अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन कहाँ अड्किएको छ ?’ भनेर सोधेका छन् । मंगलबार उत्पादनमूलक उद्योगमा संलग्न उद्योगीहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्लेले ‘नयाँ लगानी आउन कहाँ अड्किएको छ ? लगानीकर्ताहरूले निर्णय लिन किन हिचकिचाउनुपरेको छ ?’ भनेर सोधेका हुन् ।
उनले वर्तमान सरकारको ध्यान उद्योगहरुको पूर्ण क्षमतामा सञ्चालन, निर्बाध व्यवसाय विस्तार र नयाँ उद्यमको सिर्जना रहेको बताउँदै यी तीन सूचकमा उल्लेखनीय सुधार ल्याउन सक्दा आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र निर्यात प्रवर्द्धन स्वतः नयाँ गतिमा अघि बढ्ने बताएका छन् । उनले अहिले सरकारको सम्पूर्ण प्रयास र नीतिहरू यिनै तीन परिणाम हासिल गर्नमा केन्द्रित रहेको पनि बताएका छन् ।
अर्थमन्त्रीले सरकार आफैँले उद्योग चलाउने नभई उद्यमीहरूलाई बिनाअवरोध उद्योग चलाउन सक्ने लगानीमैत्री, सुशासित र सहजीकरणयुक्त वातावरण निर्माण गर्नु सरकारको काम भएको बताए ।
‘आजको यो कार्यशालामा म यहाँहरूलाई खुला हृदयका साथ केही व्यावहारिक प्रश्न सोध्न चाहन्छु, हाम्रा उद्योगहरूको उत्पादन लागत किन बढी छ ? यसलाई तत्काल घटाउने उपायहरू के–के हुन सक्छन् ?’ उनले सोधे, ‘उद्योगहरू पूर्ण क्षमतामा चल्न नसक्नुका वास्तविक प्राविधिक, वित्तीय वा नीतिगत अवरोधहरू के हुन् ? नयाँ लगानी आउन कहाँ अड्किएको छ ? लगानीकर्ताहरूले निर्णय लिन किन हिचकिचाउनुपरेको छ ? जग्गा प्राप्ति, बिजुलीको पहुँच र महसुल, श्रम, ढुवानी, वित्त, कच्चा पदार्थ र बजारका प्रमुख गाँठाहरू कहाँ छन् ? कुन प्रक्रिया वा कानुन संशोधन गर्नुपर्छ ?’
अर्थमन्त्री डा. वाग्लेले निजी क्षेत्रका गुनासा सुन्न र तत्काल नतिजा दिनका लागि अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेक्स’ स्थापना गर्ने बताउँदै अब कुनैपनि फाइल नथन्किने र द्रुत गतिमा निर्णय र समाधान हुने विश्वास दिलाएका छन् ।
उनले निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहने, त्यसले उचित प्रतिफल प्राप्त गर्ने र पुनःलगानी गर्न सक्ने अनुकूल वातावरण निर्माण हुने बताउँदै उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए । वर्तमान सरकार निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्ने मान्यतामा प्रष्ट रहेको बताउँदै अर्थमन्त्रीले ४२ वटा कानूनहरु खारेज र संशोधनको प्रक्रियामा रहेको समेत जानकारी गराए ।
‘यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा छन्। सरकार सुधारको गति बढाउनेछ, अवरोधहरू पन्छाउनेछ र निजी क्षेत्रका साथ निरन्तर उभिनेछ’ उनले थपे, ‘आत्मविश्वासका साथ लगानी गर्न, उत्पादन बढाउन, उद्योग विस्तार गर्न, नयाँ उद्यम सुरु गर्न र रोजगारी सिर्जना गर्न म आह्वान गर्दछु ।’
आजको छलफलमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश अग्रवाल, उद्योगीहरु भरत आचार्य, सुमित केडिया, विष्णु न्यौपाने, पशुपतिदेव पाण्डे र अम्बिका प्रसाद पौडेल लगायत सहभागी भएका थिए ।









