बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको छ। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाममा ल्याएको हो।
यसै सन्दर्भमा बिजनेशपानाले कम्पनीको आयोजनाको अवस्था, कम्पनीको वित्तीय अवस्था, कम्पनीको भावी योजना, लगानीकर्तालाई प्रतिफल लगायतका विषयमा आधारित रहेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर सुवेदीसँग कुराकानी गरेको छ ।
अहिले कम्पनीको अवस्था कस्तो छ ?
बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड २०६४ साल आश्विन ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमादर्ता भएको थियो। यो कम्पनी २०७४ सालश्रावण ३१ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो। कम्पनीले २०७८ सालमा आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले नुवाकोट जिल्लाको पंचकन्या गाउँपालिका वडा नं. .४ मा तल्लो ताँदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १० गते देखि व्यापारीक उत्पादन सुरु गरी हाल सम्म निरन्तर विद्युत विक्रि गरिहेको छ । यस आयोजनाको क्षमाता ४.९९३ मेगावाट रहेको छ। कम्पनीले हाल कन्ट्रयाक्ट इनर्जीको ९५ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको वित्तीयअवस्था कस्तो छ ?
आर्थिक वर्ष २०८०/८१ म कम्पनी १ करोड ५६ लाख घाटामा थियो भने आर्थिक वर्ष २०८१/८२ मा १ करोड ७२ लाख घाटामा थियो। आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास सम्ममा कम्पनी २ करोड ३३ लाख नाफामा छ। असार महिनामा आयोजना पूर्ण संचालनमा आउँन सकेको खण्ड चालु आर्थिक वर्षमा कम्पनी नाफामा नै हुने देखिन्छ।
हकप्रद निष्काशनबाट उठेको सम्पूर्ण रकम ऋण चुक्ता गर्न प्रयोग हुने छ । ऋणको मात्रा घटाउँदै लगेपछि आगामी दिनमा लगानीकर्तालाई उचित प्रतिफल दिन सकिने हाम्रो अपेक्षा छ।
लगानीकर्ताले लाभांश कहिले पाउछन् ?
विद्युत उत्पादन थालेको ४ वर्ष भईसकेको अवस्थामा लगानीकर्ताले लाभांशको अपेक्षा गर्नु स्वभाविक हो। अब हकप्रदको रकमले ऋण तिरेपछि आयोजना आकर्षक बन्छ। ऋणको भार घट्दै गएपछि नाफा बढ्छ। त्यसपछि आर्थिक वर्ष २०८३/८४ मा लाभांश दिन सक्ने आधार छ। यदि सो वर्षमा केही कारणले लाभांश दिन नसकिए पनिआर्थिक वर्ष २०८४/८५ मा लगानीकर्ताले लाभांश पक्का पाउने छन् ।
अहिले आयोजनाको ऋण कति छ ?
कम्पनीले आयोजना निर्माणको लागि सिद्धार्थ बैंकको नेतृत्व मा विभिन्न ४ वटा वाणिज्य बैंकबाट गरि कुल १ अर्ब ५ करोड ६३ लाख ऋण लिएको थियो। जस मध्ये ९४ करोड ३५ लाख ऋण तिर्न बाँकी छ। हकप्रदको ४० करोड रकमले पनि ऋण नै तिर्छौं। विद्युत नियमन आयोगले ऋण तिर्नको लागि भनेर नै हकप्रदको स्वीकृति दिएको हो। हकप्रदको रकमले ऋण तिरेपछि ५६ करोड ऋण बाँकि रहन्छ ।
आयोजनाको लागतकिन धेरै बढेको हो ?
हामीले २०६९ चैत्रमा आयोजना निर्माणको अनुमति पाएका थियौं । विद्युत प्राधिकरण सँग २०७० चैत्रमा पीपीए भएको थियो। आयोजना निर्माण थाले लगत्तै २०७२ मा भूकम्प आयो, त्यसपछि नाकाबन्दीको प्रभाव खेप्नु पर्यो । ति प्रभावका बाबजुद आयोजना निर्माण अघि बढी रह्यो।
फेरी आयोजना अन्तिम चरणमा पुगेको बेला कोरोना महामारी भोग्नु पर्यो। स्थानीय स्तरमापनि धेरै अवरोधहरु भए ।
विद्युत प्राधिकरणको तर्पmबाट निर्माण गरिदिनु पर्ने प्रसारण लाईन र सब स्टेशनको काममा ढीर्लाइ हुन पुगि २०७८ असारमा उक्त निर्माण कार्य सम्पन्न हुन पुग्यो।
यी कारणले गर्दा आयोजना निर्माण सम्पन्न गर्न नै झन्डै ८ वर्ष लाग्यो। निर्माण अवधि बढी भएको र निर्माण अवधिको ब्याजको कारण लागत बढेर प्रति मेगावाट नै २९ करोड पुगेको हो।
तर यस आयोजनाले पाउने जति दुख पाई सकेको छ। अब कुनै कठिनाई छैन, आयोजना सम्पन्न भएर नियमित विद्युत उत्पादन गरिरहेको छ। कम्पनी क्रमशः नाफामा जाँदै छ।
लिलामीको शेयरमा कहाँ कहाँबाट आवेदनदिन सकिन्छ ?
हामीलाई नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। चैत्र २२ देखि वैशाख २८ गतेसम्म १ः१ को अनुपातमा हाल कायम चुक्तापुँजीको शत प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेका थियौं। हकप्रदमा बिक्री नभएको ४ लाख७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा ल्याईएको हो।
यस लिलामको लागि एनआईसी एशिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । काठमाडौँ भित्र एनआईसी एशिया क्यापिटलको थापाथली स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदनदिन सकिन्छ ।त्यस्तै एनआईसी एशिया बैंकको विराटनगर, विरगंज, पोखरा, धनगढी , बुटवल, वीरेन्द्रनगर, पन्चकन्या नुवाकोट, त्रिशुली नुवाकोट, नारायणगढ र नेपालगंज शाखाबाट आवेदन दिन सकिन्छ ।
यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्छ ।सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ ।यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहे सम्म शेयर बाँडफाँड हुने छ । लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।
अन्तिममा लगानीकर्तालाई के संदेश दिन चाहनुहुन्छ ?
धेरै वाधा, व्यवधान, दुख, कष्ट पश्चात कम्पनी अहिल सही बाटोमा हिँडी रहेको छ ।कम्पनी क्रमशः नाफामा जाँदै छ, ऋणको अंश कम हुँदै छ। कम्पनीको वित्तीय अवस्थामा सुधार हुँदै आएको छ, कुनै समस्या छैनन्, अब आगामीदिन सुनौलो छ। कम्पनी राम्रो बाटोमा अघि बढिरहेको छ।
कम्पनीले नयाँ आयोजना निर्माण गर्नको लागि आयोजना खोजिरहेको छ। २० मेगावाट सम्मको लाभदायक आयोजनाको खोजि गरिरहेका छौँ । यस कम्पनीको भविष्य उज्ज्वल छ ।












