन लागेको थियो। कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४ बमोजिम नियमावलीको अनुसूची- २ मा उल्लेख भए बमोजिमको दर्ता दस्तुर समेत बोर्डमा जम्मा गरिसकेको थियो । तर त्यसपछि आन्दोलन सुरु भएको कारण कुनै काम अघि बढेको थिएन ।
अब भने बोर्डका कर्मचारीहरु नियमित काममा फर्किएसँगै शुल्क समेत बुझाईसकेको सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाउन सक्ने देखिएको छ। कम्पनीले २०८० असोज २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने गरि बोर्डमा आवेदन दिएको थियो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।









