नेपालमा विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गर्ने सुरुवाती कम्पनीहरुमध्ये अरुण भ्याली हाइड्रोपावर समूह अग्रस्थानमा आउँछ । यस समूहले प्रवद्र्धन गरेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी विद्युत उत्पादन अनुमति पत्र प्राप्त गर्ने ९ औ. कम्पनी हो । यस समूह अन्तर्गत अरुण भ्याली हाइड्रोपावर कम्पनी, रिडी पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र ईङ्वा हाइड्रोपावर कम्पनी गरी पाँच वटा कम्पनीहरु धितो पत्र वजारमा सूचिकृत रहेका छन । सूचिकृत हुन बाँकी तथा प्राईवेट लिमिटेड कम्पनीहरुको संख्या ठुलो छ । यस समूहले हालसम्म १० वटा मेगावाट जलविद्युत आयोजनाबाट ११६.४० मेगावाट तथा ४ वटा सोलार आयोजनाबाट १४.५ मेगावाट विद्युत उत्पादन गरी आय आर्जन गरिरहेका छन । साथै १०१.१ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु तथा ८.० मेगावाट क्षमताको सोलार आयोजनाहरु निर्माणाधिन छन् ।
यस समूह अन्तर्गत रहेको रिडी पावर कम्पनी धितोपत्र वजारमा सूचीकृत भई कारोवार गर्ने हाइड्रोपावर कम्पनीहरु मध्येकै एक प्रमुख कम्पनी हो । रिडी पावर कम्पनी दुईवटा सूचिकृत कम्पनीहरु एक आपसमा मर्जर गरेर इतिहास रचेको कम्पनी हो । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २०५७ साल असोजमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको थियो भने २०६५ साउनमा पब्लिक कम्पनी बनेको थियो । यस कम्पनीले साविकको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभेर २०७९ असार ३१ गतेबाट रिडी पावर कम्पनी लिमिटेडको नाममा एकिकृत कारोबार सुरु गरेको हो । हाल रिडी पावरको चुक्ता पुँजी २ अर्ब ३२ करोड रहेको छ भने कम्पनीमा एक लाख बढी शेयरधनी रहेका छन् ।

हाल रिडी पावर कम्पनीले निम्न ४ वटा आयोजना निर्माण सम्पन्न गरि विद्युत बिक्री गरिरहेको छ ।
रिडी खोला साना जलविद्युत अयोजना (२.४ मे.वा.)
कम्पनीले पाल्पा तथा गुल्मी जिल्लाहरुको सिमाना भई बहने रिडी खोलामा २,४०० किलोवाट क्षमताको रिडी खोला जलविद्युत आयोजना निर्माण सम्मन्न गरी २०६६ कार्तिक १० देखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना निर्माणको लागि लिएको सम्पूर्ण कर्जा चुक्ता भई अहिले आयोजना ऋणमुक्त अवस्थामा छ । रिडीखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको १५ वर्ष पुरा गरिसकेकोछ । रिडीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको समयमा करिब १६ घण्टासम्मको लोडसेडिङ रहेको बेलामा गुल्मी तथा पाल्पा जिल्लाहरु लोडसेडिङ मुक्त थिए ।
रैराङ खोला साना जलविद्युत परियोजना (०.५०० मेगावाट)
यो साविकको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो । धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा अवस्थित रैराङ खोलाबाट ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना निर्माण गरि २०६१ साल देखि व्यवसायिक उत्पादन हुदै आएको छ । यो आयोजना १ मेगावाट भन्दा कम रहेकोले निश्चित अवधिसम्म पश्चात यस आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्दैन । यो आयोजना पनि ऋणमुक्त भईसकेको छ ।
बुटवल सौर्य परियोजना (८.५ मे.वा.)
कम्पनीले दोस्रो आयोजनाको रुपमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १ मा ८,५०० किलोवाट क्षमताको बुटवल सौर्य आयोजना निर्माण गरि २०७७ साल कार्तिक १५ गतेबाट व्यवसायिक उत्पादन गर्दै आएको छ । यो आयोजना जलबिद्युत आयोजनाहरु जस्तो नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने छैन भने यस आयोजनाको विद्युत बिक्री सम्झौता नेपाल विद्युत प्राधिकरण सँग २५ बर्षका लागि भएको छ । यस आयोजनाबाट प्राप्त हुने विद्युत प्रतिकिलोवाट घण्टा ७.३० को स्थिर दरले बिक्री हुँदै आएको छ ।
इवा खोला परियोजना (९.९ मे.वा.)
