Tuesday, June 2, 2026
spot_img

केबलकार अर्थतन्त्रः पहाडका टाकुरामा जुर्मुराइरहेको पर्यटनको नयाँ लहर

spot_img
spot_img

भौगोलिक रुपमा नेपालको भू–वनोटलाई हिमाल, पहाड र तराई भनेर वर्गीकरण गरिन्छ । मुलुकको कुल क्षेत्रफलमध्ये पहाडले करिब ६८ प्रतिशत क्षेत्र ओगट्छ । सुन्दर भू–वनोट भएपनि पहाडी भेगमा विकासको गति सुस्त हुँदा अहिले मानिसहरु बसाई सर्ने क्रम बढ्दो छ । सहज सडक पहुँचको समेत अभावले गर्दा सुन्दर पहाडहरुले ‘दुर्गम ठाउँ’को उपमा पाइरहेका छन् ।

तर, अब समय बदलिएको छ । हिजो घण्टौ लगाएर पुग्नुपर्ने पहाडका टाकुराहरुमा अब केही मिनेटमै पुग्न सकिने भएको छ । विगतमा दिनौं हिडेर छिचोल्नुपर्ने पहाडको बाटो अहिले केही मिनेटमै उचाईमा पुगेर फर्किन सकिने अवस्था बनेको छ । यो परिवर्तनको केन्द्रमा छन्–केबलकार ।

पछिल्लो समय देशका विभिन्न गन्तव्यमा सञ्चालन भइरहेका केबलकारहरूले केवल यात्रालाई मात्रै सहज बनाएका छैनन्, पर्यटनको स्वरूप, स्थानीय उत्पादन र अर्थतन्त्रसहित रोजगारीको संरचनामा नै परिवर्तन गरिरहेका छन् ।

हाल नेपालमा मनकामना केबलकार, चन्द्रागिरि केबलकार, कालिञ्चोक केबलकार, लुम्बिनी केबलकार, बन्दीपुर केबलकार, पोखरा केबलकार (सारङकोट) र मौलाकाली केबलकार सञ्चालनमा छन् । जालपादेवी केबलकार केही महिनाभित्रै सञ्चालनमा आउँदैछ भने पाथीभरादेवी केबलकार निर्माणाधिन अवस्थामा छ ।

केबलकार युगको सुरुवात र अहिलको अवस्था

सन् १९९८ मा सञ्चालनमा आएको मनकामना केबलकार नेपालकै पहिलो व्यावसायिक केबलकार हो । चितवनको इच्छाकामनाबाट मनकामना मन्दिरसम्म पुग्ने यो केबलकारले धार्मिक पर्यटनलाई ब्यापक बनाउन निकै योगदान गरेको छ । पहिला ३ दिनसम्म लगाएर हिडेर पुग्नुपर्ने गन्तव्यमा २.७ किलोमिटर लम्बाईको कबलकार जडान भएपछि जम्मा १० मिनेटमा पूरा हुन थाल्यो । यसपछि ‘रिलिजियश टुरिजम’लाई यो केबलकारले ‘मास टुरिजम’मा बदल्यो ।

साथै, यसले सो क्षेत्रको स्थानीय अर्थतन्त्र र रोजगारीमा पनि उल्लेख्य भूमीका खेल्यो । मनकामना केबलकारले नेपालमा केबलकार लगानीको ‘ट्रेण्ड सेटर’को रुपमा काम गरेको पनि मान्न सकिन्छ ।

यसपछि काठमाडौँको चन्द्रागिरिमा केबलकार सुरु भयो । यो केबलकार छोटो समयमै राजधानी नजिकैको पर्यटन हबका रुपमा चिनिन थाल्यो । प्रतिघण्टा १ हजार जनाले सेवा लिन सक्ने चन्द्रागिरि केबलकारले ‘डे ट्रिप टुरिजम’लाई विस्फोटक रूपमा बढाएको छ । भालेश्वर महादेव मन्दिर, होटल, रिसोर्ट र सहज पहुँचले गर्दा चन्द्रागिरि केबलकारले आन्तरिक पर्यटन बढाउन निकै ठूलो योगदान दिएको छ ।

