रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरुलाई १ लाख १५ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीले बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार यी शेयरको मूल्य प्रति कित्ता ८२० रुपैयाँ ५० पैसा तोकिएको छ । यस निष्काशनमा साउन १० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफांड गरेपछि आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
कम्पनीले यस अघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिसकेको छ। योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो । सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन गार्ड कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा कायम भएको हो ।
यस सँगै रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बन्ने छ। सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।
पवन गोल्यान रिलायन्स स्पिनिङ मिल्सका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ ।
कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।