काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’ जारी रहँदा व्यवसायीहरुलाई महाविपत्ति आइपरेको छ । चिनियाँ क्षेत्रमा हिमपहिरो खसेर नदी थुनिएको र त्यसरी थुनिएको नदी एक्कासी फुट्दा तल्लो क्षेत्रमा भिषण बाढी आउँदा व्यवसायीहरुले मगाएका सवारी साधनदेखि दैनिक उपभोग्य र विभिन्न सामग्रीहरु बगाएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण करिब ८ सय वटा सवारी साधनसहित सयभन्दा बढी कन्टेनर बगाएको छ ।
एमएडब्लयू ग्रुपले मगाएका ८० भन्दा बढी विद्युतीय सवारी साधनहरु बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ । कम्पनीका प्रतिनिधिका अनुसार भन्सार यार्ड र त्यस वरपर राखिएका ८० भन्दा बढी गाडीहरु बाढीले बगाएको हो ।
यस्तै, एमजीका १८० युनिट, बिवाईडीका २०० हाराहारी, ओमोडाका ६० भन्दा बढी र फोटोनका ५० भन्दा बढी गाडीहरु बगाएको छ । अरु कम्पनीहरुले पनि दशैँ तिहारलाई लक्षित गरी मगाएका गाडीहरु बाढीले बगाएको छ ।
‘अहिलेसम्म ८ सय हाराहारी गाडीहरु बगाएको पाइएको छ, यो यकिन तथ्याङ्क चाहिँ होइन’ भन्सार स्रोतले पनि पुष्टि गर्दै भन्यो, ‘झण्डै २ सय वटा त कन्टेनर नै बगाएको खबर छ ।’











