निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी ‘कोलकाता’मा गर्ने भएको छ । कम्पनीले अक्टोबारबाट काठमाडौँ–कोलकता सिँधा पुनः उडान सुरु गर्न लागेको हो ।
कोलकाता–काठमाडौँ सिधा हवाई सेवा सञ्चालन गर्ने एकमात्र नेपाली विमान सेवा कम्पनीका रुपमा रहेको बुद्ध एयर काठमाडौँ–कोलकता रुटमा हवाई उडान गर्ने पनि एयर एक मात्र कम्पनी हुनेछ ।
सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहिबार उडान सञ्चालन हुनेछ । काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । एटीआर–७२ जहाजबाट हुने यस उडानको समय लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।
यात्रुको समय र पैसाको वचत होस् भन्ने हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको छ । नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले सञ्चालन गरिरहेको छ ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास बुध्द एयरको रहेको छ ।
बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ ।
यसअघि बुद्ध एयरले वि.सं. २०७६ को बैशाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो ।











