भौगोलिक रुपमा नेपालको भू–वनोटलाई हिमाल, पहाड र तराई भनेर वर्गीकरण गरिन्छ । मुलुकको कुल क्षेत्रफलमध्ये पहाडले करिब ६८ प्रतिशत क्षेत्र ओगट्छ । सुन्दर भू–वनोट भएपनि पहाडी भेगमा विकासको गति सुस्त हुँदा अहिले मानिसहरु बसाई सर्ने क्रम बढ्दो छ । सहज सडक पहुँचको समेत अभावले गर्दा सुन्दर पहाडहरुले ‘दुर्गम ठाउँ’को उपमा पाइरहेका छन् ।
तर, अब समय बदलिएको छ । हिजो घण्टौ लगाएर पुग्नुपर्ने पहाडका टाकुराहरुमा अब केही मिनेटमै पुग्न सकिने भएको छ । विगतमा दिनौं हिडेर छिचोल्नुपर्ने पहाडको बाटो अहिले केही मिनेटमै उचाईमा पुगेर फर्किन सकिने अवस्था बनेको छ । यो परिवर्तनको केन्द्रमा छन्–केबलकार ।
पछिल्लो समय देशका विभिन्न गन्तव्यमा सञ्चालन भइरहेका केबलकारहरूले केवल यात्रालाई मात्रै सहज बनाएका छैनन्, पर्यटनको स्वरूप, स्थानीय उत्पादन र अर्थतन्त्रसहित रोजगारीको संरचनामा नै परिवर्तन गरिरहेका छन् ।
हाल नेपालमा मनकामना केबलकार, चन्द्रागिरि केबलकार, कालिञ्चोक केबलकार, लुम्बिनी केबलकार, बन्दीपुर केबलकार, पोखरा केबलकार (सारङकोट) र मौलाकाली केबलकार सञ्चालनमा छन् । जालपादेवी केबलकार केही महिनाभित्रै सञ्चालनमा आउँदैछ भने पाथीभरादेवी केबलकार निर्माणाधिन अवस्थामा छ ।
केबलकार युगको सुरुवात र अहिलको अवस्था
सन् १९९८ मा सञ्चालनमा आएको मनकामना केबलकार नेपालकै पहिलो व्यावसायिक केबलकार हो । चितवनको इच्छाकामनाबाट मनकामना मन्दिरसम्म पुग्ने यो केबलकारले धार्मिक पर्यटनलाई ब्यापक बनाउन निकै योगदान गरेको छ । पहिला ३ दिनसम्म लगाएर हिडेर पुग्नुपर्ने गन्तव्यमा २.७ किलोमिटर लम्बाईको कबलकार जडान भएपछि जम्मा १० मिनेटमा पूरा हुन थाल्यो । यसपछि ‘रिलिजियश टुरिजम’लाई यो केबलकारले ‘मास टुरिजम’मा बदल्यो ।
साथै, यसले सो क्षेत्रको स्थानीय अर्थतन्त्र र रोजगारीमा पनि उल्लेख्य भूमीका खेल्यो । मनकामना केबलकारले नेपालमा केबलकार लगानीको ‘ट्रेण्ड सेटर’को रुपमा काम गरेको पनि मान्न सकिन्छ ।
यसपछि काठमाडौँको चन्द्रागिरिमा केबलकार सुरु भयो । यो केबलकार छोटो समयमै राजधानी नजिकैको पर्यटन हबका रुपमा चिनिन थाल्यो । प्रतिघण्टा १ हजार जनाले सेवा लिन सक्ने चन्द्रागिरि केबलकारले ‘डे ट्रिप टुरिजम’लाई विस्फोटक रूपमा बढाएको छ । भालेश्वर महादेव मन्दिर, होटल, रिसोर्ट र सहज पहुँचले गर्दा चन्द्रागिरि केबलकारले आन्तरिक पर्यटन बढाउन निकै ठूलो योगदान दिएको छ ।
