शेयर लगानीकर्ताका विभिन्न सङ्गठनहरुले राजनीतिक अवस्था स्थिर नहुँदासम्म शेयर बजार बन्द गर्न माग गरेका छन्। सङ्गठनहरुले बिहीबार धितोपत्र बोर्डका अध्यक्षलाई पत्र लेख्दै अहिलेको गम्भीर परिस्थितिलाई मनन गरि राजनीतिक अवस्था स्थिर नहुँदासम्म शेयर बजार बन्द गर्न माग गरेका हुन्।
जनरल इन्भेस्टर एशोसियसन, नेपाल शेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघले यस्तो आग्रह गरेका हुन् । धितोपत्र बजार अत्यन्तै संवेदनशील हुने र राष्ट्रिय परिस्थितिको सानोभन्दा सानो सकारात्मक वा नकारात्मक प्रभावले समेत यसमा ठूलो उतारचढाव ल्याउने सङ्गठनहरुले उल्लेख गरेका छन्।
यस्तो त्रास र अनिश्चितताको वातावरणमा लगानीकर्ताहरुले विवेकपूर्ण र सही निर्णय लिन असम्भवप्रायः हुने र यसले गर्दा बजारमा अनावश्यक विक्री चाप (Panic Selling) सिर्जना भई समग्र पूँजीबजार नै धराशायी हुन सक्ने जोखिम रहने लगानीकर्ता सङ्गठनहरुले जनाएका छन्। यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरुलाई अपूरणीय क्षति पुयाउन सक्ने उनीहरुको भनाई छ ।
तसर्थ, पूँजीबजारको स्थायित्व र लगानीकर्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै, हाललाई केही समयका लागि कारोबार स्थगित गर्नु नै एक मात्र विवेकपूर्ण विकल्प हुने पत्रमा उल्लेख छ। पत्रमा भनिएको छ ‘ देशमा शान्तिसुरक्षाको प्रत्याभूति भई अन्य आर्थिक गतिविधिका सम्पूर्ण अवयवहरु व्यवस्थित र सहज हुने परिस्थिति निर्माण भएपछि मात्र बोर्डले उचित समयमा बजार पुनः सञ्चालन गर्ने व्यवस्था मिलाओस् भन्ने हाम्रो माग छ । यस अवस्थामा यसअघि लगानीकर्ताहरूले उठाएका मागहरु पूरा गर्ने सम्बन्धमा धितोपत्र बोर्डले द्रुत गतिमा काम अगाडि बढाउनको लागि समेत जोडदार माग गर्दछौं ।’
गम्भीर परिस्थितिलाई मनन गरी धितोपत्र बोर्डको समन्वयमा नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ता, सिडिएससी तथा अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र छलफल गरी राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरिदिन पत्र मार्फत अनुरोध गरिएको छ।
देशको वर्तमान राजनीतिक अस्थिरता, गम्भीर सुरक्षा चुनौती र हालै घटेको दुःखद घटनाले आम लगानीकर्तालाई मर्माहत र चिन्तित बनाएको पनि पत्रमा उल्लेख छ। यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरुको भावना र पूँजीबजारको बृहत्तर हितका लागि बजार बन्द गर्नु पर्ने उनीहरुको माग छ।
सो पत्रको बोधार्थ अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी एन्ड क्लियरिङ , र स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई पनि दिइएको छ ।









