बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी र त्रिशुली नदीमा ढुंगा, माटो र गेग्रान सहितको प्रलयकारी बाढी आयो । जसका कारण सयौले ज्यान गुमाइसकेका छन्, तटीय क्षेत्रमा लासको थुप्रो लागेको छ । अझै कति नागरिक वेपत्ता छन् भन्ने यकिन तथ्याङ्क छैन । एक्कासीको बाढीले भौतिक संरचनामा पुर्याएको क्षतिको मापन हुनै कठिन छ ।
शुक्रबार पनि भोटेकोशी नदी माथि बनेको हिमताल फुट्न सक्ने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ । यसले थप क्षतिको जोखिम बढाएको छ ।
हिमनदी कसरी बन्छन् ? कसरी भत्किन्छन् ?
हिमताल बन्ने मुख्य कारण हिमनदीको पग्लिने प्रक्रिया हो । तापक्रम बढ्दै जाँदा हिमनदीको बरफ पग्लिन्छ । यसरी पानी बढ्दै जाँदा हिमनदीले क्रमशः तालको रूप लिन थाल्छ ।
हिमतालबारे जानकार प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीका अनुसार पनि हिमालको फेदमा रहेका हिमनदी पग्लिँदै जाँदा हिमताल बन्छन् । साथै, अहिले पूराना हिमतालको आकार पनि क्रमशः बढ्ने क्रम तीव्र भइरहेको छ ।
यसरी बनेका तालहरु मानव निर्मित वा बलियो संरचना (बाँध) लगाइएको जस्तो हुँदैन । ढुंगा र माटोको सामान्य प्राकृतिक बाँधको भरमा पानी जम्ने र फैलिने हुँदा यस्तो संरचना जुनसुकै बेला फुट्ने जोखिम रहन्छ । त्यसरी बाँध फुट्यो भने तालको पानी केही मिनेटमै ठूलो वेगका साथ तलतिर (नदीको बाटो हुँदै) बग्ने डा. रेग्मीको भनाइ छ । यसलाई Glacial Lake Outburst Flood–GLOF भनिने उनी बताउँछन् ।
यसरी हिमतालबाट निस्किएको बाढीले नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, खेतीयोग्य जमिन र पर्यटन पूर्वाधारसम्मलाई ठूलो क्षति पुर्याउने भन्दै उनले यसको उदाहरण बुधबारको घटना भएको बताएका छन् ।
नेपालमा हिमताल किन बढिरहेका छन् ?
यहीँ अगस्टमा इसिमोडले प्रकाशित गरेको एक अध्ययन सामग्री अनुसार हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदी, हिउँ र जमिनभित्र जमेको स्थायी बरफ तीव्र गतिमा पग्लिरहेका छन् । त्यसरी बरफ र हिउँ पग्लिँदा हिमनदीले क्रमशः तालको रुप लिइरहेको इसिमोडले जनाएको छ ।
उक्त अध्ययन सामग्रीमा हिमनदीले तीव्र गतिमा आफ्नो बरफ गुमाइरहेको, हिउँको स्वरूप परिवर्तन भइरहेको र नदीको बहाव अनिश्चित बन्दै गएको उल्लेख छ । यसको परिणामस्वरूप हिमताल विस्फोट, हिमपहिरो, ढुंगा–माटोको बहाव र पहिरोजस्ता जोखिम बढिरहेको इसिमोडको निष्कर्ष थियो ।
हिमताल अडिएको क्षेत्र कमजोर हुने भएकाले हिमालबाट आउने हिमपहिरो वा चट्टानको ठूलो पहिरोले तालमा अचानक ठूलो छाल सिर्जना गर्ने र त्यस्तो छालले प्राकृतिक बाँध भत्काउने सांसद रेग्मी पनि बताउँछन् ।
नेपालमा कति हिमताल जोखिममा छन् ?
कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा नेपालतर्फ २ हजारभन्दा बढी हिमताल पहिचान भएका छन् । सन् २०२० मा प्रकाशित ICIMOD–UNDP अध्ययनले यी तीन नदी बेसिनमा नेपालतर्फ २ हजार ७० वटा हिमताल पहिचान गरेको थिया । यीमध्ये २१ वटा हिमताललाई अत्यन्त जोखिमयुक्त अर्थात् Potentially Dangerous Glacial Lakes का रूपमा लिइएको थियो ।
यद्यपी, हिमतालको जोखिम स्थिर नहुने बताउँदै सांसद रेग्मीले आज गरिएको अध्ययन अनुसारको निष्कर्षलाई स्थिर निष्कर्ष मान्न नहुने बताएका छन् । बढ्दो तापक्रम, हिमनदीको गति, तालको आकार, पानीको मात्रा, प्राकृतिक बाँधको अवस्था, वरपरको पहाडी भूगोल र सम्भावित हिमपहिरो वा चट्टान खस्ने क्षेत्रजस्ता कुराहरु निरन्तर परिवर्तन भइरहने भएकाले आज कम जोखिममा देखिएको ताल भविष्यमा बढी जोखिमयुक्त हुन पनि सक्ने उनको भनाइ छ ।
च्छोरोल्पादेखि इम्जासम्मको चेतावनी
नेपालमा हिमताल जोखिमको चर्चा गर्दा च्छोरोल्पा र इम्जा हिमतालको नाम लामो समयदेखि अगाडि आउँछ । च्छोरोल्पा ताल दोलखाको रोल्वालिङ उपत्यकामा करिब ४ हजार ५५० मिटर उचाइमा रहेको हिमताल हो । २०२२ मे महिनामा इसिमोडले सार्वजनिक गरेको एक सामग्रीले पनि यसलाई नेपालका उच्च जोखिमयुक्त हिमतालमध्ये एक मानेको छ ।
इम्जा हिमताल सुरुमा हिमनदी थियो । पछि नदी बढ्दै गएर सोलुखुम्बुस्थित ७ हजार ५७ मिटरको उचाईमा अवस्थित यो नदी हिमताल बन्यो । यो पनि लामो समयदेखि वैज्ञानिक निगरानीमा छ ।
२०२० सेप्टेम्बरमा इसिमोडले प्रकाशित एक तथ्याङ्क अनुसार नेपालमा सन् १९७७ यता २६ वटा हिमताल विस्फोटजन्य बाढीका घटना अभिलेखमा रहेको पाइएको छ । तीमध्ये ११ घटनाको प्रभाव सीमापारिसम्म पुगेको थियो ।
२ वर्ष अघिको थामे र अहिलेको भोटेकोशी
हिमताल बिस्फोट हुँदाको जोखिम कति अप्रत्याशित हुन सक्छ भन्ने ठूलो उदाहरण सोलुखुम्बुको थामे हो । १६ अगस्ट २०२४ मा थामे क्षेत्रमा आएको बाढीले घर, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल लगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । १३५ जना विस्थापित भए र २५ घर नष्ट भए ।
इसिमोड र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले थामे बाढीको घटना माथिल्लो क्षेत्रमा भएको चट्टानको ठूलो पहिरोबाट सुरु भएको निष्कर्ष निकालेको थियो । अध्ययनअनुसार करिब ४ हजार ९ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा त्यसले तालको प्राकृतिक बाँध भत्कायो । दुईवटा हिमतालबाट क्रमशः पानी बाहिरिँदा करिब ४ लाख ५९ हजार घनमिटर पानी बाहिरिएको अनुमान गरिएको थियो ।
थामेको उक्त घटनाले हिमताल विस्फोट एउटा मात्र जोखिम होइन भन्ने तथ्य देखाएको थियो । नदीको कटान, माटो र ढुङ्गाको बहावले पुर्याउने मानवीय तथा भौतिक क्षति जस्ता जोखिम सँगसँगै आउँछन् भन्ने प्रष्ट उदाहरण उक्त घटना थियो ।
अहिले फेरि नेपाल–चीन सिमा क्षेत्रबाट हिमनदी र गेग्रानसहितको विशाल पहिरो खस्दा भोटेकोशी र त्रिशुली नदीमा भयानक बाढी आयो । जसका कारण शुक्रबार दिउँसो १ः३० बजेसम्म सरकारले सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार ४७९ जनाको शव भेटिएको छ, सयौ मानिस अझै बेपत्ता छन् । यो घटनाबाट हजारौँ परिवार विस्थापित हुने निश्चित छ भने करिब २ खर्ब बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
यद्यपी, जोखिम अझै पनि कायमै रहेकाले मानवीय र भौतिक क्षति नबढोस् भनेर सरकारले तयारी तीव्र पारेको छ ।
हिमालको जोखिम समथर भूभागसम्म
हिमताल उच्च हिमाली क्षेत्रमा हुन्छन् । तर तिनबाट सिर्जना हुने जोखिममा मानिसहरू हिमादेखि तराइ (समथर भूभागमा बस्ने) सम्मका हुन्छन् । किनकी, हिमतालबाट निस्किएको पानी नदीको प्राकृतिक बाटो पछ्याउँदै तलतिर बग्छ । यस क्रममा बाटोमा पर्ने मानव बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र खेतीयोग्य जमिन जोखिममा पर्छन् । बुधबारको बाढीले पनि रसुवा, धादिङ जस्ता हिमाली र पहाडी भूभागसहित समथर भूभाग रहेको चितवनमा समेत असर गरेको छ ।
२०२२ मे महिनाकै रिपोर्टमा इसिमोडले नेपालमा पछिल्ला दशकमा नदी किनारमा सडक, जलविद्युत् आयोजना र बस्तीको विस्तार तीव्र भएको र हिमतालको जोखिम बढिरहेको समयमा त्यही जोखिम बोक्ने नदी उपत्यकामा भौतिक पूर्वाधारको घनत्व बढिरहेको बारे सचेत गराइएको थियो ।