यति मात्रै होइन, चन्द्रागिरि केबलकार ‘वेडिङ डेस्टिनेशन’ समेत बनेको छ । भारतदेखि पर्यटकहरु बिबाह गर्न यहाँ आउँछन् । हालै मात्रै भारतीय धर्मगुरु श्रीश्री विधुशेखर भारती महास्वामीले भालेश्वर महादेव मन्दिरमा पूजा, अर्चना गरेका छन् । यसबाट यहाँ भारतीय पर्यटकको संख्या अझै बढ्ने देखिएको छ ।
दोलखाको कालिञ्चोक केबलकारले ‘स्नो टुरिजम’ (हिउँ खेलेर रमाउने)लाई बढवा दिएको छ । हिडेर पुग्न निकै गाह्रो हुने यो पहाडमा अब सहजै पुगेर कालिञ्चोक भगवतीको दर्शन गर्न सहज भएको छ । स्थानीय होटल, आसपासका होमस्टे र पसलको ब्यापार फस्टाएको छ । जसका कारण स्थानीय उत्पादन गाउँमै खपत हुने अवस्था बनेको छ ।
यस्तै, धार्मिक र मनोरञ्जनका लागि पछिल्लो समय लुम्बिनी केबलकार अति नै चर्चित भइरहेको छ । यहाँ एक वर्षमै २ लाखभन्दा बढी पर्यटक पुग्न थालिसकेका छन् । कुनै समयको सुनसान क्षेत्र अहिले स्वदेशीसहित भारतीय पर्यटककले खचाखच हुने गरेको छ । एक दुइ दिनको छाटो बिदाको समयमा यस क्षेत्रमा आउने आन्तरिक र भारतीय पर्यटक अहिले ब्यापक बढेका छन् ।
पोखरा (सारङकोट) केबलकारले पोखरा पुग्ने पर्यटकको बसाई अवधि लम्ब्याएको छ । नवलपुरको मौलाकाली केबलकार पनि अहिले तीव्र रूपमा चर्चामा आएको परियोजना हो । यो परियोजनाले धार्मिक पर्यटन त फस्टाएकै छ, स्थानीय युवाहरुमा पनि रोजगारीको सिर्जना भएको छ । गैँडाकोट र आसपासको ब्यापार बढाउनुका साथै, स्थानीय होटल, रेष्टुरेन्ट र साना व्यवसायको पनि वृद्धि भएको छ । मौलाकाली केबलकारले सहरका रुपमा विकास भइनसकेका ठाउँलाई पनि केबलकारले अर्थतन्त्रको मूल धारमा ल्याउन सक्छ भन्ने उदाहरण देखाएको छ ।
खासगरी, धार्मिक र मनोरञ्जन मोडेलमा सञ्चालित केबलकार चाँडै चर्चामा आउने र त्यस्ता परियोजनाहरु सफल पनि हुने विश्लेषण गरिन्छ । यसका साथै, स्थानीय होटल, रेष्टुरेन्ट चल्दा स्थानीय उत्पादनकै खपत बढ्ने भएकाले किसानलाई उत्पादनमा लाग्न पनि अझ प्रेरित गरेका उदाहरण पनि प्रशस्तै छन् । टिकटबाट सोझै करोडौं राजस्व पनि उठ्दै आएको छ ।
केबलकारले ग्रामिण अर्थतन्त्रलाई मूल प्रवाहमा जोड्न र ग्रामिण क्षेत्रमा रोजगारीको ठूला अवसरहरु सिर्जना गर्न उल्लेख्य योगदान पु¥याउनले भएकाले केबलकार परियोजनालाई ‘इकोनोमिक मल्टिप्लायर’ पनि भन्ने गरिन्छ । खासगरी, पहाडलाई बजारसँग जोड्ने, पर्यटनलाई तीव्र बनाउने र त्यसमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले केबलकारलाई ‘इकोनोमिक मल्टिप्लायर’ भन्ने गरिएको हो ।
नयाँ परियोजना पनि थपिँदै
