श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा आज शेयर बाँडफाँड भएको हो।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ६४ हजार ८ सय १२ जनाको आवेदन परेको थियो । जस मध्ये ६४ हजार ७ सय ९९ जनाको आवेदन मात्र योग्य भएको छ ।
मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ३० हजार ९ सय ९३ जनाले मात्र शेयर पाएका छन्, यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
स्थानीयलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
नेपाल धितोपत्र बोर्डले साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ।
कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ। कम्पनीले कृषकलाई कृषि सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेका सामग्रीहरु खरिद गरेर बजारसम्म पुयाउँदै पनि आएको छ ।
कम्पनीको ठूला शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि र मौसमी श्रेष्ठ रहेका छन् ।









