Friday, August 28, 2026
spot_img
spot_img

नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा

spot_img

बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी र त्रिशुली नदीमा ढुंगा, माटो र गेग्रान सहितको प्रलयकारी बाढी आयो । जसका कारण सयौले ज्यान गुमाइसकेका छन्, तटीय क्षेत्रमा लासको थुप्रो लागेको छ । अझै कति नागरिक वेपत्ता छन् भन्ने यकिन तथ्याङ्क छैन । एक्कासीको बाढीले भौतिक संरचनामा पुर्‍याएको क्षतिको मापन हुनै कठिन छ ।

शुक्रबार पनि भोटेकोशी नदी माथि बनेको हिमताल फुट्न सक्ने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ । यसले थप क्षतिको जोखिम बढाएको छ ।

हिमनदी कसरी बन्छन् ? कसरी भत्किन्छन् ?

हिमताल बन्ने मुख्य कारण हिमनदीको पग्लिने प्रक्रिया हो । तापक्रम बढ्दै जाँदा हिमनदीको बरफ पग्लिन्छ । यसरी पानी बढ्दै जाँदा हिमनदीले क्रमशः तालको रूप लिन थाल्छ ।

हिमतालबारे जानकार प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीका अनुसार पनि हिमालको फेदमा रहेका हिमनदी पग्लिँदै जाँदा हिमताल बन्छन् । साथै, अहिले पूराना हिमतालको आकार पनि क्रमशः बढ्ने क्रम तीव्र भइरहेको छ ।

यसरी बनेका तालहरु मानव निर्मित वा बलियो संरचना (बाँध) लगाइएको जस्तो हुँदैन । ढुंगा र माटोको सामान्य प्राकृतिक बाँधको भरमा पानी जम्ने र फैलिने हुँदा यस्तो संरचना जुनसुकै बेला फुट्ने जोखिम रहन्छ । त्यसरी बाँध फुट्यो भने तालको पानी केही मिनेटमै ठूलो वेगका साथ तलतिर (नदीको बाटो हुँदै) बग्ने डा. रेग्मीको भनाइ छ । यसलाई Glacial Lake Outburst Flood–GLOF भनिने उनी बताउँछन् ।

यसरी हिमतालबाट निस्किएको बाढीले नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना, खेतीयोग्य जमिन र पर्यटन पूर्वाधारसम्मलाई ठूलो क्षति पुर्‍याउने भन्दै उनले यसको उदाहरण बुधबारको घटना भएको बताएका छन् ।

नेपालमा हिमताल किन बढिरहेका छन् ?

यहीँ अगस्टमा इसिमोडले प्रकाशित गरेको एक अध्ययन सामग्री अनुसार हिन्दुकुश–हिमालय क्षेत्रमा हिमनदी, हिउँ र जमिनभित्र जमेको स्थायी बरफ तीव्र गतिमा पग्लिरहेका छन् । त्यसरी बरफ र हिउँ पग्लिँदा हिमनदीले क्रमशः तालको रुप लिइरहेको इसिमोडले जनाएको छ ।

उक्त अध्ययन सामग्रीमा हिमनदीले तीव्र गतिमा आफ्नो बरफ गुमाइरहेको, हिउँको स्वरूप परिवर्तन भइरहेको र नदीको बहाव अनिश्चित बन्दै गएको उल्लेख छ । यसको परिणामस्वरूप हिमताल विस्फोट, हिमपहिरो, ढुंगा–माटोको बहाव र पहिरोजस्ता जोखिम बढिरहेको इसिमोडको निष्कर्ष थियो ।

हिमताल अडिएको क्षेत्र कमजोर हुने भएकाले हिमालबाट आउने हिमपहिरो वा चट्टानको ठूलो पहिरोले तालमा अचानक ठूलो छाल सिर्जना गर्ने र त्यस्तो छालले प्राकृतिक बाँध भत्काउने सांसद रेग्मी पनि बताउँछन् ।

नेपालमा कति हिमताल जोखिममा छन् ?

कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा नेपालतर्फ २ हजारभन्दा बढी हिमताल पहिचान भएका छन् । सन् २०२० मा प्रकाशित ICIMOD–UNDP अध्ययनले यी तीन नदी बेसिनमा नेपालतर्फ २ हजार ७० वटा हिमताल पहिचान गरेको थिया । यीमध्ये २१ वटा हिमताललाई अत्यन्त जोखिमयुक्त अर्थात् Potentially Dangerous Glacial Lakes का रूपमा लिइएको थियो ।

यद्यपी, हिमतालको जोखिम स्थिर नहुने बताउँदै सांसद रेग्मीले आज गरिएको अध्ययन अनुसारको निष्कर्षलाई स्थिर निष्कर्ष मान्न नहुने बताएका छन् । बढ्दो तापक्रम, हिमनदीको गति, तालको आकार, पानीको मात्रा, प्राकृतिक बाँधको अवस्था, वरपरको पहाडी भूगोल र सम्भावित हिमपहिरो वा चट्टान खस्ने क्षेत्रजस्ता कुराहरु निरन्तर परिवर्तन भइरहने भएकाले आज कम जोखिममा देखिएको ताल भविष्यमा बढी जोखिमयुक्त हुन पनि सक्ने उनको भनाइ छ ।

