आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले यसअघि नै सार्वजनिक सूचना जारी गरेर कार्तिक १५ गतेबाट सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले शुल्क तिर्नुपर्ने जानकारी गराइसकेको छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिबाट भएको निर्णय बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशित गरेर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो ।
यसअनुसार अब कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनी बस तथा मिनी टिपर÷ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।










