बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ गरिएको छ । मंगलबार साँझसम्म आउटडोर कफी र यताउता एड्भेन्चरको संयुक्त पहलमा बडीमालिका परिसर सरसफाइ गरिएको हो ।
आउटडोर कफीले जलवायु परिवर्तनबाट पर्यावरणलाई बचाउने उदेश्य राखेर उक्त अभियानमा सहयोग गरेको हो । यस्तै, यताउता एड्भेन्चरले पर्यटकीय दृृष्टिकोणबाट पश्चिम नेपालको सुन्दर ठाउँलाई सफा राख्ने उदेश्यले अभियानमा साथ दिएको हो ।

भदौ १ गतेदेखि ११ गतेसम्म बडीमालिकामा यसवर्ष पूजाआजा भएको थियो । शुक्ल चतुर्दशीका दिन भदौ ११ गते मुख्य पूजा भएको थियो ।
विगतका वर्षहरुमा शुक्ल चर्तुदशीका बेला ३० हजार भक्तजनहरु बडीमालिका जाने गरेका थिए । यसवर्ष ६५ हजार भक्तजन पुगेका थिए ।
त्यसक्रममा तिर्थालुहरुले छोडेका पूजाआजाका सामान हटाउन सफाई अभियान चलाइएको हो । आउटडोर कफी र यताउता एड्भेन्चरले सफाईमा खटेका जनशक्तिलाई आवश्यक सहयोग पनि गरेका थिए ।