यति मात्रै होइन, चन्द्रागिरि केबलकार ‘वेडिङ डेस्टिनेशन’ समेत बनेको छ । भारतदेखि पर्यटकहरु बिबाह गर्न यहाँ आउँछन् । हालै मात्रै भारतीय धर्मगुरु श्रीश्री विधुशेखर भारती महास्वामीले भालेश्वर महादेव मन्दिरमा पूजा, अर्चना गरेका छन् । यसबाट यहाँ भारतीय पर्यटकको संख्या अझै बढ्ने देखिएको छ ।

दोलखाको कालिञ्चोक केबलकारले ‘स्नो टुरिजम’ (हिउँ खेलेर रमाउने)लाई बढवा दिएको छ । हिडेर पुग्न निकै गाह्रो हुने यो पहाडमा अब सहजै पुगेर कालिञ्चोक भगवतीको दर्शन गर्न सहज भएको छ । स्थानीय होटल, आसपासका होमस्टे र पसलको ब्यापार फस्टाएको छ । जसका कारण स्थानीय उत्पादन गाउँमै खपत हुने अवस्था बनेको छ ।

यस्तै, धार्मिक र मनोरञ्जनका लागि पछिल्लो समय लुम्बिनी केबलकार अति नै चर्चित भइरहेको छ । यहाँ एक वर्षमै २ लाखभन्दा बढी पर्यटक पुग्न थालिसकेका छन् । कुनै समयको सुनसान क्षेत्र अहिले स्वदेशीसहित भारतीय पर्यटककले खचाखच हुने गरेको छ । एक दुइ दिनको छाटो बिदाको समयमा यस क्षेत्रमा आउने आन्तरिक र भारतीय पर्यटक अहिले ब्यापक बढेका छन् ।

पोखरा (सारङकोट) केबलकारले पोखरा पुग्ने पर्यटकको बसाई अवधि लम्ब्याएको छ । नवलपुरको मौलाकाली केबलकार पनि अहिले तीव्र रूपमा चर्चामा आएको परियोजना हो । यो परियोजनाले धार्मिक पर्यटन त फस्टाएकै छ, स्थानीय युवाहरुमा पनि रोजगारीको सिर्जना भएको छ । गैँडाकोट र आसपासको ब्यापार बढाउनुका साथै, स्थानीय होटल, रेष्टुरेन्ट र साना व्यवसायको पनि वृद्धि भएको छ । मौलाकाली केबलकारले सहरका रुपमा विकास भइनसकेका ठाउँलाई पनि केबलकारले अर्थतन्त्रको मूल धारमा ल्याउन सक्छ भन्ने उदाहरण देखाएको छ ।

खासगरी, धार्मिक र मनोरञ्जन मोडेलमा सञ्चालित केबलकार चाँडै चर्चामा आउने र त्यस्ता परियोजनाहरु सफल पनि हुने विश्लेषण गरिन्छ । यसका साथै, स्थानीय होटल, रेष्टुरेन्ट चल्दा स्थानीय उत्पादनकै खपत बढ्ने भएकाले किसानलाई उत्पादनमा लाग्न पनि अझ प्रेरित गरेका उदाहरण पनि प्रशस्तै छन् । टिकटबाट सोझै करोडौं राजस्व पनि उठ्दै आएको छ ।

केबलकारले ग्रामिण अर्थतन्त्रलाई मूल प्रवाहमा जोड्न र ग्रामिण क्षेत्रमा रोजगारीको ठूला अवसरहरु सिर्जना गर्न उल्लेख्य योगदान पु¥याउनले भएकाले केबलकार परियोजनालाई ‘इकोनोमिक मल्टिप्लायर’ पनि भन्ने गरिन्छ । खासगरी, पहाडलाई बजारसँग जोड्ने, पर्यटनलाई तीव्र बनाउने र त्यसमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले केबलकारलाई ‘इकोनोमिक मल्टिप्लायर’ भन्ने गरिएको हो ।

