नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा थप दुई भारतीय कम्पनीको इन्ट्री भएको छ । यस आयोजनामा भारतका दुई सरकारी कम्पनी जोडिएका हुन् ।
नेपाल सरकारले यो आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआर (गान्धी मल्लिकार्जुन राओ)लाई दिएको थियो। तर जीएमआरले १७ वर्षसम्मसम्म आयोजना निर्माणको लागि लगानी जुटाउन सकेको थिएन। लगानी जुटाउन नसकेपछि जीएमआरले आयोजनाको बहुमत शेयर भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन) र इन्डियन रिन्यूवेवल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा) लाई बेचेको छ । यी दुवै कम्पनी भारत सरकारको स्वामित्व भएको कम्पनी हुन् ।
हिजो सोमबार भारतमा नै जीएमआर, एसजेभीएन र इरेडाबीच सम्झौता भएको हो । इरेडाले सम्झौताको तस्विर सार्वजनिक गर्दै यस सम्झौताले नेपालको जलविद्युत क्षेत्रको विकासलाई तीव्र पार्ने मात्र नभई क्षेत्रीय ऊर्जा सहकार्यलाई पनि नयाँ उचाईमा पुर्याउने बताएको छ। इरेडाको गत जुलाईमा बसेको संचालक समितिको बैठकले यस आयोजनामा लगानी स्वीकृति दिएको थियो ।
जीएमआरले कति कति शेयर बेचेको प्रष्ट नभएपनि आयोजनाको बहुमत शेयर बिक्री गरेको बताईएको छ । आयोजनामा इरेडाले २ अर्ब ९० करोड भारतीय रुपैयाँ लगानी गर्ने तयारी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
सरकारले जीएमआरलाई पटक पटक लगानी जुटाउनको लागि समय थप्दै गएको थियो । यसबारे सर्वोच्चमा मुद्दा परेपछि अदालतले अन्तिम अवसर दिन र त्यसपछि म्याद नथप्न आदेश दिएको थियो । अन्तिम अवसर दिंदा पनि जीएमआरले लगानी जुटाउन नसकेपछि आयोजनाको शेयर बेचेको हो ।
इरेडाको शेयर मूल्यमा उछाल
यस सम्झौतापछि भारतीय शेयरबजारमा इरेडाको शेयर मूल्यमा उछाल आएको छ। मनि कन्ट्रोलका अनुसार कम्पनीको शेयर मूल्य ६.५ प्रतिशत बढेको छ। इरेडामा भारत सरकारको बहुमत लगानी छ ।
बंगलादेश र भारतमा बिजुली निर्यात
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद बंगलादेश र भारतले खरिद गर्ने गरि सम्झौता भईसकेको छ । ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले खरिद गर्ने र बाँकि भारतले खरिद गर्ने सहमति भईसकेको छ ।
आयोजनाबाट नेपाल सरकारले १०८ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्नेछ । बाँकि बिजुली भने भारतले खरिद गर्ने छ ।सम्झौता अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ । निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्ट (आजको डलरको मूल्य अनुसार ८ रुपैयाँ ७७ पैसा) मा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ । उक्त निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने भएको छ । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् लैजाने विषयलाई रणनीतिक महत्वका साथ समावेश गरेको छ ।कूल रु एक खर्ब ४० अर्ब लागत अनुमान गरिएको आयोजनाले सुर्खेत, अछाम र दैलेखलाई प्रभावित गर्दछ ।









