दयाराम कार्की नाम गरेका व्यक्तिले २०८१ साल बैशाख १९ गते भक्तपूरको घलातेस्थित ‘फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.’बाट बर्जर कम्पनीको रङ किनेका थिए । त्यस्तै, दिपक राज गिरीले २०७६ साल भदौ ६ गते र सिद्धान्त श्रेष्ठले २०७८ साल चैत १५ गते सोही डिलरबाट बर्जरका रङ खरिद गरेका थिए ।
डिलरले उनीहरुलाई ७ वर्ष, १० वर्ष वारेन्टी छ भनेपछि ढुक्क भएर रङ किनेर आफ्नो घरमा लगाएका थिए । तर, रङ लगाएको ६ महिनाबाटै खुइलिन थाल्यो । ६ देखि ८ महिनामा नै रङ खुइलिएपछि कार्की, गिरी र श्रेष्ठले बर्जर पेन्ट्सको डिलर फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.का सञ्चालक दिनेश गिरीलाई खबर गरे ।
दिनेश गिरीले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.लाई ग्राहकबाट आएको गुनासोबारे जानकारी पनि गराए । त्यसपछि बर्जरका प्रतिनिधिहरुले पीडित उपभोक्ताको घरमा आएर परीक्षण गरे, मर्मत गरेर रङ लगाइदिने बाचा पनि गरे । तर, बाचा अनुसारको काम भएन ।
त्यसपछि पीडितहरुले रङको बट्टा र बाल्टिनमा लेखिए बमोजिमको वारेन्टी नदिएको, उक्त विषय पूरै वेवास्ता गरेको, रङ खुइलिएको र घरमा रङ लगाउन खरिद गरेको रकम लगानीमा कम्पनीले दिएको वारेन्टी अनुसारको काम नभएकाले नोक्सानी ब्यहोर्नु परेको दाबीसहित उजुरी दिए । तर, उजुरी दिँदा पनि कम्पनीले कुनै वास्ता गरेन । वारेन्टी पेपर नदिने मात्रै नभई वारेन्टी अनुसारको क्षतिपूर्ति मागदाबी गर्न जाँदा कुनै पनि किसिमको वारेन्टी छैन भनेर फर्काउने काम भएपछि २०८२ मंसिर ३ गते पीडितहरु उपभोक्ता अदालत पुगे ।
यस्तो थियो पीडितको मागदाबी
पीडितमध्ये दीपक राज गिरीले १ लाख १९ हजार ९४१ रुपैयाँ ५९ पैसा, दयाराम कार्कीले ७ लाख ४५ हजार ८९४ रुपैयाँ ३ पैसा र सिद्धान्त श्रेष्ठले ३ लाख ४५ हजार ८४१ रुपैयाँ ०२ पैसा रकम तथा भरी भराउँ हुँदाको मिति सम्मको कानून अनुसारको क्षतिपूर्ति माग गरेका थिए ।
साथै, मुद्दा दर्ता गर्दा लागेको सम्पूर्ण शुल्कसमेत बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र घलातेस्थित फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.का सञ्चालक दिनेश गिरीबाट दिलाई भराई पाउँ भन्ने निवेदकहरुको माग थियो ।
तर, प्रतिवादीमध्ये डिलर कम्पनी फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रा.लि.का सञ्चालक दिनेश गिरीले म्यादभित्रै प्रत्युत्तर जिकिर गरेपनि बर्जर कम्पनीले भने २०८२ साल मंसिर ९ गतेको म्याद गुजा¥यो ।
…अनि बर्जरको रङ कमसल प्रमाणित
२०८२ साल पौष १३ गते उपभोक्ता अदालतले ७ दिनभित्र गरिसक्नू भन्दै ७ वटा काम गर्ने आदेश दियो । त्यसमा रङ खुइलिएको स्पष्ट देखिने प्रमाण (रंगिन तस्विर र भिडियो) तथा सो को विद्युतीय प्रतिसमेत वादी पक्षबाट झिकाउने, उपलब्ध भएसम्म वादीहरुले उपभोग गरेको रङका बाल्टिन तथा बट्टाहरु वादी पक्षबाट झिकाउने, फिरादमा उल्लेख भएका प्रकृति/ब्याचका सिल नखोलिएका बट्टा/बाल्टिनहरु १–१ सेट नमूना विपक्षी बिक्रेताबाट झिकाउने, विपक्षी बिक्रेताले विपक्षी उत्पादक कम्पनीसँग उल्लेखित ब्याचको रङ खरिद गर्दा तयार भएको बिल बिजक झिकाउने भनिएको थियो ।