नयाँ परियोजना पनि थपिँदै

ग्रामिण अर्थतन्त्र र रोजगारीका अवसरहरु सिर्जना गर्नमा ठूलो योगदान दिने केबलकार परियोजनाहरु थपिँदैछन् । कैलालीको चिसापानीमा बन्दै गरेको जालपादेवी केबलकार अबको दुई महिनाभित्र सञ्चालनमा आउँदैछ । आइएमई समूहले अघि बढाइरहेको यो परियोजना सम्पन्न भएपछि भारतीय पर्यटक अझै बढ्ने र त्यसले स्थानीय उत्पादन, रोजगारी र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यस्तै, ताप्लेजुङको पाथीभरामा पनि केबलकार बन्दैछ । पाथीभरा हिन्दु र किराँत समुदायको आस्थाको केन्द्र हो । नेपाली मात्रै नभई लाखौँ भारतीय तिर्थालुहरुको आस्थाको प्रतिक पनि हो । पाथीभरा पुग्ने चाहना भएपनि भौगोलिक कठिनाईका कारण मानिसहरु सहजै पुग्न नसक्ने भएकाले केबलकार निर्माण सम्पन्न भइसकेपछि भक्तजनहरुले सहजै पाथीभराको दर्शन गर्न पाउने छन् ।

आयोजनाका अनुसार अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थीहरु जाने गरि केबलकारको डिजाइन गरिएको छ । केबलकार बनेपछि झापाको बिर्तामोडदेखि काकडभिट्टा र आसपासको बाटो हुँदै हजारौँ मानिसले दैनिक आवतजावत गर्ने भएकाले सो क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा छ ।

पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुको बजारीकरणसहित ग्रामिण अर्थतन्त्रमा परियोजनामार्फत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ । ताप्लेजुङसहित पूर्वी नेपाल अलैँची, चिया, जडीबुटीका लागि प्रख्यात मानिन्छ । यीसहित तरकारी, फलफूल, दूध, घ्यूको खपत गाउँदै बढ्दा आज बिक्री नभएर खेर गइरहेका उत्पादन पर्यटनसँग जोडिएपछि आयआर्जनको प्रमुख स्रोत बन्न सक्छन् ।

यति मात्रै होइन, मुक्तिनाथ दर्शन गर्न चाहने नेपाली र भारतीय तिर्थालुहरु सहज पहुँचको अभावमा पुग्न सकिरहेका छैनन् । ‘जीवनमा एकपटक मुक्तिनाथको दर्शन गरौँ’ हिन्दु धर्मावलम्बीसहित सो क्षेत्रको प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्न चाहनेहरुको संख्या धेरै छ । यो आवश्यकतालाई ध्यानमा राखेर विश्व कै सबैभन्दा लामो पोखरा–मुक्तिनाथ केबलकार परियोजनाको प्रस्ताव भएको छ । ८१.०१४ किलोमिटर लम्बाईको यो केबलकार परियोजनाको डीपीआर पनि तयार भइसकेको छ । कास्कीको नयाँपुलबाट घोरेपानी–तातोपानी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथसम्म पुग्ने यो केबलकार परियोजना निर्माण सम्पन्न भएमा यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासमेत चुलिनेछ । साथै, मुक्तिनाथ जस्तो विश्व प्रसिद्ध धार्मिक स्थलमा पुग्ने पर्यटकहरु समेत अहिलेको तुलनामा धेरै बढ्नेछन् ।

यसैगरी, कास्कीमै ‘सिकलेस केबलकार’ पनि बन्दैछ । आइएमई समूहले बनाउन लागेको यो केबलकारले त्यस क्षेत्रमा नयाँ ‘टुरिजम प्रोडक्ट’ थप्नेछ । जसले पोखरा र गण्डकी क्षेत्रमा पुग्ने पर्यटकको बसाई अवधि लम्ब्याउने छ । साथै, नयाँ रोजगारीका अवसरसमेत सिर्जना गर्नेछ ।

भारतीय पर्यटकले बढाइरहेको ‘हिल टुरिजम’

