Tuesday, June 9, 2026
spot_img

इतिहास कै ‘कमजोर मोड’मा धितोपत्र बोर्ड, आफ्नै वार्षिकोत्सव समेत गर्न सकेन

spot_img
spot_img

नेपालको पुँजीबजार र वस्तु विनिमय बजारको नियामकको निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड स्थापनाको ३३ वर्ष पूरा भई ३४औं वर्षमा प्रवेश गरेको छ। झन्डै साढे ३ दशकको विरासत बोकेको धितोपत्र बोर्ड अहिले भने इतिहास कै कठिन र कमजोर मोडमा पुगेको छ ।

यतिसम्म कि  धितोपत्र बोर्डले यस पटक औपचारिक रुपमा वार्षिकोत्सव समारोह समेत गर्न सकेन । आज जेठ २५ गते बोर्डले ३४ औ वार्षिकोत्सव कार्यक्रम गर्नु पर्ने थियो। तर बोर्डले भने विविध कारण देखाएर औपचारिक रुपमा वार्षिकोत्सवमा कुनै औपचारिक कार्यक्रम नै गरेन । रक्तदान कार्यक्रम बाहेक यसपटक कुनै पनि औपचारिक कार्यक्रम बोर्डले गरेको छैन ।

कोरोना र भूकम्पको जस्तो कठिन समयमा पनि बोर्डको वार्षिकोत्सव कार्यक्रम गरिएकोमा यसपटक बोर्डको वार्षिकोत्सव कार्यक्रम हुन नसक्नु अत्यन्तै दुखद भएको बोर्डका कर्मचारी बताउछन्। पछिल्लो २० वर्ष यता बोर्डले वार्षिकोत्सव कार्यक्रम गर्न नसकेको यो नै पहिलो पटक रहेको उनीहरुको भनाई छ।

किन भएन औपचारिक कार्यक्रम ?

बोर्डका कर्मचारीहरु अहिले बोर्डमा पूर्णकालिन अध्यक्ष नभएको र सरकारले पनि होटेलमा औपचारिक कार्यक्रम गर्न रोक लगाएकोले वार्षिकोत्सवमा कुनै पनि औपचारिक कार्यक्रम नगरिएको बताउछन् ।

हाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ। सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि ऐनको व्यवस्था अनुसार  बोर्डको संचालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सहसचिव उत्तर कुमार श्रेष्ठ स्वत बोर्डको अध्यक्ष बनेका छन् ।

यस अघि पुर्णकालिन अध्यक्ष नहुँदा पनि बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेकै सहसचिवको अध्यक्षतमा बोर्डको वार्षिकोत्सव कार्यक्रम गरिरहेको थियो । रमेश हमालले राजीनामा दिएपछि बोर्ड अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानाले पाएका थिए । उनी पूर्णकालिन अध्यक्ष नभएपनि धितोपत्र बोर्डले २०८१ जेठ २५ गते उनकै अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम गरेको थियो ।

तर यसपटक ऐन अनुसार स्वत अध्यक्ष बनेका उत्तर कुमार खत्रीलाई प्रधानमन्त्री कार्यालयले नै कुनै पनि दिर्घकालिन निर्णय नगर्न निर्देशन दिएको छ । सार्वजनिक निष्काशनको अनुमति प्रदान गर्ने निर्णय नगर्न उनलाई निर्देशन छ । अर्थात् उनले अहिले दैनिक प्रशासनिक कार्य मात्र गर्दै आएका छन् ।

बोर्ड स्रोतका अनुसार बोर्ड व्यवस्थापन र खत्रीबीच बोर्डको औपचारिक वार्षिकोत्सव गर्ने कि नगर्ने भन्नेबारे  छलफल भएको थियो । उनले यसबारे निर्णय गर्न व्यस्थापनलाई नै छोडेको बताईन्छ । पूर्णकालिन अध्यक्ष पनि नरहेको र कार्यक्रम गरेपनि अर्थमन्त्री सहभागी नहुने भएपछि कार्यक्रम गर्नुको कुनै अर्थ नहुने भएकोले औपचारिक कार्यक्रमबाट पछि हटिएको बोर्ड स्रोतको भनाई छ ।