च्छोरोल्पादेखि इम्जासम्मको चेतावनी

नेपालमा हिमताल जोखिमको चर्चा गर्दा च्छोरोल्पा र इम्जा हिमतालको नाम लामो समयदेखि अगाडि आउँछ । च्छोरोल्पा ताल दोलखाको रोल्वालिङ उपत्यकामा करिब ४ हजार ५५० मिटर उचाइमा रहेको हिमताल हो । २०२२ मे महिनामा इसिमोडले सार्वजनिक गरेको एक सामग्रीले पनि यसलाई नेपालका उच्च जोखिमयुक्त हिमतालमध्ये एक मानेको छ ।

इम्जा हिमताल सुरुमा हिमनदी थियो । पछि नदी बढ्दै गएर सोलुखुम्बुस्थित ७ हजार ५७ मिटरको उचाईमा अवस्थित यो नदी हिमताल बन्यो । यो पनि लामो समयदेखि वैज्ञानिक निगरानीमा छ ।

२०२० सेप्टेम्बरमा इसिमोडले प्रकाशित एक तथ्याङ्क अनुसार नेपालमा सन् १९७७ यता २६ वटा हिमताल विस्फोटजन्य बाढीका घटना अभिलेखमा रहेको पाइएको छ । तीमध्ये ११ घटनाको प्रभाव सीमापारिसम्म पुगेको थियो ।

२ वर्ष अघिको थामे र अहिलेको भोटेकोशी

हिमताल बिस्फोट हुँदाको जोखिम कति अप्रत्याशित हुन सक्छ भन्ने ठूलो उदाहरण सोलुखुम्बुको थामे हो । १६ अगस्ट २०२४ मा थामे क्षेत्रमा आएको बाढीले घर, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल लगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । १३५ जना विस्थापित भए र २५ घर नष्ट भए ।

इसिमोड र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले थामे बाढीको घटना माथिल्लो क्षेत्रमा भएको चट्टानको ठूलो पहिरोबाट सुरु भएको निष्कर्ष निकालेको थियो । अध्ययनअनुसार करिब ४ हजार ९ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा त्यसले तालको प्राकृतिक बाँध भत्कायो । दुईवटा हिमतालबाट क्रमशः पानी बाहिरिँदा करिब ४ लाख ५९ हजार घनमिटर पानी बाहिरिएको अनुमान गरिएको थियो ।

थामेको उक्त घटनाले हिमताल विस्फोट एउटा मात्र जोखिम होइन भन्ने तथ्य देखाएको थियो । नदीको कटान, माटो र ढुङ्गाको बहावले पुर्‍याउने मानवीय तथा भौतिक क्षति जस्ता जोखिम सँगसँगै आउँछन् भन्ने प्रष्ट उदाहरण उक्त घटना थियो ।

अहिले फेरि नेपाल–चीन सिमा क्षेत्रबाट हिमनदी र गेग्रानसहितको विशाल पहिरो खस्दा भोटेकोशी र त्रिशुली नदीमा भयानक बाढी आयो । जसका कारण शुक्रबार दिउँसो १ः३० बजेसम्म सरकारले सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार ४७९ जनाको शव भेटिएको छ, सयौ मानिस अझै बेपत्ता छन् । यो घटनाबाट हजारौँ परिवार विस्थापित हुने निश्चित छ भने करिब २ खर्ब बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

यद्यपी, जोखिम अझै पनि कायमै रहेकाले मानवीय र भौतिक क्षति नबढोस् भनेर सरकारले तयारी तीव्र पारेको छ ।

हिमालको जोखिम समथर भूभागसम्म

हिमताल उच्च हिमाली क्षेत्रमा हुन्छन् । तर तिनबाट सिर्जना हुने जोखिममा मानिसहरू हिमादेखि तराइ (समथर भूभागमा बस्ने) सम्मका हुन्छन् । किनकी, हिमतालबाट निस्किएको पानी नदीको प्राकृतिक बाटो पछ्याउँदै तलतिर बग्छ । यस क्रममा बाटोमा पर्ने मानव बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र खेतीयोग्य जमिन जोखिममा पर्छन् । बुधबारको बाढीले पनि रसुवा, धादिङ जस्ता हिमाली र पहाडी भूभागसहित समथर भूभाग रहेको चितवनमा समेत असर गरेको छ ।

२०२२ मे महिनाकै रिपोर्टमा इसिमोडले नेपालमा पछिल्ला दशकमा नदी किनारमा सडक, जलविद्युत् आयोजना र बस्तीको विस्तार तीव्र भएको र हिमतालको जोखिम बढिरहेको समयमा त्यही जोखिम बोक्ने नदी उपत्यकामा भौतिक पूर्वाधारको घनत्व बढिरहेको बारे सचेत गराइएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट...

लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग...

होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सस्तियो सुन, कति छ भाउ ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...