छोटा भिडियोहरुका लागि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु गरेको छ । शुक्रबार यस अभियानको उद्घाटन गरिएको हो ।
टिकटकमार्फत नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्ने उदेश्यले यो अभियान सुरु गरिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार टिकटकसँगको यस सहकार्यमार्फत नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय कलाकर्मीको सशक्तीकरण तथा स्थानीय समुदाय र व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्ने उदेश्य लिइएको छ ।
यस अभियानअन्तर्गत टिकटकले युरोप, मिडल इस्ट, साउथ ईस्ट एसिया र साउथ एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ । उनीहरू ३० अक्टोबरदेखि ७ नोभेम्बरसम्म नेपालमा रहने छन् । नेपालमा रहँदा उनीहरुले विभिन्न स्थानको भ्रमण गर्दै आफ्ना अनुभव संसारभरका दर्शकमाझ पुर्याउने छन् ।
यसबाट अन्तर्राष्ट्रिय पर्यटकले नेपालका चर्चित पर्यटकीय गन्तव्यहरूसँगै ओझेलमा परेका सुन्दर स्थानहरूबारे पनि जानकारी पाउनेछन् ।
यसैगरी, पर्यटनसम्बन्धी कन्टेन्टको पहुँच र दर्शकको सहभागिता बढाउन टिकटकले छुट्टै #VisitNepal ह्यासट्याग पनि सुरु गरेको छ । Visit Nepal भियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ ।