अर्थमन्त्री र अध्यक्षको शुभकामना मात्रै 

बोर्डको वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिदै उनले  पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बनाउँदै व्यक्तिगत एवं संस्थागत लगानीकर्ताको आकर्षण बढाउनु आवश्यक रहेको बताएका छन्। यसका लागि सेबोनले आफ्नो संस्थागत र नियामकीय क्षमता सुदृढ गर्दै लैजाने र सेवालाई चुस्त र प्रविधिमैत्री बनाउँदै प्रभावकारी नियमन र सुपरीवेक्षणमार्फत् प्रणालीगत जोखिम घटाउनेछ विश्वास उनले व्य्वाक्त गरेका छन्। पुँजी बजारको नियामकीय भूमिकालाई प्रभावकारी बनाउँदै आगामी दिनमा सेबोनले पुँजी बजारमा सुशासन, बजारको सुधार तथा विकासबाट लगानीकर्ताको हित संरक्षण एवं प्रबर्द्धन गर्ने अपेक्षा राखेको उनले बताएका छन् ।

बोर्ड अध्यक्ष रहेका उत्तर कुमार खत्रीले प्रतिवद्दता व्यक्त गरेका छन् ।  बोर्डले धितोपत्र नियमन, नेप्से तथा सिडिएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तारका साथै ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने गरी आगामी कार्यदिशा तय गर्ने उनले बताएका छन् । पुँजी बजारको विकास तथा सुधारका लागि विभिन्न समयमा गठन भएका आयोग तथा कार्यदलहरूले दिएका सुझाव समेत क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

आ.व. २०८३।८४ को बजेट वक्तव्यमा सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएसँगै बजार थप गतिशील हुने अपेक्षा उनले व्यक्त गरेका छन्। नियामकीय क्षमता तथा संस्थागत सुदृढीकरण, प्रविधिको अवलम्बन, लगानीकर्ताहरूको हकहित संरक्षण एवं सुशासन प्रवर्द्धन, धितोपत्र बजार सम्बन्धी कसूरको अनुसन्धान तथा कारवाहीजस्ता विषयहरू बोर्डको प्राथमिकतामा रहेको उनले प्रष्ट पारेका छन्। त्यसैगरी सार्वजनिक निष्काशनलाई स्वच्छ एवं पारदर्शी बनाउन आवश्यक संरचनागत र कानुनी सुधार गर्ने, एसएमइ प्ल्याटफर्म, वस्तु विनिमय बजार र यसका पूर्वाधारहरूलाई सञ्चालनमा ल्याउने, बजार सञ्चालकहरूको संरचनागत सुधार एवं बजार सहभागीहरूको व्यवसायिकता अभिवृद्धि गर्ने र बजार शिक्षा तथा सचेतना कार्यक्रमहरू समेत प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्।

स्वार्थ समूहले चलाउन थालेपछि घट्दो साख 

पछिल्लो समय धितोपत्र बोर्डलाई स्वार्थ समूहले चलाउन थालेपछि बोर्डको साख घट्दै गएको देखिन्छ । स्वार्थ समूहले नै आफु अनुकुल अध्यक्ष नियुक्ति गर्न थालेपछि बोर्डको साख र प्रतिष्ठामाथि नै गम्भीर प्रश्न उठेका छन् । डा. रेवत बहादुर कार्कीले २०७६ असोज ३० मा अध्यक्षको रुपमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेपछि बोर्डले पुरै ४ वर्षे कार्यकाल काम गरेका अध्यक्ष पाएको छैन ।

डा. कार्कीको कार्यकाल सकिएपछि अध्यक्ष बनेका भिष्म कुमार ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । उनको छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएको थियो । त्यस समय सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट शेयर निष्काशनको तयारी गरेको थियो ।

उनको बर्खास्तीपछि उनको बाँकी कार्यकालको लागि रमेश कुमार हमाल बोर्ड अध्यक्ष भए। तर उनी पनि विवादरहित हुन सकेनन् ।  एउटा निश्चित समूहलाई फाइदा हुने गरि नियमावली नै संशोधन गरेर प्रिमियममा आईपीओ निष्काशन अनुमति दिएको, निश्चित समूहलाई फाइदा हुने नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलेको, नयाँ स्टक एक्सचेन्जको मापदण्ड समेत निश्चित समूहलाई फाइदा पुग्ने गरि बनाएको, कमजोर कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको लगायतका आरोप उनीमाथि लागेका थिए/छन् । उनलाई स्वार्थ समूहको अध्यक्ष रहेको आरोप लागेपनि उनले सो समूहलाई नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिलाउन भने सकेनन् । बोर्डले हालसम्म कसैलाई नयाँ स्टकको लाईसेन्स दिएको छैन ।