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाहरुको सीमाना भई बहने ईवा खोलामा ९,९०० किलोवाट क्षमताको ईवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७६ असोज २० गतेदेखि व्यवसायीक उत्पादन गर्दै आएको छ । २०८० जेष्ठ ३२ गतेदेखि आषाढ ३ गतेसम्ममा पूर्वी नेपालमा आएको भिषण वर्षपछि गएको पहिरोले यस आयोजनाको बाँध र विद्युतगृह क्षेत्रमा बाढी आई नोक्सानी भएको थियो । सो कारण यस आयोजनाले गत वर्ष १० महिनासम्म विद्युत उत्पादन गर्न सकेको थिएन । कम्पनीको आय घटेको कारणले गत वर्ष कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न सकेन । यो कुरा कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रयमासीक प्रतिवेदनमा उल्लेख गरेको छ । बैंकबाट थप कर्जा लिएर आयोजनाको पुनः मर्मत गरी २०८१ जेष्ठ १५ गतेदेखि नियमितरुपमा विद्युत उत्पादन भईरहेको छ । विद्युत बिक्रीबाट प्राप्त हुने आयबाट बैंकको कर्जाको व्याज र किस्ता भुक्तान गरिरहेको छ ।
साझा पावरमा शतप्रतिशत स्वामित्व
रिडी पावर कम्पनीको सहायक कम्पनीको रुपमा साझा पावर डेभलपमेन्ट कम्पनी रहेको छ । यस कम्पनीमा रिडी पावरको शतप्रतिशत स्वामित्व रहेको छ । साझा पावर कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अवस्थित बलेफी नदीमा २२.५ मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यस आयोजनाको विजुली खरिद बिक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ माघमा सम्झौता भएको छ । २०८१ साउनबाट यस आयोजना निर्माण सुरु भएको छ र आगामी दुई वर्ष भित्र सम्पन्न भई विद्युत उत्पादन हुनेछ ।

यस आयोजनाको कुल लागत ४ अर्ब ४० करोड रहेको छ । कुल लागत मध्ये ६७.२३ प्रतिशतले हुने २ अर्ब ९६ करोड बैकको कर्जा लगानी रहेको छ भने १ अर्ब ४४ करोड कम्पनीको स्वपूँजी लगानी हुनेछ । कूल स्वपूँजी लगानी मध्येवाट रिडी पावर लिमिटेडले ५५ प्रतिशत अर्थात् ७८ करोड लगानी गर्ने छ भने अन्य रणनितिक साझेदार कम्पनीबाट २५ प्रतिशत अर्थात् ३७ करोड लगानी गर्ने छन् । बाँकी रकम साझा पावर कम्पनीले सर्वसाधारणका लागी शेयर निष्काशन गरी लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यस आयोजनामा लगानी गर्नको लागि रिडी पावरले १ः०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेर ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ संकलन गरिसकेको छ । रिडी पावरले यस आयोजनामा लगानी गर्नको लागि यस अघि नै हकप्रद निष्काशन गरेर रकम जुटाईसकेकोले अब लगानीकर्ताले थप रकम हाल्नु नपर्ने कम्पनीका अध्यक्ष कुवेरमणि नेपाल बताउछन् । उनका अनुसार रिडी पावरका शेयर लगानीकर्ताले थप रकम लगानी नगरी २२.५ मेगावाटको सो बलेफी आयोजनाले दिने लाभ पाउन सक्ने छन् ।
अध्यक्ष नेपालका अनुसार तल्लो बलेफि जलविद्युत आयोजनाबाट बार्षिक १०५ गिगावाट घण्टा विद्युत शक्ति उत्पादन हुनेछ । सो विद्युत बिक्रीबाट कम्पनीलाई पहिलो वर्षमा ६२.३० करोड आम्दानी हुनेछ । आयोजनाको विद्युत विक्री दर वर्षायामका लागि रु. ४.८० र सुख्यायामका लागि रु. ८.४० तय भएको छ । यो मूल्य दर ६÷६ महिनाको हुने गरी मङ्सिर १६ देखि जेष्ठ १५ सम्मलाई सुख्यायाम र जेष्ठ १६ देखि मङ्सिर १५ सम्मलाई वर्षायाम कायम भएको छ । यो आयोजनाले ३ प्रतिशतका दरले ८ वर्ष सम्मका लागि मूल्य बृद्धि दर प्राप्त गर्नेछ । बैंकबाट लिएको परियोजना ऋण कर्जा १२ वर्ष भित्र चुक्ता भुक्तानी गर्ने योजना रहेको उनको भनाई छ ।
आयोजनाको ऋण फिर्ता अवधि ७.८० वर्षको रहेको छ । आयोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ११.८८ प्रतिशत रहेको छ । यस आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको पहिलो वर्ष देखि नै शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने ठानिएको अध्यक्ष नेपाल बताउछन् ।
