२०८२ साल माघ १५ गते नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ थियो । उक्त दिन इतिहासकै उच्च मूल्य तोकिएको सुनको भाउ त्यसपछि भने क्रमशः ओरालो लाग्न थाल्यो । २०८३ कार्तिक ३० गते आइपुग्दा सुनको भाउ प्रतितोला २ लाख ६९ हजार १ सयमा झरिसकेको छ । यो साढे ९ महिनाको अवधिमा सुनको भाउ ऐतिहासिक उचाईबाट ७० हजार २ सय रुपैयाँले घटिसकेको छ ।
अहिले सुनको भाउ घट्नुमा मुख्यगरी ३ वटा कारण रहेको व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार हालै सम्पन्न अमेरिकी निर्वाचनमा डेमोक्य्राटिक पार्टीको विजय, अमेरिकी बैंकले ब्याजदर घटाउने चर्चा र सुनको उत्पादन लागतमा आएको कमीले भाउ घटाउन मद्दत गरेको छ । ‘डेमोक्य्राटहरुको विजयले सेयरको भाउ बढ्न थाल्यो, सेयर बढ्दा सुनको भाउ घट्छ’ उनी भन्छन्, ‘त्यसमाथि अहिले अमेरिकी सेन्ट्रल बैंकले ब्याजदर घटाउँछ भन्ने चर्चा पनि भइरहेको छ । साथै, अहिले सुनको प्रोडक्शन कस्ट पनि घटेको छ । जसका कारण स–साना खानीहरु पनि सञ्चालन हुन सकेका छन् । यसले बजारमा सुनको उपलब्धता पनि बढाएको छ ।’
कति घट्ला ?
सुनको भाउ यति नै घट्ला वा बढ्ला भनेर अनुमान गर्न नसकिने व्यवसायीहरु बताउँछन् । साथै, अमेरिकी ट्रम्प प्रशासनले लिने नीति पनि अनुमानयोग्य नरहेकाले भविष्यमा के हुन्छ भनेर अनुमान लगाउन मुस्किल रहेको व्यवसायी शाक्यको भनाइ छ । ‘ट्रम्प प्रशासनको अस्थिर नीतिकै कारण सुनको भाउ बढेको थियो, अब के हुन्छ भन्ने कुरा पनि अमेरिकाले लिने नीतिमै निर्भर हुन्छ’ शाक्य थप्छन् ।
यद्यपी, अहिले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले सुनको भाउ प्रतिऔंस ३५ सय डलरसम्म झर्न सक्ने अनुमान गरिरहेका छन् । यदि यो अनुमान सही सावित भएमा नेपाली बजारमा सुनको भाउ चाडै प्रतितोला २ लाख ५० हजारसम्म आउन सक्ने शाक्यको भनाइ छ ।
सुन किन्ने उपर्युक्त समय आएको हो ?
नेपाली बजारमा ३ लाख ४० हजार हाराहारीबाट २ लाख ६९ हजारमा झरिसके पनि सर्वसाधारणहरु अहिले सुन किन्ने उपर्युक्त समय हो कि भन्नेमा अझै अनिर्णित नै छन् । तर, वरिष्ठ उपाध्यक्ष शाक्य भने अहिलेको भाउ अनुसार सुन किन्ने समय आएको बताउँछन् । तर, अस्वभाविक रुपमा नभई एक दुइ तोलाका दरले सुन किनेर राख्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने शाक्यको विश्वास छ ।
‘भाउ घट्दो छ, अझै घट्ने अनुमान पनि भइरहेको छ । तर, सधैँ घट्छ भन्ने हुँदैन’ उनी भन्छन्, ‘यस आधारमा अहिले सुन किनेर राख्नका लागि केही हदसम्म अनुकुल समय चाहिँ हो । तर, अस्वभाविक रुपमा एकैपटक धेरै किन्नु पनि हुँदैन । भाउ घटेको दिन मिलाएर एक दुइ तोला सुन किन्दा राम्रै हुन्छ ।’
सन् २०२७ को पहिलो त्रैमासपछि सुनको भाउ पुनः उकालो लाग्ने अनुमान भइरहेकाले लगानीका रुपमा सुन किनेर राख्न चाहनेका लागि अहिले नै उपर्युक्त समय भएको शाक्यको भनाइ छ ।










