पृथ्वी राजमार्ग भासिएपछि काठमाडौँको लाइफलाइन करिब करिब टुटेको छ । बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला कृष्णभीरस्थित पृथ्वी राजमार्गको करिब एक किलोमिटर खण्ड भासिएपछि अहिले उपत्यकाको जनजीवन कष्टकर हुन्छ कि भन्ने त्रास छ ।
खासगरी, इन्धन र खाद्यान्नको आपुर्तिमा समस्या हुने जोखिम बढेपछि वैकल्पिक मार्गमार्फत ति वस्तुहरु उपत्यकामा आपुर्ति गर्ने प्रयास भइरहेको छ । यसैक्रममा, चितवनमै रिफिलिङ गरेर सानो गाडीमार्फत हेटौँडा हुँदै ग्यासका सिलिण्डर काठमाडौँ भित्र्याउने प्रयास गरिएको छ ।
तर, वैकल्पिक मार्गका रुपमा प्रयोग हुन थालेको कान्ति लोकपथ पनि पहिरोका कारण अवरुद्द हुन थालेको छ । सोमबार अपरान्ह ४ बजेदेखि बन्द रहेको यो लोकपथ करिब २० घण्टापछि बल्ल सूचारु भएको छ । ग्यास उद्योगी शिव प्रसाद घिमिरेका अनुसार सोमबार अपरान्ह १ बजे तिर हेटौँडाबाट हिडेका ग्यास बोकेका साना ढुवानीका साधन अपरान्ह ४ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म रोकिएका थिए ।
‘अहिले भर्खर बाटो खुलेको छ, बाटो खुलेपछि रोकिएका गाडीहरु काठमाडौँ आउँदैछन्’ घिमिरेले बिजनेश पानासँग भने ।
ढुवानी लागत महँगो पर्दै
उद्योगी घिमिरेका अनुसार धादिङ आसपासका ग्यास प्लान्टमा आउनुपर्ने बुलटेहरु हेटौँडा वा चितवनमा रहेका उद्योगमा नै राखेर त्यहाँबाट सिलिण्डरमा भरेर ल्याउँदा उद्योगको लागत बढ्ने छ । एउटा बुलेटले १२÷१३ सय सिलिण्डर भरिने ग्यास बोकेर आउने तर, अहिले कान्ति लोकपथमार्फत सानो गाडीमा ग्यास ल्याउँदा एउटा गाडीले ६०÷७० वटाभन्दा बढी बोक्न नसक्ने उनको भनाइ छ ।
‘बुलेटमा ल्याउँदा १२÷१३ सय सिलिण्डर बराबरको आउँथ्यो, सानो गाडीमा हालेर ल्याउँदा ६०÷७० वटा भन्दा बोक्न सक्दैन’ उनले भने, ‘फेरि बाटो पनि साँघुरो छ, त्यो भन्दा ठूलो गाडी चलाउन सकिँदैन । यसले उद्योगको लागत बढाएको छ ।’
घिमिरेले लागत बढेपनि आयल निगम र ग्यास उद्योगीले अहिलेको कठिन परिस्थितिमा सकेसम्म सहज र मूल्य नबढ्ने गरी आपुर्तिको प्रयास गरिरहेको बताएका छन् । ‘हामी यो विषयमा फिल्डमै गएर हेर्दैछौँ, आयल निगमका प्रतिनिधिहरु पनि हेटौँडा जाँदै हुनुहुन्छ’ उनले भने, ‘म पनि जाँदैछु ।’









