नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रबन्ध संचालक रहेकी प्रविन पन्दाकलाई संचालकबाट फिर्ता बोलाउने निर्णय गरेसंगै सिडिएसमा एक संचालक पद रिक्त रहेको छ । नेप्सेको वैशाख ११ गतेको संचालक समितिको बैठकले पन्दाकलाई संचालक पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। सो संगै उनको प्रबन्ध संचालक पदपनि रिक्त भएको हो।
सिडिएसमा नेप्सेले दुई जना संचालक पठाउदै आएको छ । जसमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिडिएसको अध्यक्षको रुपमा रहने व्यवस्था छ । अध्यक्ष बाहेक नेप्सेले अर्को एक संचालक पनि पठाउनु पर्ने व्यवस्था छ। र ति अर्का संचालक नेप्सेको उच्च तहको महिला कर्मचारी नै हुनु पर्ने व्यवस्था सिडिएसको प्रबन्धपत्रमा रहेको छ। सोहि व्यवस्था अनुसार लामो समयदेखि पन्दाक नै सिडिएसको संचालक रहेकी थिईन् । पछिल्लो समय उनलाई नै प्रबन्ध संचालकको जिम्मेवारी दिइएको थियो। तर उनी अब सिडिएसबाट फिर्ता भईसकेकी छिन् ।
अब भने नेप्सेले सिडिएसमा तत्काल नेप्सेबाट संचालक नपठाउने भएको छ। विवाद बढेपछि पन्दाकलाई फिर्ता बोलाईएको र उच्च तहको महिला कर्मचारी नै पठाउनु पर्ने हुँदा संचालकको रुपमा फेरि पन्दाक कै विकल्प नभएपछि तत्काल नेप्सेले संचालक नपठाउने स्रोतको भनाई छ । स्रोतका अनुसार एक संचालक नहुँदा पनि बैठक बस्न र निर्णय गर्न कोरम पुग्ने भएकोले तत्कालको लागि नेप्सेले सिडिएसमा संचालक पठाउने छैन ।
हाल सिडीएसमा नेप्सेको शेयर स्वामित्व ५०.९३ प्रतिशत छ भने अर्थ मन्त्रालयको स्वामित्व ४९.०६ प्रतिशत छ। सिडिएसको अध्यक्षको रुपमा नेप्सेका सीइओ चुडामणि चापागाई छन् । त्यस्तै अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै दुई जना संचालक छन् । सिडिएसले सिडिएसकै बरिष्ठ कर्मचारी कन्चन सापकोटालाई कामु सीइओको जिम्मेवारी दिएकोले उनी पनि संचालक समितिमा छिन् । स्वतन्त्र संचालकको रुपमा सुमन कुमार नेपाल रहेका छन् । नेप्सेबाट पठाउनु पर्ने महिला संचालक नभएपनि बैठक बस्न र निर्णय गर्न समस्या नहुने भएकोले तत्काल कसैलाई पनि नेप्सेले संचालक नपठाउने तयारी गरेको स्रोतको भनाई छ।
कम्तिमा यो आर्थिक वर्षमा अर्को संचालक नपठाउने नेप्सेको तयारी छ। त्यसपछि भने प्रबन्धपत्र संशोधन गरेर उच्च तहको महिला कर्मचारी नै पठाउनु पर्ने व्यवस्थालाई हेरफेर गर्ने बारे प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ।
उच्च तहको महिला कर्मचारी नै सिडिएससीको संचालकको रुपमा पठाउनु पर्ने हुँदा पन्दाकको विकल्प नरहेको बताइन्छ। हाल नेप्सेमा कर्मचारीको सबैभन्दा उच्च तह भनेको ११ औं तह हो। जुन अहिले खाली छ। १० औं तह (प्रबन्धक) मा लिलाधर सुवेदी छन् । सिडिएस जानु अघि पन्दाक कामु प्रबन्धक थिइन् । उनी नेप्सेमा फर्कदा कुन तह रहने आधिकारिक निर्णय भईनसकेको नेप्से स्रोत बताउछ ।
त्यस्तै नेप्सेमा उप प्रबन्धक तहमा पनि सबै कर्मचारी कामु कै रहेका छन् र त्यस पदमा महिला कर्मचारी छैनन्। सहायक प्रबन्धक तहमा मात्र महिला कर्मचारी रहेका छन् , जुन ८ औं तह हो। अर्थात् नेप्सेमा ८ औं तहमा मात्र महिला कर्मचारी छन्। यसो हुँदा नेप्सेले सिडिएसमा महिला कर्मचारी पठाउँदा कि पन्दाकलाई नै पठाउनु पर्ने छ वा ८ औं तहको महिला कमर्चारी पठाउनु पर्ने छ वा सिडिएसको प्रबन्धपत्र र नियमावली नै संशोधन गरेर उच्च तहको महिला कर्मचारी पठाउनु पर्ने व्यवस्था हेरफेर गर्नु पर्ने छ। तत्काल भने नेप्सेले यी कुनै काम नगर्ने स्रोतको दाबी छ।
हाल सिडीएसमा नेप्सेको शेयर स्वामित्व ५०.९३ प्रतिशत छ भने अर्थ मन्त्रालयको स्वामित्व ४९.०६ प्रतिशत छ। पछिल्लो समय आईजिन निर्देशिका ल्याएपछि पन्दाक विवादित भएकी थिइन् । उनले आईपीओ जारी गर्ने कम्पनीमा संस्थापक शेयर र साधारण शेयरलाई छुट्टाछुट्टै आईजिन दिने प्रस्तवा गरेर निर्देशिका तयार पारि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएकी थिईन। विवादित बनेको सो निर्देशिका हालसम्म पनि बोर्डले स्वीकृत गरेको छैन।
यो पनि : सरकारको निर्देशनपछि सिडीएससीबाट प्रविण पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णय













