कमजोर विकास बैंक र फाइनान्सलाई मर्जरको दबाब, अस्तित्व नै नरहने संकेत हो ?

spot_img
spot_img

कुनै समय नेपालमा ३२ वटा वाणिज्य बैंक, ९० वटा विकास बैंक, ५० वटा फाइनान्स कम्पनी र १०० बढी लघुवित्त कम्पनी थिए । नेपाल राष्ट्र बैंकले वित्तीय संस्था मर्ज गराउँदै जाने नीति लिएपछि हाल वाणिज्य बैंकको संख्या २० मा सिमित भएको छ भने विकास बैंक १७ वटा, फाइनान्स १६ वटा र लघुवित्तको संख्या ५० वटामा झरेको छ । कतिपय मर्जर राष्ट्र बैंकबाटै निर्देशित थिए भने कतिपय मर्जर स्वेच्छिक पनि थिए ।

हाल कायम वित्तीय संस्थाको संख्या हेर्दा बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख्य रुपमा घटिसकेको छ । तर वित्तीय प्रणालीलाई थप सुदृढ बनाउन भन्दै केन्द्रीय बैंकले अझै पनि केही वित्तीय संस्थालाई आपसमा मर्ज हुन अनुरोध गरिरहेको बताइन्छ । यस सम्बन्धमा खोजी गर्दा बिजनेश पानाले विभिन्न तथ्यसमेत फेला पारेको छ ।

मुक्तिनाथको ‘अपग्रेड’ चाहना र राष्ट्र बैंकको अनुरोध

मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकमा अपग्रेड हुनको लागि राष्ट्र बैंकसँग परामर्श गर्दा राष्ट्र बैंकले नै मुक्तिनाथ विकास बैंकलाई केही संस्था गाभेर आउन आग्रह गरेको थियो । खासगरी, आन्तरिक सुशासनमा कमजोर रहेका थप एक दुई संस्थालाई गाभेर आउन आग्रह गरेपछि मुक्तिनाथले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने सम्झौता गरिसकेको छ ।

८ अर्ब पुँजी पुगिसकेकोले चुक्ता पुँजीको हिसाबमा वाणिज्य बैंकमा अपग्रेड हुन मुक्तिनाथको मापदण्ड पुगिसकेको थियो । तर राष्ट्र बैंकको आग्रहमा उसले दुई संस्थालाई गाभेर वाणिज्य बैंकमा अपग्रेड हुने प्रयास जारी राखेको छ । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा अपग्रेड हुन अब राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृतिको पखाईमा छ ।

गरिमाको लक्ष्य पनि ‘ए क्लास’

यदि मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा अपग्रेड भएमा गरिमा विकास बैंक पनि वाणिज्य बैंकमा अपग्रेड हुने योजनामा छ । आर्थिक वर्ष २०८२/०८३ को साधारणसभाले पारित गरेको १० प्रतिशत बोनसपछि गरिमा विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६५ करोड पुग्छ । बैंकले २०८२/०८३ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०८३/०८४ मा पनि पनि बैंकले २० प्रतिशत बोनस शेयर वितरण गरेमा बैंकको चुक्ता पुँजी ८ अर्ब नजिक पुग्छ।

गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले नै न्युनतम चुक्ता पुँजी पुगेपछि गरिमाले पनि ‘क वर्ग’को बैंकमा अपग्रेड हुने प्रक्रिया थाल्ने बताएका छन् । त्यसो हुँदा मुक्तिनाथलाई जस्तै राष्ट्र बैंकले गरिमालाई पनि सुशासनमा कमजोर देखिएका एक÷दुई वटा संस्था गाभेर आउन अनुरोध गर्ने निश्चित जस्तै छ । यस्तो हुँदा मुक्तिनाथ र गरिमामा गाभिएर कुल ४ संस्था घट्ने छन् ।

मुक्तिनाथ र गरिमा वाणिज्य बैंकमा अपग्रेड गरिए कामना सेवा र शाइन रेसुङ्गा जस्ता संस्थालाई पनि अपग्रेडको लागि थप प्रोत्साहन हुने राष्ट्र बैंकको बुझाइ छ ।

