नेपाल राष्ट्र बैंकले शेयरबजारसंग सम्बन्धित सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले आज साँझ सर्कुलर जारी गरेको हो ।
निर्देशन अनुसार राष्ट्र बैंकले शेयर धितो कर्जाको अधिकतम सीमा हटाएको छ। यस अघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु.२५ करोड कायम थियो । अब भने यो व्यवस्था हटेको छ।
त्यस्तै अब बैंक तथा वित्तीय संस्थाले शेयरबजारमा ६ महिना अवधिको लागि लगानी गर्न पाउने छन् । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस अघि यो अवधि १ वर्ष थियो ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले लगानी बिक्री गर्न सक्ने अवधिको व्यवस्था हटाईएको छ । यस अघि बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो। अब भने यो व्यवस्था हटेको छ ।
शेयर लगानीकर्ताहरुले यी व्यवस्था गर्न लामो समयदेखि माग गर्दै आएका थिए। अब भने राष्ट्र बैंकले शेयर लगानीकर्ताको माग अनुसार नै शेयरबजार मैत्री नयाँ व्यवस्था गरेको हो।