त्यस्तै, सोही आदेशमा वारेन्टी उल्लेख गरी तयार गरिएका विज्ञापनका तस्विर तथा भिडियोहरु झिकाउने, बिक्रेता र उत्पादक कम्पनीबीच क्षतिपूर्ति सम्बन्धमा कुनै दाबी या दाबी विरोध गरेका कागजातहरु भए कागजातहरु समेत झिकाउने र वादी तथा प्रतिवादीहरुका साक्षीहरुको बकपत्र गराउने पनि उल्लेख थियो ।
त्यसपछि उपभोक्ता अदालतले कार्की, गिरी र श्रेष्ठले बर्जर कम्पनीको रङ किनेर लगाएको र तस्विर तथा भिडियो हेर्दा वादी पक्षको दाबी बमोजिम घरको बाहिर लगाइएको रङ खुइलिइ दाग र धब्बाहरु देखिएको जनायो । साथै, पीडित दीपक राज गिरीका साक्षी राम कुमार सोनारले समेत आफूले ३/४ महिनामा नै रङ खुइलिएको देखेको भनेर खुलाएको बताउँदै उपभोक्ता अदालतले उपभोक्ताले खरिद गरेर लगाएको रङ केही समयमै खुइलिएको पुष्टि भएको जनायो ।
झुठो विज्ञापन गरेको पनि पुष्टि
अदालतले बर्जर कम्पनीले झुठो विज्ञापन गरेको समेत पुष्टि गरिदिएको छ । कम्पनीले कुनै बट्टामा ७ वर्ष वारेन्टी भनेर लोगो राखेको र कुनैमा १० वर्ष वारेन्टी भनेर लेखेको र कम्पनीले अनलाइनमार्फत विद्दापन गर्दा पनि ‘बर्जरः वेदरकोट अलगार्ड’ नामक रङको हकमा ७ वर्ष वारेन्टी भनेर प्रचार गरेको अदालतले उल्लेख गरेको छ ।
त्यसैगरी, Weather coat Long life: Exterior Emulsion with PU भन्ने ब्राण्डमा Repels Heavy Rain, Guarantee of 10 Years भनेर सञ्चार माध्यममै विज्ञापन गरेको विषयलाई समेत अदालतले प्रमाणका रुपमा लिएको छ ।
साथै, उपभोक्तालाई वारेन्टी दिँदा निश्चित लिटर रङ किनेपछि मात्रै वारेन्टी पाइने भनेर शर्त तोकेकोमा समेत अदालतले न्यायसंगत नदेखिएको भनेको छ । ‘रङको विज्ञापन गर्दा र बिक्रीका लागि बजारमा पठाउँदा प्रत्येक बट्टामा वारेन्टी भएको भनी प्रचार गर्ने तर वारेन्टी सर्टिफिकेट जारी गर्न न्यूनतम् ४० लिटर लिनपर्ने भनी शर्त तोक्ने कार्य तर्कसंगत मान्न सकिएन’ अदालतले भनेको छ ।
त्यसैगरी, सार्वजनिक प्रचार वा विज्ञापनमा ७ वर्ष वा १० वारेन्टी हुने भनेर प्रचार गर्ने तर उपभोक्ताले रङ किनेर भूक्तानी भएपछि जारी हुने बिलबिजक वा वारेन्टी सर्टिफिकेटमा सार्वजनिक विज्ञापन विपरित शर्त राखेको अदालतको ठहर छ ।
साथै, वारेन्टी सर्टिफिकेट दिँदा पनि पहिलो वर्ष ९० प्रतिशत, देस्रो वर्ष ८० वर्ष हुँदै सातौँ वर्षमा १० प्रतिशत वारेन्टी बापतको खर्च ब्यहोरिने गरी सीमा राखिएको र यो कदम भ्रामक विज्ञापन भएको अदालतले जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७(१) छ बमोजिम वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने भन्ने दायित्व बर्जर कम्पनीले पूरा नगरेको अदालतले जनाएको छ ।
‘बर्जरले हानी पुर्यायो, क्षतिपूर्ति दिनू’
यस आधारमा बर्जर कम्पनीका रङ लगाएर उपभोक्ताहरुलाई नोक्सानी पुगेको ठहर गर्दै अदालतले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७(१) च तथा दफा ११ बमोजिम क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।
यस आधारमा बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले १२ लाख १४ हजार ५ सय र बिक्रेता फ्रेण्डस् फरेभर ट्रेडिङ प्रा.लि.का दिनेश गिरीले ६३ हजार ९ सय क्षतिपूर्ति तिर्नुपर्ने उपभोक्ता अदालतको फैसला छ ।
यसबाट दीपक राज गिरीले ३ लाख ४६ हजार १ सय, सिद्धान्त श्रेष्ठले ६ लाख ३४ हजार ८ सय र दयाराम कार्कीले २ लाख ९७ हजार ५ सय क्षतिपूर्ति पाउने अदालतको ठहर छ ।