ग्रामिण अर्थतन्त्र र रोजगारीका अवसरहरु सिर्जना गर्नमा ठूलो योगदान दिने केबलकार परियोजनाहरु थपिँदैछन् । कैलालीको चिसापानीमा बन्दै गरेको जालपादेवी केबलकार अबको दुई महिनाभित्र सञ्चालनमा आउँदैछ । आइएमई समूहले अघि बढाइरहेको यो परियोजना सम्पन्न भएपछि भारतीय पर्यटक अझै बढ्ने र त्यसले स्थानीय उत्पादन, रोजगारी र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यस्तै, ताप्लेजुङको पाथीभरामा पनि केबलकार बन्दैछ । पाथीभरा हिन्दु र किराँत समुदायको आस्थाको केन्द्र हो । नेपाली मात्रै नभई लाखौँ भारतीय तिर्थालुहरुको आस्थाको प्रतिक पनि हो । पाथीभरा पुग्ने चाहना भएपनि भौगोलिक कठिनाईका कारण मानिसहरु सहजै पुग्न नसक्ने भएकाले केबलकार निर्माण सम्पन्न भइसकेपछि भक्तजनहरुले सहजै पाथीभराको दर्शन गर्न पाउने छन् ।
आयोजनाका अनुसार अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थीहरु जाने गरि केबलकारको डिजाइन गरिएको छ । केबलकार बनेपछि झापाको बिर्तामोडदेखि काकडभिट्टा र आसपासको बाटो हुँदै हजारौँ मानिसले दैनिक आवतजावत गर्ने भएकाले सो क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा छ ।
पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुको बजारीकरणसहित ग्रामिण अर्थतन्त्रमा परियोजनामार्फत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ । ताप्लेजुङसहित पूर्वी नेपाल अलैँची, चिया, जडीबुटीका लागि प्रख्यात मानिन्छ । यीसहित तरकारी, फलफूल, दूध, घ्यूको खपत गाउँदै बढ्दा आज बिक्री नभएर खेर गइरहेका उत्पादन पर्यटनसँग जोडिएपछि आयआर्जनको प्रमुख स्रोत बन्न सक्छन् ।
यति मात्रै होइन, मुक्तिनाथ दर्शन गर्न चाहने नेपाली र भारतीय तिर्थालुहरु सहज पहुँचको अभावमा पुग्न सकिरहेका छैनन् । ‘जीवनमा एकपटक मुक्तिनाथको दर्शन गरौँ’ हिन्दु धर्मावलम्बीसहित सो क्षेत्रको प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गर्न चाहनेहरुको संख्या धेरै छ । यो आवश्यकतालाई ध्यानमा राखेर विश्व कै सबैभन्दा लामो पोखरा–मुक्तिनाथ केबलकार परियोजनाको प्रस्ताव भएको छ । ८१.०१४ किलोमिटर लम्बाईको यो केबलकार परियोजनाको डीपीआर पनि तयार भइसकेको छ । कास्कीको नयाँपुलबाट घोरेपानी–तातोपानी–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथसम्म पुग्ने यो केबलकार परियोजना निर्माण सम्पन्न भएमा यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासमेत चुलिनेछ । साथै, मुक्तिनाथ जस्तो विश्व प्रसिद्ध धार्मिक स्थलमा पुग्ने पर्यटकहरु समेत अहिलेको तुलनामा धेरै बढ्नेछन् ।
यसैगरी, कास्कीमै ‘सिकलेस केबलकार’ पनि बन्दैछ । आइएमई समूहले बनाउन लागेको यो केबलकारले त्यस क्षेत्रमा नयाँ ‘टुरिजम प्रोडक्ट’ थप्नेछ । जसले पोखरा र गण्डकी क्षेत्रमा पुग्ने पर्यटकको बसाई अवधि लम्ब्याउने छ । साथै, नयाँ रोजगारीका अवसरसमेत सिर्जना गर्नेछ ।