अनौपचारिक दबाब बढाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले अहिले पनि सुशासनमा अब्बल रहेका विकास बैंकहरुलाई सुशासनमा कमजोर रहेका विकास बैंक वा फाइनान्सलाई गाभ्न अनौपचारिक रुपमा आग्रह गरिरहेको स्रोत बताउँछ । कतिपयलाई निर्देशक वा कार्यकारी निर्देशक तहबाट तथा कतिपयलाई डेपुटी गर्भनरकै तहबाट पनि यस्तो सुझाव दिइएको बताइन्छ । सुशासन कमजोर रहेका वित्तीय संस्थालाई भने अलि बढी नै जोड गरेर कुनै राम्रो संस्थासँग गभिँदा राम्रो हुने भन्दै राष्ट्र बैंकको विभिन्न तहबाट अनुरोध भइरहेको स्रोतको दाबी छ ।

यस्तो हुँदा वित्तीय संस्थाहरुले जुनसुकै बेला मर्जर वा प्राप्तिको सम्झौता गर्न सक्छन् । १५ वटा विकास बैंकमध्ये ११ वटाको पछिल्लो साधारणसभाको विशेष प्रस्तावमा मर्जर तथा प्राप्तिको प्रस्ताव समावेश थियो । यसमा सम्झौता गरिसकेका मुक्तिनाथ र सिन्धु विकास बैंक तथा समस्याग्रस्त रहेको कर्णाली विकास बैंक समावेश छैन । यसले पनि उपयुक्त पार्टनर भेटिए विकास बैंकहरु मर्जरमा जान इच्छुक नै रहेको देखिन्छ ।

विकास बैंक र फाइनान्सनको अस्तित्व रहला ?

विकास बैंक र फाइनान्स कम्पनीहरु आपसमा मर्जर हुँदै ठूलो बनेर वाणिज्य बैंकमा अपग्रेड हुँदै जाने हो भने भविष्यमा विकास बैंक र फाइनान्सको अस्तित्व नै नरहने हो कि भन्ने पनि चर्चा हुन थालेको छ । कतिपय वित्तीय क्षेत्रका जानकारहरु वाणिज्य बैंक, विकास बैंक र फाइनान्स सबैले एउटै काम गर्ने हो भने भविष्यमा विकास बैंक र फाइनान्स जस्ता साना संस्थालाई टिक्न कठिन हुने र आफैँ ठूलो संस्थासँग मर्ज भएर जाने अवस्था आउने बताउँछन् ।
अहिले द्रुत गतिमा प्रविधिको विकास भइरहेको र एआईको जमाना आईसकेकोले कालान्तरमा संस्थाले खर्च धान्न नसक्ने र व्यवसाय बढाउन पनि नसक्ने अवस्था आएर मर्जरको विकल्प नहुने कतिपयको बुझाई छ । यसो हुँदा कम स्वापमा साना संस्था लिन पाउँदा ठूला संस्था आकर्षित हुने पनि बताइन्छ ।

अन्यथा लिनु हुँदैनः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल भने कतिपय अवस्थामा कहिलेकाँही कमजोर संस्थालाई बलियो संस्थाले गाभेमा संख्या पनि घट्ने, कमजोर संस्थालाई गर्नुपर्ने निगरानी पनि कम हुने र संस्थाकै दीर्घकालिन हित हुने देखिएमा मर्जरका लागि गरिएको अनुरोधलाई ठूलो रुपमा लिन नहुने बताउँछन् । यदि यस्तो देखिए कार्यकारी निर्देशक वा डेपुटी गभर्नरले ‘मर्जर वा प्राप्तिमा जान सक्नुहुन्छ, राष्ट्र बैंकले सहयोग गर्छ’ भन्नुलाई ठूलो रुपमा लिन नहुने उनको भनाइ छ ।

आफू नियमन विभागमा रहँदा आफैँले पनि कमजोर संस्थालाई त्यसो भनेको स्मरण गर्दै उनले यस्तो कार्यलाई अन्यथा लिन नहुने बताए । उनका अनुसार कुनै एउटा सानो संस्था समस्यामा पर्दा त्यसलाई उकास्न ठूलो मेहनत लाग्ने, कतिपयलाई उकास्न समस्या पनि हुने, वित्तीय प्रणालीमा भन्दा राष्ट्र बैंकले समस्याग्रस्त संस्थातर्फ बढी ध्यान दिनुपर्ने भएकोले पनि अहिलेको जस्तो थोरै संख्या हुनु राम्रो हो ।

