एभरेष्ट बैंककी सबैभन्दा ठूलो शेयरधनी बनेकी प्रतिमा श्रेष्ठले तत्काल बैंकबाट लाभांश नपाउने भएकी छिन् । नेपाल राष्ट्र बैंकले बैंकमा उनको शेयर स्वामित्व तोकिएको सीमामा कायम नभएसम्म उनलाई लाभांश नदिन निर्देशन दिएको हो।
राष्ट्र बैंकले असोज ८ गते यस्तो निर्देशन दिएको हो। बैंकको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार बैंकमा प्रतिमा श्रेष्ठको २३.९६ प्रतिशत शेयर स्वामित्व पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत शेयर स्वामित्व थियो भने उनको बुबा विष्णु कृष्ण श्रेष्ठ (बिके श्रेष्ठ)को ९.१८ प्रतिशत शेयर स्वामित्व थियो। बिके श्रेष्ठको निधनपछि बिकेको नाममा रहेको शेयर उनकी छोरी प्रतिमाको नाममा आउँदा बैंकमा प्रतिमाको शेयर स्वामित्व सबैभन्दा धेरै भएको हो।
राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेको छ । उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर रोक्का राख्नु पर्ने व्यवस्था छ । सोहि अनुसार राष्ट्र बैंकले उनको शेयर स्वामित्व तोकिएको सीमामा कायम नभएसम्म उनलाई लाभांश नदिन निर्देशन दिएको हो।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ‘चुक्ता पुँजीको २३.९६ प्रतिशत संस्थापक शेयरमा लगानी रहेको शेयरधनी श्री प्रतिमा श्रेष्ठलाई उल्लिखित व्यवस्था बमोजिम शेयर लगानी तोकिएको सीमा भित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन ।’
यस अघिसम्म भारतको पन्जाब नेशनल बैंक एभरेष्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी थियो। अब भने प्रतिमा श्रेष्ठको स्वामित्व पन्जाब नेशनल बैंकको भन्दा धेरै भएको हो। यद्यपि उनले अब त्यसलाई राष्ट्र बैंकले तोकेको सीमा भित्र ल्याउनु पर्ने छ । अर्थात् उनले कम्तिमा ८.९६ प्रतिशत शेयर बिक्री गर्नु पर्ने छ।
यस अघि : प्रतिमा बनिन् एभरेष्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, नेपाल लाइफ बाहिरिंदा भाटभटेनी भित्रियो









