नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने भएको छ । गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार तथा व्यापार प्रवर्द्धनका लागि साझेदारी सम्बन्धि सम्झौता भएको छ ।
गोल्डस्टारको जापान निकासी सम्बन्धि यस सम्झौतामा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष अमिर प्रताप जबरा तथा गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन् । सम्झौता समारोहमा गोल्डस्टार जापानका निर्देशक कोबायाशी काजुयुकी पनि उपस्थित थिए ।
यस साझेदारीमार्फत जापानी बजारको आवश्यकता अनुरूप गोल्डस्टारले उच्च गुणस्तरका फुटवेयर उत्पादन, आधिकारिक वितरण, ब्रान्ड विकास, बजार विस्तार तथा ग्राहक सेवामा सहकार्य गर्नेछ । यसले गोल्डस्टारलाई जापानमा विश्वसनीय अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्झौतापछि गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष राणाले गोल्डस्टार केवल जुत्ताको ब्रान्ड मात्र नभई यो नेपाली उद्योग, नेपाली सीप, श्रम र गुणस्तरको परिचय भएको बताए । उनले जापानी पक्षसँगको यो साझेदारीले ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा अझ मजबुत रूपमा स्थापित गर्ने विश्वास लिइएको बताएका छन् ।
गोल्डस्टार जापानका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले जापानी उपभोक्ताले गुणस्तर र विश्वासलाई उच्च प्राथमिकता दिने उल्लेख गर्दै यस सहकार्यले नेपाल–जापानबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेपालको उत्पादनमूलक उद्योगको अग्रपङ्क्तिमा रहेको गोल्डस्टारले हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यो साझेदारीले नेपालको निर्यात प्रवर्द्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा नेपाल–जापानबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
सम्झौता अनुसार गोल्डस्टार जापानले नेपालमा बनेका गोल्डस्टार ब्राण्डका फुटवेयर जापान लैजानेछ । यसका लागि गोल्डस्टारले जापानी आवश्यकता अनुसारको क्वालिटी (गुणस्तर)मा जुत्ता त्पादन गर्नेछ । कम्पनीका प्रतिनिधिले बिजनेश पानालाई दिएको जानकारी अनुसार व्यवसायिक रुपमा गोल्डस्टार पहिलोपटक जापान जान लागेको हो ।









