रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो । एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । सो रकम हन्तान्तरण कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढी प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।
एनसेल आजियाटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग गरिसकेको छ ।










