Sunday, August 2, 2026
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

spot_img

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज रुपमा नपाइने गुनासो उपभोक्ताको छ । त्यहीँ गुनासो सम्बोधन गर्न उद्योग मन्त्रालयले ग्यास उद्योगहरुलाई आपुर्ति सहज बनाउन निर्देशन दिएको छ । सहज आपुर्तिका लागि आयल निगमको टेकुस्थित कार्यालयबाट पनि ग्यासको बिक्री वितरण सुरु भएको छ ।

तर, ग्यासको अभाव भइरहने समस्याको दीर्घकालिन समाधानका लागि भने ठोस पहल कतैबाट नभएको यस क्षेत्रका जानकारहरु बताउँछन् । ग्यास उत्पादकहरुले अहिले उपभोक्ताको घरमा सिलिण्ड थन्किएका कारण बजारमा सहज आपुर्ति हुन नसकिरहेको बताएका छन् भने बिक्रेता तथा डिलरहरुले भने उद्योगबाट माग अनुसारको ग्यास नआइरहेको बताएका छन् ।

ग्यास अभाव हुनुका ३ मुख्य कारण
अन्तर्राष्ट्रिय रुपमा आयातमा यदाकदा हुने अवरोध बाहेक मुख्य रुपमा आन्तरिक कारणले नै ग्यासको आपुर्तिमा अवरोध पु¥याइरहेको व्यवसायी र उद्योगीहरुको भनाइ छ । उनीहरुका अनुसार मुख्य रुपमा ३ वटा ठूला समस्या छन् ।

पहिलोः पारिवारिक खपत र मापदण्डको अभाव
यस क्षेत्रमा लामो समय बिताएका उद्योगी व्यवसायीका अनुसार प्रति परिवार ग्यास खपतको वास्तविक र वैज्ञानिक तथ्याङ्क कसैसँग छैन । उद्योगी र व्यवसायीहरुले अनुमानका आधारमा दिने तथ्याङ्कलाई नै आयल निगमले स्वीकार गर्दै आएको छ र सोही अनुसार ग्यासको आपुर्ति गरिरहेको छ । तर, कति जना सदस्य भएको परिवारका लागि मासिक कति ग्यास चाहिन्छ ? भन्ने अध्ययन भएको छैन ।

साथै, व्यवसायीहरुका अनुसार एउटा परिवारले कति वटासम्म सिलिण्डर ग्यास राख्न पाउने भन्ने मापदण्ड नहुँदा पनि अहिलेको समस्या देखिएको र यो समस्या विगतदेखि नै दोहोरिँदै आएको छ । मापदण्ड नहुँदा पैसा र पहुँच हुने एउटै परिवारले ५÷६ वटासम्म सिलिण्डर राख्ने र एउटा सिलिण्डर मात्रै राखेको परिवारले ग्यास सकिएपछि साट्न जाँदा नपाउने समस्या देखिने एक जना ग्यास बिक्रेताले बताए ।

‘घरमा ३ जना, ४ जना सदस्य भएको परिवारले कति सिलिण्डर ग्यास राख्न पाउने, घरमा ६÷७ जना सदस्य भएको परिवारले कति सिलिण्डर ग्यास राख्न पाउने भन्ने मापदण्ड हुनुपर्छ’ उनी भन्छन्, ‘यो मापदण्ड डेरामा बस्नेहरुका लागि पनि लागू हुनुपर्छ ।’

दोस्रोः बिक्रेता प्रमाणिकरण नहुनु 
अहिले ग्यास बिक्रेता तथा डिलरहरुको प्रमाणिकरणको समेत अभाव रहेको व्यवसायीहरु नै बताउँछन् । सम्बन्धित उद्योग र स्थानीय तहबाट बिक्रेता प्रमाणिकरणको प्रमाणपत्र जारी हुनुपर्ने र त्यसरी बिक्रेता प्रमाणिकरण भएकाहरुले मात्रै ग्यास बिक्री गर्न पाउनुपर्ने उनीहरुको माग छ । तर, विगत १० वर्षदेखि यो विषयमा बहस भइरहे पनि अहिलेसम्म कुनै ठोस नतिजा हात नपरेपछि ‘जेन्युइन डिलर तथा बिक्रेताहरु’ले अब यो माग उठाउनै छोडेका छन् ।

