भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको ब्यापारका लागि नेपाली व्यवसायीहरुको झिनो आशा ‘तातोपानी’ नाकासँग बाँकी थियो । त्यो पनि नेपालतर्फ पहिरो झरेका कारण असार अन्तिमदेखि चल्न सकेको थिएन, त्यहीँ भएर व्यवसायीहरुले तत्काल पहिरो पन्छाएर बाटो सहज गराउनका लागि पहल थालेका थिए ।
तर, सोमबार चिनियाँ पक्षले जारी गरेको सूचनाले व्यवसायीहरुको आशा निराशामा परिणत भएको छ । किनकी, सोमबार चिनियाँ पक्षले नेपाल पक्षलाई एउटा जानकारी पठाउँदै तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरिदिएको छ । जसका कारण नेपाली व्यवसायीहरुले तीज, दशैँ, तिहार जस्ता चाडवाडलाई लक्षित गरेर अर्डर गरेका सामान सहजै नेपाल आउने सम्भावना टरेको छ ।
परराष्ट्रमा पहल जारी राख्दा अप्रत्याशित सूचना, केरुङमा १७६ गाडी अलपत्र
रसुवागढी नाका क्षतविक्षत भएपछि तातोपानी नाका सूचारु गर्न व्यवसायीहरुले सरकारमार्फत चिनियाँ पक्षसँग पहल जारी राखेका थिए । सोमबार मात्रै पनि सिमापार वाणिज्य संघका अधिकारीहरुले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर तातोपानी नाकाबाट सहज रुपमा नेपाल–चीन ब्यापारको लागि कुटनीतिक पहल गर्न अनुरोध गरेका थिए । तर, यता व्यवसायीहरु सचिवलाई भेटिरहेकै बेला चिनियाँ पक्षले भन्सारलाई सूचना पठाउँदै नाका अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गरायो ।
व्यवसायीहरुले केरुङमा रोकिएका १७६ वटा सामान लोड भएका गाडीहरु तातोपानी हुँदै ल्याउने पहल गरिरहँदा चिनियाँ पक्षले नाका नै रोकिदिएको हो । केरुङमा रसुवाका स्थायी बासिन्दा रहेका चालक बाहेकलाई जाने अनुमति छैन, त्यसकारण गाडी १७६ वटा रहेपनि चालकहरु भने जम्मा ७४/७५ जना मात्रै केरुङमा रहेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीको भनाइ छ ।
‘केरुङमा रसुवाली मात्रै जान पाउँछन्, रसुवाका चालकहरु केरुङ पुगेर बोर्डरसम्म गाडी ल्याउँछन्, त्यहाँबाट अरु चालकले यता ल्याउने हुन् । यसरी रोटेशन गर्दा २ सय गाडी हुँदा १ सय जना चालकलाई उता राख्दा पुग्थ्यो’, कार्कीले भने, ‘तर, अहिले नाका ध्वस्त भएकाले ति चालकहरुमार्फत तातोपानी हुँदै लोडेड गाडी ल्याउने पहल भइरहेका बेला चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरिदियो । अब हामीले जति बल गरेपनि हुँदैन ।’
महँगिन थाल्यो भान्छा
चीनसँगको ब्यापारका लागि प्रमुख दुइ ठूला नाका नै ठप्प भएपछि नेपालमा महँगी सुरु भएको छ । खासगरी, मसला र फलफूलको भाउ बढ्न थालेको खुद्रा व्यवसायीहरु बताउँछन् । ‘ड्राइफ्रुट्स र विभिन्न मर–मसला होलसेलबाटै आउन छोडिसक्यो’ खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधर भन्छन्, ‘अभावको सिनारियो देखिन थालिसक्यो ।’
साथै, भारतले निकासी गर्न छोडेपछि एकाएक महँगिएको चिनी अब अभावकै तहमा पुगिसकेको उनको भनाइ छ । ‘होलसेलमै चिनीको भाउ प्रतिकिलो ११५ रुपैयाँ पर्न थालिसक्यो, त्यो पनि सहजै पाउने अवस्था छैन’ उनले थपे, ‘अब झन बाढी पहिरोका कारण ढुवानीको लागत बढ्ने भएकाले सबै वस्तुको भाउ आकाशिन्छ ।’
१५ दिन जति अगाडि चिनी, तेल र चामलको भाउ बढेको थियो । अहिलेसम्म चामल र तेलमा सोही मूल्य कायम रहेपनि चिनी र मसलाको हकमा भने भाउ फेरि बढिसकेको व्यवसायीहरु बताउँछन् ।
कोरला नाकाः तेब्बर बढी ढुवानी लागत, हिउँदमा ठप्प हुने चिन्ता
दुइ प्रमुख नाका ठप्प भएपछि अब नेपाली व्यवसायीहरुको एउटा मात्रै विकल्प भनेको मुस्ताङको कोरला नाका छ । तर यो नाकाले धान्न मुस्किल रहेको व्यवसायीहरु बताउँछन् । एक त ढुवानी खर्च बढ्छ, अर्को हिउँदमा हिउँले गर्दा नाका चलाउन कठिन छ भन्ने व्यवसायीहरुको तर्क छ ।
‘तातोपानी–काठमाडौँ ढुवानी लागत एउटा गाडीको ५० हजार रुपैयाँ थियो, केरुङ–काठमाडौँको हकमा एउटा गाडीको १ लाखदेखि १ लाख १० हजारसम्म थियो’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्की भन्छन्, ‘कोरला–काठमाडौँको भाडा ३ लाखदेखि ३ लाख ५० हजार छ । गाडी आउन जान ९ दिनसम्म लाग्छ । यसले स्वभाविक रुपमा महँगी बढाउँछ ।’
चीनबाट नेपाली व्यवसायीहरुले स्याउ, किबी, ड्रागन फ्रुट, जुत्ता–चप्पल, लत्ता कपडा, मोबाइल, इलेक्ट्रिक सामान आदि आयात गर्छन् । चाडवाड लक्षित गरी मगाइएका सामान बोकेका ४ सय गाडी बाढीमा परेको अनुमान छ । ‘भएका गाडीलाई कोरलाबाट झिकाउन पनि सजिलो छैन, तिहार पछि त्यो नाका चल्न गाह्रो छ’ अध्यक्ष कार्कीले थपे, ‘यो त नाकाबन्दीकै अवस्था जस्तो भयो नि ।’









