नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले असोज १ गतेदेखि लागु हुनेगरी नियुक्त पत्र प्रदान गरेका हुन् ।
डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनको क्षमता, योग्यता र अनुभवले महासंघले गर्दै आएको नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन योगदान पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।
यो नियुक्तिसँगै महासंघमा डा. तिवारीको पुनरागमन भएको छ । यसअघि उनले सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकका रूपमा काम गरिसकेका छन् ।
तिवारीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), विश्व बैंक समूह, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) तथा पछिल्लो समय यूएसएडको ‘तयार नेपाल’ परियोजनामा निजी क्षेत्र समन्वय निर्देशकको रूपमा कार्यकारी तथा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।