‘किराना पसले पनि ग्यास बिक्रेता, चामल र दालको होलसेल पसले पनि ग्यास बिक्रेता छन् । उनीहरुले कहाँबाट कति सिलिण्डर ग्यास लगेका भन्ने रेकर्ड हुँदैन । स्थानीय डिलरसँग मिलेमतोमा ग्यास लैजाँन्छन्, अनि उसको पसलबाट रासन किन्नेलाई मात्रै बेच्छन्, अरु मान्छे ग्यास खोज्दै पुग्यो भने छैन भन्छन्, दिँदैनन्’ एक जना ग्यास बिक्रेताले भने, ‘यस्ता भूमीगत डिलरहरु बन्द हुनुपर्छ । यसका लागि ग्यास बिक्रेता प्रमाणिकरण अनिवार्य गरिनुपर्छ ।’

तेस्रोः बिल विजक नै जारी नहुनु
ग्यासको अभाव हुनु वा कारोबार पारदर्शी नदेखिनुमा बिक्रेता तथा डिलरले बिल विजक जारी नगर्ने समस्या प्रमुख कारण रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । घरायसी उपभोक्ता, स्वरोजगार होटल तथा खाजा घरहरुमा डिलर वा बिक्रेताले ग्यास पु¥याउँदा बिल नलैजाने र नगदमै भूक्तानी लिएर आउने गरेका कारण पनि ग्यासको कारोबार अझै पारदर्शी बन्न नसकेको वितरकहरु नै स्वीकार गर्छन् ।

‘बिल दिने चलन नै छैन । उपभोक्ताले पनि माग्दैनन् । ठूला र खासगरी भ्याटमा दर्ता भएका होटलले चाहिँ बिल माग्छन्, नत्र कसैले वास्तै गर्दैन’ एक जना वितरकले भने, ‘अनि नगदमै भूक्तानी लियो, उद्योगलाई चाहिँ यति ग्यास गयो भनेर पठाइदियो । गएको चाहिँ हुन्छ, तर बिल हुँदैन ।’

यदि बिल लेनदेन हुन्थ्यो भने कसले कुन मितिमा ग्यास लगेको हो ? भन्ने जानकारी हुने र यदि उसले चाँडै थप ग्यास माग गर्न आएमा ‘हिजो अस्ति भर्खरै लगेको होइन ?’ भनेर सम्झाउन सकिने ति वितरक बताउँछन् ।

साथै, अहिले सरकारले बिल विजक जारी गर्ने क्रम बढोस्, उपभोक्ताले पनि सामान खरिद गरेपछि बिल लिने बानी बसालुन् भनेर प्रोत्साहन गर्न चिठ्ठा कार्यक्रम ल्याएको हुनाले त्यस योजनामा सामेल हुन पनि बिल लिन ति वितरकले उपभोक्तालाई अपिल गरेका छन् ।

‘बिल माग्दा डिलरले छैन भन्यो, बाहना बनायो, पछि ग्यास दिन्न भनेर धम्की दियो भने सिँधै आयल निगममा उजुरी दिन सकिन्छ, त्यसकारण अब उपभोक्ताले पनि बिल लिने बानी बसाल्नुपर्छ’ ति वितरक थप्छन्, ‘बिल लिने र दिने गर्नाले राज्यलाई तथ्याङ्क राख्न पनि मद्दत पुग्छ । त्यसका आधारमा बजारको माग र आपुर्तिको अवस्था पनि थाहा हुन्छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...
spot_img