लक्जरियस विद्युतीय गाडी दीपलको ब्राण्ड एम्बासडरमा पारस खड्का नियुक्त भएका छन् । आज आयोजित एक कार्यक्रममा चिनियाँ चाङ्गनको उत्पादक दीपल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि अटोले नेपाल क्रिकेट संघका सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्कालाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।
खड्काले आफू अंक ७ सँग कुनै न कुनै रुपमा जोडिएको हुनाले दीपल एस–०७ ले आफूलाई तानेको बताएका छन् । उनले आफू नेपाली क्रिकेट टिमको ७औँ कप्तान भएको, आफूले ७७ नम्बरको जर्सी लगाएर झण्डै २ दशकसम्म नेपाली राष्ट्रिय टिमबाट क्रिकेट खेलेको लगायतका कारणले आफूसँग अंक ७ कुनै न कुनै रुपमा जोडिइरहेको बताए ।
सँगै, टेष्ट ड्राइभको क्रममा नै दीपल एस–०७ गाडी आरामदायी, लक्जरियस र निकै प्राविधिक फिचर्सहरुले भरिपूर्ण पाएको खड्काको भनाइ छ । त्यसै कारणले आफूले कम्पनीले राखेको प्रस्ताव स्वीकार गरेर ब्राण्ड एम्बासडर बन्न तयार भएको उनले बताएका छन् ।
खड्काले केही हप्तादेखि दैनिक दीपल एस–०७ मा यात्रा गरिरहेको पनि जानकारी गराएका छन् ।