नेपाली पहाडका थुम्काहरुमा बनेका टुरिजम डेस्टिनेशनहरु अहिले भारतीय पर्यटकका प्रमुख रोजाई बनिरहेका छन् । काठमाडौँको चन्द्रागिरीदेखि पोखराको साराङकोटसम्म र नवलपूरको मौलाकालीदेखि दोलखाको कालिन्चोकसम्म अहिले भारतीय पर्यटकहरु पुगिरहेका छन् । सहज पहुँचले गर्दा नेपालका ‘हिल स्टेशन’मा निर्मित पर्यटन पूर्वाधारले उनीहरुको ध्यान खिचेको छ ।

भारतीयहरु धार्मिक गतिविधिसहित बिबाह समारोह गर्न समेत नेपालमा आउने क्रम बढिरहेको छ । सितल र शान्त वातावरणसहित मनोरम प्राकृतिक दृश्यले उनीहरुलाई लोभ्याएको छ । नेपालले यसको अधिकतम् लाभ लिन सक्नुपर्ने र भारतीयहरुको बढ्दो हिल स्टेशन मोहले निकट भविष्यमा नेपालको पर्यटन क्षेत्रलाई निकै उचाई प्रदान गर्ने नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीको विश्वास छ ।

भौतिक पूर्वाधारको विकास पनि सँगसँगै

अहिले केबलकारका कारण चर्चामा रहेका ठाउँहरु विगतमा विकासका दृष्टिले पनि पछाडी थिए । तर, केबलकार सञ्चालनमा आएसँगै त्यस क्षेत्रको भौतिक विकासमा समेत राज्यको नजर परेको देखिन्छ । मान्छेहरुको आवत–जावत बढी हुने तथा पर्यटकहरुको चहलपहल बढी हुने ठाउँलाई पूर्वाधार सम्पन्न बनाउन सरकारलाई पनि दबाब पर्ने र सोही अनुसार विकासले पनि गति लिने गरेको पाइन्छ ।

विगतमा एक सय जना मान्छेले हिडडुल गर्ने क्षेत्रमा केबलकारका कारण वर्षेनी १ लाखभन्दा बढी पर्यटक पुग्न थालेपछि बाटो विस्तार, यातायातको सुविधा, खानेपानी जस्ता आधारभूत सुविधाहरुसमेत सँगसँगै पुगेका छन् । यसकारण केबलकार प्रोजेक्ट नागरिकको विकासको चाहनालाई पनि साथमै लिएर पहाडका थुम्कीहरुमा पुगिरहेका छन् भन्न सकिन्छ ।

सर्वसाधारण समेतको लगानी

केबलकार कम्पनीहरु केबल निजी कम्पनी मात्रै छैनन् । अर्थात्, केबलकार परियोजना व्यक्तिगत सम्पत्ति मात्रै होइनन् । यी त सरकारकै सम्पत्ति हुन् । अझ त्यसमाथि पब्लिक कम्पनीमा गएका आयोजनाहरुमा त सर्वसाधारणहरु पनि लगानीकर्ताका रुपमा सहभागी भएका हुन्छन् । यसको लाभ ति सबैले पाउने अवस्था बनेको छ ।

यसरी पछिल्लो दशकमा केबलकार पूर्वाधारहरु क्रमशः स्थान विशेषको ‘चिनारी’सहित मुलककै ‘सान’ बनिरहेका छन् । उदाहरणका लागि चन्द्रागिरि क्षेत्रलाई केबलकारले नयाँ उचाई दियो, केबलकारले नै मौलाकालीको चर्चा बढाइदियो । मनकामना केबलकारले त्यो क्षेत्रलाई ‘मास टुरिजम’को हब बनायो भने कालिन्चोकमा केबलकार थपिएपछि त्यस क्षेत्रको चिनारी झन चुलिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै ईभी उत्पादनको सम्भावना करिब शून्यमा झर्‍यो

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम...

NAS-IT द्वारा बजेटको स्वागत, आईटी उद्योगको विकासका लागि महत्वपूर्ण कदम

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्नको लागि ५० जनाले आवेदन...

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल

एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल...

एभरेष्ट कलर लिमिटेडले पायो नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह

एभरेष्ट कलर लिमिटेडले नेपाल गुणस्तर (NS) प्रमाण-चिन्ह प्राप्त गरेको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ४...
spot_img