उनी भन्छन् ‘यो आयोजना अबको दुई वर्ष भित्र निर्माण सम्पन्न भई शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्ने देखिन्छ । यी सबै आयोजनाहरुलाई एकत्र गरेर हेर्दा रिडी पावर कम्पनी लिमिटेडको मातहतमा जम्मा ३५.३ मेगावाटका जलविद्युत र ८.५ मेगावाटको सोलार आयोजना समेत गर्दा जम्मा ४३.८ मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको कम्पनी बनेको छ ।’
कृषिमा पनि लगानी
यस कम्पनीले हालै नेपाल विद्युत प्राधिकरणले माग गरेको टेण्डरमा भाग लिएर विभिन्न ठाँउमा सोलारका आयोजनाहरुको लागी टेण्डर हालेको छ । कम्पनीले विद्युतको अलावा कृषि क्षेत्रमा पनि लगानी गरेको छ । कम्पनीको लगानीमा “एग्रोभिजन फार्मिङ एण्ड रिसर्च कम्पनी लिमिटेड” नामको सहायक कम्पनी स्थापना भएको छ । उक्त कम्पनीको अगुवाईमा विभिन्न जलविद्युत आयोजनाहरुमा रहेको खाली जमिनमा विभिन्न जातका फलफूल विरुवाहरुको प्रवद्धन गर्ने तथा बुटवल सौर्य बिद्युत आयोजना क्षेत्रमा वाख्रा पालन कार्य भइरहेको छ । सौर्य विद्युत आयोजनामा हरेक महिना काटेर फाल्नु पर्ने घाँस वाख्राहरुको लागि आहार बनेको छ । कम्पनीले इवाखोला आयोजना क्षेत्रमा जलविद्युत आयोजना निर्माण पश्चात वाँकी रहेको वाँझो जग्गाबाट आम्दानी लिन तथा हरियाली कायम कम्पनी आफैले नर्सरी स्थापना गरेको छ । इवाखोला आयोजना क्षेत्रमा ३०० एभाकाडो, २०० कफि तथा करिब १०० दालचिनिका विरुवाहरु हुर्किसकेको छ । कम्पनीले स्थापना गरेको नर्सरीवाट स्थानीय तथा अन्य जलविद्युत आयोजनाहरुलाई पनि विरुवा उपलब्ध गराएको छ ।
भावी योजना
वायुशक्ति, शौर्यशक्ति वा अन्य विकसीत प्रविधिसँग सम्बन्धित अनुसन्धान कार्य गर्नुका साथै संभावना देखिएका आयोजनाहरु तर्जूमा गरी विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । त्यस्तै विद्युत प्रसारणका लागि विभिन्न भोल्टेजका ट्रान्समिसन लाईनहरुको अध्ययन, निर्माण तथा मर्मत संधार सम्बन्धी कामहरु गर्ने कम्पनीको भावी योजना छ । विभिन्न कम्पनीहरुले जलविद्युत आयोजनाहरु निर्माण गरि सञ्चालन गर्न अफ्टेरोमा परेका वा अन्य कुनै पनि हिसावले विक्री गर्न चाहेका आयोजनाहरुको खोजी गरि यस कम्पनीमा एक्वायर गर्ने कम्पनीको अगामी योजना छ ।
त्यसैगरि कम्पनीको सहायक कम्पनी साझा पावर मार्फत तल्लो सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अबस्थित बलेफि खोलामा तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्ने हुँदा सो आयोजना भन्दा तल पर्ने गरि तल्लो बलेफि आयोजनाको टेलरेसको पानि उपयोग गर्ने गरि सुनकोसी नदी र बलेफि नदी मिसिने स्थानमा बिद्युत गृह रहने गरि २५ मेगावाट सम्मको क्यसकेड आयोजना निर्माण गर्न प्रारम्भिक हिसाबले सम्भव हुने कम्पनीको निष्कर्ष छ । आगामी दिनमा कम्पनीले सो आयोजना निर्माण गर्न सक्ने देखिन्छ ।
कम्पनीका अनुसार दीर्घकालिन सोच राखेर लगानी गर्न चाहनेहरुका लागी रिडी पावर कम्पनीको शेयर एक आकर्षक लगानी हुन सक्छ ।
लाभांश विवरण
साविकको रिडी हाइड्रोपार डेभलपमेन्ट कम्पनीको लाभांश
आर्थिक वर्ष २०७०/७१ मा १०.५२६ प्रतिशत
आर्थिक वर्ष २०७१/७२ मा १०.५२६ प्रतिशत
आर्थिक वर्ष २०७२/७३ मा ६.३१५ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ मा ६.३१५ प्रतिशत
आर्थिक वर्ष २०७४/७५ मा ५.३१५ प्रतिशत
आर्थिक वर्ष २०७५/७६ मा ५.२६ प्रतिशत
आर्थिक वर्ष २०७६/७७ मा ५.२६ प्रतिशत
आर्थिक वर्ष २०७७/७८ मा १२.६ प्रतिशत
साविकको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश विवरण
आर्थिक वर्ष २०७७/७८ मा १२.६ प्रतिशत
हालको रिडी पावर कम्पनीको लाभांश विवरण
आर्थिक वर्ष २०७८/७९ मा ४२.१ प्रतिशत









