सरकारले सवारी प्रदूषण मापदण्ड स्तरोन्नति गरेको छ । यस अघिको मापदण्डको सट्टा अब ‘सवारी प्रदूषण मापदण्ड २०८२’ लागू भएको हो । जस अन्तर्गत नेपालमा आयात हुने सवारीसाधनमा EURO-6 मापदण्ड लागू भएको छ ।
सवारी प्रदूषण मापदण्ड २०८२ अनुसार अब चार पाङ्ग्रे सवारी साधनका लागि EURO-6 मापदण्ड लागू भएको छ । दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारीसाधनमा EURO-5 मापदण्ड लागू भएको छ ।
तर, ट्रयाक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एस्जाभेटर लगायतका निर्माणसँग सम्बन्धित साधन तथा रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीमा भने उक्त मापदण्ड लागु हुने छैन ।
यसअघि २०६९ मा EURO-3 कार्यान्वयनमा आएको थियो । उक्त मापदण्ड कार्यान्यन गर्दा २ वर्ष अर्थात् २०७१ सालमा EURO-4 मापदण्ड कार्यान्वयन गर्ने भनिएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । हिले सरकारले १३ वर्षपछि EURO-6 लागू गरेको हो ।
सरकारले २०५६ मा पहिलोपटक वातावरण नियमावली २०५४ कार्यान्वयन गर्दै ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागु गरेको थियो, जुन EURO-1 बराबरको मापदण्ड थियो । त्यसपछि २०६९ सालमा EURO-3 सरहको मापदण्ड लागू गर्दै सरकारले ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ जारी गरेको थियो ।