भारतीय पर्यटकले बढाइरहेको ‘हिल टुरिजम’
नेपाली पहाडका थुम्काहरुमा बनेका टुरिजम डेस्टिनेशनहरु अहिले भारतीय पर्यटकका प्रमुख रोजाई बनिरहेका छन् । काठमाडौँको चन्द्रागिरीदेखि पोखराको साराङकोटसम्म र नवलपूरको मौलाकालीदेखि दोलखाको कालिन्चोकसम्म अहिले भारतीय पर्यटकहरु पुगिरहेका छन् । सहज पहुँचले गर्दा नेपालका ‘हिल स्टेशन’मा निर्मित पर्यटन पूर्वाधारले उनीहरुको ध्यान खिचेको छ ।
भारतीयहरु धार्मिक गतिविधिसहित बिबाह समारोह गर्न समेत नेपालमा आउने क्रम बढिरहेको छ । सितल र शान्त वातावरणसहित मनोरम प्राकृतिक दृश्यले उनीहरुलाई लोभ्याएको छ । नेपालले यसको अधिकतम् लाभ लिन सक्नुपर्ने र भारतीयहरुको बढ्दो हिल स्टेशन मोहले निकट भविष्यमा नेपालको पर्यटन क्षेत्रलाई निकै उचाई प्रदान गर्ने नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशीको विश्वास छ ।
भौतिक पूर्वाधारको विकास पनि सँगसँगै
अहिले केबलकारका कारण चर्चामा रहेका ठाउँहरु विगतमा विकासका दृष्टिले पनि पछाडी थिए । तर, केबलकार सञ्चालनमा आएसँगै त्यस क्षेत्रको भौतिक विकासमा समेत राज्यको नजर परेको देखिन्छ । मान्छेहरुको आवत–जावत बढी हुने तथा पर्यटकहरुको चहलपहल बढी हुने ठाउँलाई पूर्वाधार सम्पन्न बनाउन सरकारलाई पनि दबाब पर्ने र सोही अनुसार विकासले पनि गति लिने गरेको पाइन्छ ।
विगतमा एक सय जना मान्छेले हिडडुल गर्ने क्षेत्रमा केबलकारका कारण वर्षेनी १ लाखभन्दा बढी पर्यटक पुग्न थालेपछि बाटो विस्तार, यातायातको सुविधा, खानेपानी जस्ता आधारभूत सुविधाहरुसमेत सँगसँगै पुगेका छन् । यसकारण केबलकार प्रोजेक्ट नागरिकको विकासको चाहनालाई पनि साथमै लिएर पहाडका थुम्कीहरुमा पुगिरहेका छन् भन्न सकिन्छ ।
सर्वसाधारण समेतको लगानी
केबलकार कम्पनीहरु केबल निजी कम्पनी मात्रै छैनन् । अर्थात्, केबलकार परियोजना व्यक्तिगत सम्पत्ति मात्रै होइनन् । यी त सरकारकै सम्पत्ति हुन् । अझ त्यसमाथि पब्लिक कम्पनीमा गएका आयोजनाहरुमा त सर्वसाधारणहरु पनि लगानीकर्ताका रुपमा सहभागी भएका हुन्छन् । यसको लाभ ति सबैले पाउने अवस्था बनेको छ ।
यसरी पछिल्लो दशकमा केबलकार पूर्वाधारहरु क्रमशः स्थान विशेषको ‘चिनारी’सहित मुलककै ‘सान’ बनिरहेका छन् । उदाहरणका लागि चन्द्रागिरि क्षेत्रलाई केबलकारले नयाँ उचाई दियो, केबलकारले नै मौलाकालीको चर्चा बढाइदियो । मनकामना केबलकारले त्यो क्षेत्रलाई ‘मास टुरिजम’को हब बनायो भने कालिन्चोकमा केबलकार थपिएपछि त्यस क्षेत्रको चिनारी झन चुलिएको छ ।












