नेपाल धितोपत्र वोर्डको अध्यक्ष पदका लागि संक्षिप्त सूचि ( Short list) मा समावेश भएका तर पहिलो चरणमा अन्तर्वार्ता तथा प्रस्तुतिकरणको लागि नगएका उमेदवारहरुलाई आज असार ५ गते बुधबार पुन: बोलाईएको छ । असार २ गते कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्तामा उपस्थित नभएका ३ जनालाई आज बुधबार बिहान बजे राष्ट्रिय योजना आयोगको सभाहलमा बोलाईएको छ।
बोर्ड अध्यक्षको लागि ५ जना सर्टलिस्ट भएका थिए । जस मध्ये असार २ गते सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्तामा उपस्थित भए। सो दिन उपस्थिति हुनु पर्ने डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरन्जीवी चापागाई उपस्थित भएनन् । उनीहरुलाई आज बोलाईएको छ ।
तर उनीहरु सबैको मोबाइल अफ छ । अर्थात् उनीहरु आज पनि जाने सम्भावना कम छ । हाल् नेप्सेको सीइओ रहेका कृष्णबहादुर कार्की रसुवा पुगेको बताईएको छ । त्यस्तै धितोपत्र बोर्ड कै कार्यकारी निर्देशक रहेका डा. नवराज अधिकारीको पनि मोबाइल अफ छ । बोर्ड कै एक निर्देशकले सार्वजनिक रुपमा मै बुधबार बेलुका ‘हाकिमसाप आजसम्म पनि फोन अफ गरेर लापता छन, भोलि पनि सिंहदरबार छिर्दैनन् जस्तो लाग्यो ।’ भनी सामाजिक संजालमा टिप्पणी गरेका छन् । उनीहरु ३ जनाले सल्लाह नै गरेर अन्तर्वार्ताको लागि नगएको बजार चर्चा छ । यस्तो अवस्थामा चापागाई पनि अन्तर्वार्ताको लागि नजाने बुझिएको छ । उनी पनि काठमाडौँ बाहिर भएको बताईएको छ ।
कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ता पछि बोर्ड अध्यक्षको लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था छ। तर अब २ जनाले मात्र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ता दिएकोले के गर्ने भन्ने जटिलता थपिएको छ ।
अर्थमन्त्री वर्षमान पुनमाथि जसरि पनि ३ जनाको नाम सिफारिस गर्नु पर्ने दबाब छ । तर उनी आफै भने फेरी नयाँ आवेदन गरेर नयाँ प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्ति अगाडी बढाउँन चाहन्छन् ।
अब धितोपत्र बोर्डमा आउने अध्यक्षले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने भएकोले लाईसेन्सको लागि आवेदन दिएका समुहहरु आफु अनुकुलको पात्रलाई बोर्ड अध्यक्ष बनाउन सम्पूर्ण शक्ति लगाएका छन् । सोहि कारण बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया जटिल हुने देखिएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बोर्ड अध्यक्षका लागि सिफारिस समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। तर २ जना मात्र अन्तर्वार्ताको लागि आए के गर्ने भन्नेबारे कहिँ कतै उल्लेख छैन । सोहि कारण अब यो विषय अदालत पुगेर टुंगिन सक्ने केहि जानकारहरु बताउछन् ।