समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र आफ्नो नामको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।
समितिले सार्वजनिक सूचना जारी गरेरै समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई पटकपटक ३५ दिने सूचना, पत्राचार गर्दा पनि केही ऋणीबाहेक अधिकांश सम्पर्कमा नआएकाले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र दायित्व भुक्तानी गर्न भनेको हो ।
अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न १५ दिनको समय दिइएको र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का राखी र कालोसूचीमा राख्ने चेतावनी समितिले दिएको छ । दायित्व भुक्तानी गर्न नआउने ऋणी तथा जमानीकर्ता र निजका एकाघरका परिवारका सदस्यको बैंक खाता रोक्का राख्ने, कालोसूचीमा राखेर रोक्का राखिएको श्रीसम्पत्ति र बैंक खाताबाट ऋण असुलउपर गरिने सूचनामा उल्लेख छ । सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) र सहकारी नियमावली, २०७५ बमोजिम असुलउपर गरिने सूचनामा उल्लेख छ ।
समस्याग्रस्त घोषित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएस मार्फत ३५ दिने सूचना जारी गर्दा समेत केहीबाहेक अधिकांश ऋणी सदस्य सम्पर्कमा नआएको समितिले जनाएको छ ।
समितिले समस्याग्रस्त घोषणा भएका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न १५ दिनको अन्तिम अवसर दिएको हो ।
तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका ऋणीलाई पनि समितिले १५ दिनको अन्तिम दिएको छ ।












