आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बोर्डको संचालक समितिमा अर्थ मन्त्रालयमा प्रतिनिधित्व गर्ने मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको अध्यक्षतामा आज साँझ बोर्ड बैठक बस्न लागेको हो।
बोर्डका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए। त्यसपछि धितोपत्र सम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था अनुसार खत्री स्वत बोर्ड अध्यक्ष भएका हुन् ।
ऐनको दफा ७ को उपदफा ८ मा अध्यक्षको पद रिक्त भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ। सोहि अनुसार अब अर्को अध्यक्ष नियुक्त नहुँदा सम्म खत्रीले बोर्ड अध्यक्षको रुपमा काम गर्ने छन्।
आज बोर्ड बैठकको लागि अध्यक्षले आफ्नो अधिकार विभिन्न कार्यकारी निर्देशकहरुलाई प्रत्यायोजन गर्ने एजेण्डा राखिएको स्रोतले जनाएको छ। खत्रीले नियमित रुपमा बोर्डमा आएर काम गर्न नभ्याउने भएकोले उनले आफ्नो अधिकार कार्यकारी निर्देशकहरुलाई प्रत्यायोजन गर्न सक्ने छन्।
खत्री आगामी आर्थिक वर्षको बजेट लेखन टिममा पनि छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी जेठ १५ गते प्रस्तुत गर्ने बजेट भाषण लेखन समितिको संयोजक राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उत्तर खत्रीलाई तोकेका छन्।
सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन गरिसकेको छ ।