संख्या कम हुँदा अहिले भएका वित्तीय संस्थाका साथै गैर बैंकिङ वित्तीय संस्थालाई पनि इन्टेन्सिभ तरिकाले सुपरीवेक्षण गर्न सकिएको प्रवक्ता पौडेलको बुझाई छ । त्यसकारण पनि राष्ट्र बैंकले अत्यावश्यक ठानेर लिएको मर्जर नीति एकदमै सफल र समयमा लिइएको रणनीतिक निर्णय भएको उनको दाबी छ । यदि मर्जर नगरिएको भए वित्तीय प्रणालीमा कठिन अवस्था आउने अनुमान पनि गर्न सकिने उनको भनाइ छ ।

अब भने इन्टेन्सिभ मर्जरको आवश्यकता हाल नदेखिएको प्रवक्ता पौडेल बताउँछन् । उनका अनुसार १०/१५ वटा विकास बैंक, १०/१५ वटा वित्त कम्पनी, २५/३० वटा लघुवित्त कम्पनीहरु देशको लागि आवश्यक छन् ।

उस्तै काम गर्न फरक संस्था किन ?

त्यसो त हाल विकास बैंक र फाइनान्स कम्पनीले उस्तै प्रकृतिको काम गरिरहेका छन् । उस्तै काम गर्ने भए किन फरक संस्था चाहियो भन्ने आवाज पनि उठ्न थालिसकेको छ । अर्को तर्फ हायर पर्चेज कम्पनीहरुले वासिङ मेशिन, मोबाइल, टिभी जस्ता घरायशी सामग्री किन्न पनि कर्जा दिन थालिसकेका छन् । जुन राष्ट्र बैंकको नीति अनुसार वित्त कम्पनीहरुले गर्नुपर्ने थियो ।

नेपाल राष्ट्र बैंकभित्र समान प्रकृतिको काम गरिरहेका विकास बैंक र वित्त कम्पनीहरुलाई एकै वर्गमा राख्नुपर्ने मत बढ्दो रहेको पाइन्छ । उपभोग्य वस्तुको कर्जा हायर पर्चेज कम्पनीले दिने र विकास बैंक र वित्त कम्पनीहरुलाई एकै वर्गमा राख्दा उचित हुने बहस सुरु गर्नुपर्ने राष्ट्र बैंककै उच्च तहका कर्मचारी बताउँछन् । अहिलेका विकास बैंक र वित्त कम्पनी ‘मेन्यु फरक तर स्वाद एउटै’ भएको जस्तो रुपमा रहेको र यसलाई सुधार गर्नुपर्ने वित्तीय क्षेत्रका जानकारहरु पनि बताउन थालेका छन् । अर्थात्, काम एउटै भएकोले विकास बैंक र फाइनान्सलाई छुट्टा–छुट्टै वर्गीकरण आवश्यक नरहेको उनीहरुको भनाइ छ ।

राष्ट्र बैंकले पनि चालु आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरणको लागि कार्यदल बनाएर काम पनि गरिरहेको छ । उसले वित्तीय संस्था पुनःवर्गीकरण गर्ने मात्र नभई अब क्षेत्र नै तोकेर ‘कुन संस्थाले कस्ता ग्राहकलाई कस्तो प्रकृतिको कर्जा दिने’ भनेर समेत तोक्ने सम्भावना रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीपीपी मोडलमा ‘विराटनगर जुट मिल’ पुनः सञ्चालन ल्याउने तयारी, आशयपत्र आह्वान

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण...

भिमानमा सवारी चालकको ‘लापसे’ जाँच, ५ जना नियन्त्रणमा

बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक...

सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति

सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडले...

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ लगानी भित्र्याउन सकिन्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका...

४ महिनामा नेपालले भारतलाई बेच्यो ५० करोडको सिमेन्ट

चालु आर्थिक वर्षको ४ महिनामा नेपालले ५० करोडको सिमेन्ट...