नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको छ। प्राविधिक समस्या देखिएपछि बोर्डका कर्मचारीले वेबसाइट अपडेट गर्न पाएका छैन ।
जसका कारण राजीनामा दिईसकेका बोर्ड अध्यक्ष सन्तोष कुमार श्रेष्ठको फोटो वेबसाइटबाट हट्न सकेको छैन। साथै २०८३ वैशाख २ गते आईपीओ अनुमति पाएका ३ वटा कम्पनीको विवरण पनि वेबसाइटमा अपडेट हुन सकेको छैन ।
बोर्ड स्रोतका अनुसार गत हप्ता पानी परेको समयमा चट्याङ लागेर बोर्डको नेटवर्क सिस्टममा क्षति पुगेको छ । त्यस कारण वेबसाइटमा एक्सेस गुमेको बताईएको छ। चट्याङ परेर क्षति पुगेको उपकरण नयाँ खरिद गरेर फेर्नु पर्ने भएको स्रोतको भनाई छ।
तर बोर्डमा अध्यक्ष नहुँदा खरिद समबन्धि निर्णय पनि हुन सकेको छैन । आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बोर्डको संचालक समितिमा अर्थ मन्त्रालयमा प्रतिनिधित्व गर्ने मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको अध्यक्षतामा आज साँझ बोर्ड बैठक बस्न लागेको हो। आज बोर्ड अध्यक्षले यसबारे निर्णय गर्ने वा निर्णयको अधिकार कार्यकारी निर्देशकहरुलाई दिने बताईएको छ । त्यसपछि बल्ल नयाँ उपकरण खरिद हुने र वेबसाइट अपडेट हुने बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि धितोपत्र सम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था अनुसार खत्री स्वत बोर्ड अध्यक्ष भएका हुन् ।
ऐनको दफा ७ को उपदफा ८ मा अध्यक्षको पद रिक्त भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ। सोहि अनुसार अब अर्को अध्यक्ष नियुक्त नहुँदा सम्म खत्रीले बोर्ड अध्यक्षको रुपमा काम गर्ने छन्।