हमालपछि सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न नै झन्डै एक वर्ष लगायो । सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेको समूहले सरकार नै परिवर्तन गरेर उनलाई बोर्ड अध्यक्षमा नियुक्त गराएको चर्चा पनि चल्ने गरेको छ। उनै श्रेष्ठमाथि पनि आईपीओ निष्काशनको अनुमति दिँदा कमिशन लिएको, आफु नै शेयरधनी भएको कम्पनीलाई धमाधम आईपीओ निष्काशन अनुमति दिएको, आफु निकटका कम्पनीलाई मात्र आईपीओ निष्काशनको अनुमति दिएको लगायतका आरोप लागेको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए। उनको राजीनामा पछि बोर्डले  हालसम्म नयाँ अध्यक्ष पाउन सकेको छैन ।

धितोपत्र बोर्ड कै एक जना निर्देशकले खुला रुपमा नै आफुले बोर्ड Public Interest Theory of Regulation विपरित कसैको स्वार्थ पूरा गर्ने थलोको रुपमा ढल्दै गरेको नजिकबाट देखेको बताएका छन्। वार्षिकोत्सव समेत गर्न नसक्ने गरि भइरहेको संस्थाको तीव्र गतिको क्षयिकरण डरलाग्दो रहेकोले यसलाई बेलैमा बुझेर रोक्नको लागि उनले आग्रह गरेका छन्।

कर्मचारीको घट्दो मनोबल 

स्वार्थ समूहको दबाबमा काम गर्नु पर्ने भएपछि कर्मचारीको मनोबल खस्किएको छ । गत भदौमा अर्थ मन्त्रालयले पठाएको पत्रपछि बोर्डका कर्मचारी हतोत्साही देखिएका छन् । अर्थ मन्त्रालयले गत भदौमा नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने भनेर पत्र पठाएको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त सम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित ति कार्यविधि जारी भएको अर्थको तर्क थियो ।

कार्यविधि खारेज गर्ने मात्र नभई कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असूल उपर गर्न तत्काल कार्य प्रक्रिया शुरु गर्ने भन्ने अर्थको निर्देशन थियो ।  कार्यविधि खारेज गर्दा बोर्डका कर्मचारीले अहिले आफुले पाउदै आएको सुविधा कटौती हुन्छ । हालको सुविधा कटौती हुने मात्र नभई यस अघि लिएको सेवा सुविधा पनि फिर्ता गर्नु पर्ने अवस्था आउने छ। त्यस कारण बोर्डका कर्मचारी अझै पनि आन्दोलन मै छन् । एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सुनुवाई नभएपछि कर्मचारीको मनोबल खस्किएको छ । त्यस्तै सरकारले लामो समयसम्म बोर्ड अध्यक्ष पद रिक्त राखेपछि पुँजीबजार जस्तो संवेदनशील  विषयमा पनि सरकार उदासिन देखिएको संदेश गएको छ। यसले पनि कर्मचारीको मनोबल खस्किएको स्वयं कर्मचारी नै बताउछन् । यी कारण गर्दा हाल धितोपत्र बोर्ड इतिहास कै कमजोर मोडमा देखिएको छ।

कर्मचारी युनियनद्वारा भर्त्सना 

वार्षिकोत्सवमा औपचारिक कार्यक्रम हुन नसकेपछि बोर्डको ‘नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियन’ले भर्त्सना गरेको छ । व्यवस्थापन पक्षको संस्थाप्रतिको चरम उदासिनता, अनुत्तरदायी कार्यशैली र अपरिपक्व निर्णयका कारण इतिहासमै पहिलो पटक वार्षिकोत्सव स्थगित हुन पुगेको युनियनले उल्लेख गरेको छ।

कर्मचारी युनियन, कर्मचारी र सरोकारवालाहरूसँग कुनै परामर्श र पूर्वसल्लाह नै नगरी एकाएक कार्यक्रम नगर्ने एकपक्षीय र स्वेच्छाचारी निर्णयले सम्पूर्ण कर्मचारीहरूको मनोबल गिराएको युनियनले जनाएको छ । युनियनले विज्ञप्ति मार्फत यस्तो प्रशासनिक र व्यवस्थापकीय नेतृत्वको युनियनले घोर भर्त्सना र निन्दा गरेको छ।

वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व (संचालक बोर्ड सहित ) अनिर्णयको बन्दी बन्ने प्रवृत्तिका कारण संस्था दिन प्रतिदिन प्रशासनिक र व्यावसायिक रूपमा दिनानुदिन क्षयीकरण हुँदै गएको युनियनले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि...

BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि

नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम...

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योगको रुपमा लिटमस इन्डस्ट्रिज सम्मानित

लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ...

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड...

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र...
spot_img