नेपाल–भारत उद्योग वाणिज्य संघ, युरोपियन इकोनोमिक चेम्बर नेपाल तथा बोशको संयुक्त आयोजनामा “AI for Decision Makers – An Executive Workshop for Leaders” शीर्षकको कार्यकारी कार्यशाला सम्पन्न भएको छ ।
यस कार्यक्रममा प्रविधि साझेदारका रूपमा बोशले स्थानीय व्यवसायिक नेतृत्व, वरिष्ठ कार्यकारीहरू, उद्यमीहरू तथा नीति–निर्माताहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि तथा रणनीतिक निर्णय प्रक्रियालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कार्यशालाको उद्घाटन सत्रमा बोशद्वारा प्रकाशित एआई सम्बन्धी प्रकाशन “From Hype to Strategy – AI for Decision Makers” को पनि औपचारिक विमोचन गरिएको थियो ।
बोश समूह भारतका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरु प्रसाद मुद्लापुरले भने “आजको परिवेशमा उन्नत एआई प्रविधिमा पहुँच सबैका लागि सहज भइसकेको छ। अब वास्तविक भिन्नता रणनीतिक कार्यान्वयन र सक्षम नेतृत्वले निर्धारण गर्छ। वास्तविक रूपान्तरण तब सम्भव हुन्छ, जब संस्थाहरूले सामान्य स्वचालन भन्दा माथि उठेर एआईलाई आफ्नो विशिष्ट क्षेत्रगत विशेषज्ञता, मानवीय विवेक तथा ग्राहकप्रतिको गहिरो विश्वाससँग संयोजन गर्छन् । आज क्षेत्रीय नेतृत्वले संगठनात्मक क्षमता विकासका लागि गर्ने निर्णयहरूले आगामी धेरै वर्षसम्म उनीहरूको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्नेछन् ।”
कार्यक्रमको उद्घाटन सत्रमा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो तथा जर्मनीका राजदूत उडो युगेन भोल्जको विशेष उपस्थिति रहेको थियो।
कार्यशालाअन्तर्गत आयोजित फायरसाइड च्याट सत्रमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले कृत्रिम बुद्धिमत्ताको विकासक्रम, राष्ट्रिय विकासमा यसले पुर्याउन सक्ने सम्भावित योगदान, नेपालले एआईलाई प्रभावकारी रूपमा कसरी आत्मसात् गर्न सकिन्छ भन्ने विषय तथा सरकारी नीति, योजना र कार्यक्रमहरूमा एआईलाई समावेश गर्न सरकारले अघि बढाइरहेका पहलहरूबारे विस्तृत धारणा प्रस्तुत गरे ।
नेपालका लागि बोशका कन्ट्री हेड सन्दीप कामतले भने, “एआई अब भविष्यको अवधारणा मात्र होइन, यो व्यवसायका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ। यस कार्यशालाको उद्देश्य नेतृत्व तहलाई एआईलाई जिम्मेवारीपूर्वक कसरी अपनाउने र त्यसलाई आफ्नो संस्थाका लागि मापनयोग्य मूल्यमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गर्नु हो ।”
कार्यशालाको मुख्य प्रशिक्षण सत्र बोश इन्डियाका हेड अफ इन्टरप्राइज – एआई डा. कालेब मुनिगेटीले सञ्चालन गरेका थिए। उनले बोशका सफल अनुभव तथा उदाहरणहरू प्रस्तुत गर्दै सहभागीहरूलाई अत्यन्तै व्यावहारिक सिकाइ अनुभव प्रदान गरे । कार्यक्रममा इन्टरप्राइज एआईका वर्तमान प्रवृत्ति, उच्च प्रभावकारी एआई अवसरहरू, एआईमा लगानी, लार्ज ल्याङ्ग्वेज मोडेल्स (LLMs), एआई गभर्नेन्स तथा एआई कार्यान्वयनका व्यावहारिक मार्गचित्रलगायतका विषयहरू समेटिएका थिए । अन्तरक्रियात्मक रणनीतिक अभ्यासमार्फत विभिन्न क्षेत्रका वरिष्ठ कार्यकारीहरूले दीर्घकालीन व्यवसायिक योजनामा एआईलाई प्रभावकारी रूपमा समावेश गर्ने व्यावहारिक अनुभव प्राप्त गरेका थिए ।
यो कार्यशालाले नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), युरोपियन इकोनोमिक चेम्बर नेपाल (EEC Nepal) तथा बोशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको व्यवसायिक पारिस्थितिकी प्रणालीमा नेतृत्व क्षमता अभिवृद्धि तथा उन्नत प्रविधिको जिम्मेवार र मूल्य–केन्द्रित प्रयोगलाई प्रवर्द्धन गर्ने दिशामा एउटा महत्वपूर्ण कोशेढुङ्गा स्थापित गरेको छ ।









